Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा निर्माणाधिन योजना गुणस्तरहिन भएपछि भत्काईयो 

सप्पल लगाएर भत्काईएका दश वटा च्याम्बर पुन निर्माण हुँदै
शुक्रबार, असार १, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको रुकुमकोटमा निर्माणाधिन एक आयोजनाको निर्माणको काम गुणस्तरहिन भएपछि स्थानीय सरकारद्वारा भत्काईएको छ ।

सिस्ने गाउँपालिकाको वडा नम्वर ५ र ६ मा निर्माण भईरहेको रुलिखोला–सेराखेत ढल निकास आयोजना अन्तर्गत निर्माण भईरहेका दश वटा मङगल (च्याम्बर) भत्काईएको हो । 

जिल्लाको सिस्ने गाउँपालिकास्तरिय अनुगमन समितिले निर्माणको काम गुणस्तरहिन भएको पाईएपछि भत्काएको जनाएको छ । अनुगमन समितिका संयोजक समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले जिल्लाको मुख्य प्रशासनिक केन्द्रमै गुणस्तरहिन काम भएको पाईएपछि भत्काईएको बताउनुभयो ।

प्राविधिकसहितको टोलीले गरेको अगुनमनका क्रममा दश वटा च्याम्बरमा सम्झौता विपरित काम भएको उपाध्यक्ष रेउलेले बताउनुभयो । कमसल सामाग्रीको प्रयोगले विकासको काममा गुणस्तरियता नहुने भएकोले स्थानीय सरकारले बाध्य भएर निर्माणाधिन दश वटा च्याम्बर भत्काउनु परेको उल्लेख गर्नुभयो । उपाध्यक्ष रेउलेले भत्काईएका निर्माणाधिन च्याम्बरहरु गुणस्तरसहित निर्माण गर्न निर्देशन गर्नुभयो ।  

सिस्ने गाउँपालिकाका ईन्जिनियर कर्ण बहादुर केसीले अनुगमनको क्रममा सिमेन्ट, गिट्टि र वालुवाको मिसावटमा लापरबाहि गरिएको पाईएको बताउनुभयो ।

ढल निकास आयोजना अन्तर्गत निर्माण भईरहेका ३० वटा च्याम्बर मध्य दश वटामा मापदण्ड विपरित काम भएको उहाँको भनाई रहेको छ । आरसिसी च्याम्बरको ढकनीको स्पानमा कमसल सामाग्रीको प्रयोग भएको कारण भत्काईएको इन्जिनियर केसीले उल्लेख गर्नुभयो । 

संघीय सरकारको समपुरक अनुदान अन्तर्गतको उक्त आयोजना निर्माणका लागि सिस्ने गाउँपालिका र संघीय सरकारको बराबरी लगानी रहेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार कुल तीन करोड चालिस लाखको लागतमा निर्माणाधिन उक्त आयोजनाको ठेक्का रञ्जित रंगोन रेशुङ्गा दर्शन जेभि गुल्मीले लिएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको रुकुमकोटको वडा नम्वर ५ र ६ को ढलको फोहोरपानी व्यवस्थित गर्ने गरेर उक्त आयोजना सुरु गरिएको हो । आयोजना अन्तर्गत ८३० मिटर हिमपाईप बिछ्याउने र २७० मिटर आरसिसी क्यानल बनाउने काम भईरहेको छ । 

निर्माण कम्पनीका प्रतिनिधी जय केसीले च्याम्बर निर्माणको सामाग्री मिसावटमा केहि गल्ति भएको स्विकार गर्नुभयो । उहाँले आगामी असार २० गतेभित्र निर्माण सम्पन्न गरिसक्नेगरी सम्झौता गरेकोले सोहि अवधिभित्र काम गरिसक्ने बताउनुभयो । गुणस्तरहिन सामाग्री प्रयोग भएका भनिएका च्याम्बरहरु भत्काएर पुनः काम सुरु गरिएको उहाँको भनाई रहेको छ । 

उपाध्यक्ष गोपाल रेउलेको नेतृत्वमा भएको अनुगमनमा ईन्जिनियर कर्णबहादुर केसी, करण खड्का र गाउँपालिकाका योजना शाखा अधिकृत अरुण कुमार ओली लगाएतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्