Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असुरक्षित प्रहरी : पानी चुहिँदा हतियार भिजाउने पीर, हावाहुरीले छाना उडाउने डर

२९ प्रहरी युनिट मध्य २२ वटा भाडामा
बुधबार, असार ६, २०८०
tribeni2

रुकुम पश्चिम । देश र जनताको सेवाको लागि तल्लिन प्रहरी कार्यालय नै भौतिक पूर्वाधारको कारण असुरक्षित रहेका छन् । रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका प्रहरी इकाईहरु भौतिक पूर्वाधार र सुविधाको कमीको कारण असुरक्षित रहेका छन् ।  

यहाँका प्रहरी युनिटहरु खुम्चिएर बसेका छन्, दयनिय अवस्थाबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अधिकांश युनिटहरु चर्किएको भवनका साघुँरो कोठामा छन् ।

न गतिलो शौचालय, न त बाथरुम, न भान्साघर छन् । थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो । बर्षा लागेपछि चुहिने छानाबाट हतियार बचाउन गाह्रो, हुरी लागेपछि घरको छाना जोगाउन अप्ठ्यारो । पानी पुग्दैन, प्रहरी चौकीमा घेराबार छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले प्रहरीले भौतिक पुर्वाधारको मार खेपिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिबेला के पर्छ भन्न सकिदैन, २४ सैं घण्टा तैनाथ रहने हामीलाई पुर्वाधार अभावले चुनौति दिईरहेको छ ।”

आफ्नै भवन नहुँदा असुरक्षित भएर काम गरिरहेको प्रहरीलाई कार्यसम्पादनमा समेत समस्या हुने गरेको छ । डिएसपी भट्टराईले वर्षा सुरु भएसँगै हतियार कसरी जोगाउने भन्ने चिन्ता बढेको बताउनुभयो । धेरैजसो कार्यालय स्थानीयले प्रयोग गरेर छोडेका, जीर्ण भवनमा रहेकोले यस्तो समस्या आउने गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिल्लाभरका एक लाख ६६ हजार ३५४ जना जनतालाई प्रहरीले २९ वटा युनिट मार्फत सेवा दिईरहेको छ । जिल्लाको शान्ति सुव्यवस्था कायम, अपराध अनुसन्धान तथा नियन्त्रण गर्नको निम्ति राखिएका सात वटा युनिट आफ्नै भवनमा छन् । बाँकि २२ वटा इकाई भाडाका घरमा छन् । 

२९ वटा मध्ये १३ वटा युनिटको मात्रै आफ्नै जग्गा रहेको छ । भाडामा रहेका २२ युनिटहरुले जटिलताको बिचबाट सेवा दिईरहेका छन् । हिउँदको चिसो र वर्षाको पानीमा हतियार जोगाउन प्रहरी युनिटलाई चुनौति रहेको प्रहरी निरीक्षक खड्काले उल्लेख गर्नुभयो ।

आफ्नै हतियारको सुरक्षा देखि लिएर हावाहुरीबाट कार्यालयको छानो जोगाउने र चुहिने पानीले गर्ने क्षतिबाट डराएर बस्नुपर्ने बाध्यता प्रहरीको रहेको छ । 

व्यवस्था फेरियो, प्रहरी भवन बनेन

aathboskot police office1687348822.jpeg

तत्कालिन माओवादीले सशस्त्र युद्ध सुरु गर्दा २०५२ फागुन १ गते ध्वस्त भएको इलाका प्रहरी कार्यालय आठविसकोटको आफ्नै भवन छैन । कार्यालयको नाममा जग्गा भएतापनि भवन नहुँदा जीर्ण र साघुँरो भाडाको घरबाट सेवा प्रवाह गरिरहेको प्रहरी निरीक्षक बिक्रम सुवेदीले बताउनुभयो । 

दश वर्षे युद्धको जगमा व्यवस्था बदलिएतापनि युद्धको सुरुवातीमै ध्वस्त भएको प्रहरी कार्यालय अहिलेपनि ठडिन सकेको छैन । जनताकोे सुरक्षामा चौबीसै घण्टा तैनाथ रहने प्रहरीहरु कतिसम्म जोखिम मोलेर सेवा दिईरहेका छन् भन्ने गतिलो उदाहरण यहि कार्यालयले दिने गरेको छ ।

गोतामकोट, खदी लगायत दुर्गममा रहेका प्रहरी चौकीमा कहाँ सुत्ने, कहाँ खाने र कहाँ कार्यालय संचालन गर्ने भन्ने समेत ठेगान छैन । 

कतिपय स्थानमा जस्तापाताले भित्ता बेरेको घरमा बसेर प्रहरीले सर्वसाधारणको सुरक्षा दिदै आएका छन । दिनभर ड्युटीमा खटेपछि राती आराम गर्ने ब्यारेक नहुँदा प्रहरी जहाँ सजिलो प¥यो, त्यहीँ सुत्दै आएका छन् । बलियो घेराबार र भवन नहुँदा त्रासका कारण पनि आफूहरु सुरक्षित नभएको प्रहरीको गुनासो छ । 

सुरक्षा दिने प्रहरी आफै असुरक्षित भएपछि जनताको सुरक्षा गर्नमा कठिनाई हुने अधिकारकर्मीहरुको बुझाई रहेको छ ।  विकासका अन्य संरचनामा करोडौका योजना बनाउने बेला सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर सरकारले प्रहरी कार्यालयको उचित व्यवस्थापन गर्नुपर्ने सर्वसाधारणकाे माग रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्