Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामुदायिक वनमा हिनामिना भएको रकम फिर्ता

वन ऐन अनुसार कारबाहि हुने डरले धमाधम रकम फिर्ता
शुक्रबार, असार १, २०८०
tribeni2

रुकुम पश्चिम । डिभिजन वन कार्यालय रुकुम पश्चिमले विभिन्न सामुदायिक वनमा भएको आर्थिक हिनामिनाको रकम फिर्ता गराएको छ । कार्यालयले सामुदायिक वनको उपभोक्ता समितिले गरेको रकम हिनामिना उपर निगरानी गरेपछि रकम फिर्ता हुन थालेको हो ।  

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार पछिल्लो छ महिनामा १२ वटा सामुदायिक वनमा भएको आर्थिक हिनामिनाको रकम दाखिला गरिएको छ । अनियमिततालाई कडाई गरेपछि १४ लाख बढी रकम फिर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ वटा सामुदायिक वनमा रहेका उपभोक्ता समितिका पदाधिकारीहरुले हिनामिना गरेको १४ लाख ५८ हजार ७५० रुपियाँ सम्बन्धित वन समहुकोे खातामा दाखिला भएको छ ।  

वन कार्यालयले दिएको जानकारी अनुसार चौरजहारी नगरपालिका –८ कोटजहारीमा रहेको खरिपाखा सामुदायिक वन उपभोक्ता समुहको खातामा एक लाख ६६ हजार ७५० रुपिँया दाखिला गरिएको छ । उक्त रकम वन ऐन, २०७६ बमोजिक खर्च नगरी मनलाग्दी खर्च गरिएको थियो ।

त्यसैगरी चौरजहारी नगरपालिका –११ सर्केनाको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको खातामा तीन लाख रुपिँया जम्मा भएको छ । उपभोक्ता समितिका पदाधिकारीहरुले चलाएको उक्त रकम डिभिजन वन कार्यालयले कारबाहि गर्नेभएपछि फिर्ता गरिएको हो । 

त्यसैगरी त्रिवेणी गाउँपालिका –७ मा रहेको झाँक्रिपानी सामुदायिक वन उपभोक्ता समुहमा ६२ हजार र सोहि पालिकाको वडा नम्वर –१० मा रहेको सिरुगैरा सामुदायिक वन उपभोक्ता समितिको खातामा दुई लाख रकम दाखिला भएको छ । यी दुबै समुहका पदाधिकारीहरुले शिर्षक भन्दा बाहिर गएर वन समुहको पैसा चलाएका थिए । 

त्रिवेणी गाउँपालिका –९ को कोलगारे रत्निमारे सामुदायिक वन उपभोक्ता समितिको खातामा हाल ७२ हजार रकम जम्मा भएको छ । बाटो निर्माण कार्य वापत समुहलाई आएको उक्त रकम समुहका पदाधिकारीहरुले व्यक्तिगत रुपमा प्रयोग गरेका थिए ।

तोकिएको शिर्षक भन्दा अन्यत्रै खर्च गरिएको त्रिवेणी गाउँपालिका –८ को गुरगुरे सामुदायिक वन उपभोक्ता समितिमा पनि १५ हजार रुपिँया फिर्ता भएको छ । 

डिभिजन वन कार्यालयका अनुसार बाँफिकोट गाउँपालिका –४ मा रहेको ज्यामिरे सामुदायिक वन उपभोक्ता समितिको रकम लामो समयदेखि चलाउँदै आएका एक पदाधिकारीले हाल फिर्ता गरेका छन् । अहिले उक्त समुहको खातामा एक लाख बीस हजार रकम दाखिला भएको छ ।

त्यसैगरी चौरजहारी नगरपालिका –१० मा रहेको ढुङगेधारा सामुदायिक वन उपभोक्ता समुहमा घुम्ती कोषको नाममा तीन लाख २८ हजार रकम हिनामिना भएको थियो । उक्त रकम अहिले समुहको खातामा फिर्ता गरिएको छ । 

आठविसकोट नगरपालिका –१० मा रहेको रानी सल्लेरी सामुदायिक वन उपभोक्ता समुहमा ६८ हजार र सोहि नगरपालिका ४ मा रहेको चुरेपाटा पाखापानी सामुदायिक वन उपभोक्ता समुहमा एक लाख १७ हजार रुपिँया जम्मा भएको छ । यी समुहका पूर्व पदाधिकारीहरुले आफू अनुकुल खर्च गरेको उक्त रकम कारबाहिको डरले फिर्ता गरेका हुन् ।

त्यसैगरी सल्लेरी बेतुखोला दलुकेनीगैरा सामुदायिक वन उपभोक्ता समुहको खातामा पनि अनियमित रुपमा खर्च भएको दश हजार रुपिँया दाखिला भएको छ । 

कार्यालय प्रमुख परियाले विभिन्न स्थानबाट वन समुहमा अनियमितता भएको गुनासो आएपछि एक वन कर्मचारीले पाँच वटा सामुदायिक वन हेर्ने गरेर काममा खटाईएको र सोहि क्रममा हिनामिना भएको रकम पत्ता लागेको बताउनुभयो ।

वन ऐन, २०७६ को दफा ४९(द) बमोजिक कारबाहि हुने भएपछि रकम धमाधम फिर्ता गरेको उहाँले जानकारी दिनुयभयो । अझै पनि दश वटा समुह निगरानीमा रहेको समेत उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्