प्रेरणाका खानी, रुद्रलालको जीवनी

बिहीबार, असार ७, २०८०
  • पदम बहादुर जेठारा

पिता श्री खड्कु जैसी तथा माता खिमा जैसीका चौथो सन्तानको रूपमा बि.स. २०२३ पौष २० गते साबिक विजेश्वरी गाँऊ पच्चायत वडा नम्वर ४ रुकुममा जन्मनु भएका रुद्रलाल जैसी बि.स. २०८० जेष्ठ २८ गते कृष्णपक्षको अष्टमी तिथिका दिन चौरजहारी नगरपालिका वडा नम्वर १ रुकुम पश्चिम स्थित आफ्नै घरमा ५७ वर्षको अल्पआयुमा फोक्सोको क्यान्सरका कारण देहान्त हुनुभएको थियो।

बुवाआमाका पाँच सन्तान  मध्ये  उहाँका तीन  दाजुभाई तथा  दुई दिदीहरु  हुनुहुन्छ । कक्षा ८ मा अध्ययन  गर्दागर्दै बि. स. २०४३ सालमा १९ बर्षको उमेरमा  विवाह बन्धनमा बाधिनु भएका उहाँको परिवारमा अर्धाङ्गिनी सहित ६  सन्तान रहेका छन् ।

आर्थिक रूपले कमजोर पारिवारीक पृष्ठभूमिका कारण उहाँको धेरैजसो समय कृषिकर्म तथा पशुपालनमा बितेको थियो ।  यसैबाट उहाँले आफ्नो दैनिक घरखर्च  तथा पढाई खर्चको जोहो गर्दै आफ्नो माध्यमिक  तहसम्मको पढाइलाई निरन्तरता दिनुभयो । उहाँले शीतल उच्च माध्यामिक विद्यालय चौरजहारीबाट  २०४५ सालमा एसएलसी उतीर्ण गर्नुभएको थियो ।

विवाह पश्चात एकातिर घर परिवारको सम्पूर्ण जिम्मेवारी काँधमा थियो भने अर्कोतिर आफ्नो उच्च शिक्षा हाँसिल गर्ने तिव्र ईच्छा । जागिर नगरी आफ्नो पढाईलाई अगाडि बढाउन नसकिने निश्कर्षमा पुग्नुभएका उहाँले करिब ३ बर्ष प्रावि शिक्षकको तयारीमा बिताउनु भएको थियो ।

२०४९ सालको विज्ञापन अनुसार जिल्ला शिक्षा कार्यालय रुकुमबाट श्री प्राथमिक विद्यालय स्यालखोला रुकुमको प्राथमिक तह (चतुर्थ श्रेणी) मा नियुक्ती पाउनु भएका उहाँले जिल्ला शिक्षा कार्यालय रुकुमको बि.स. २०५० सालमा लिएको शिक्षक छनौट परीक्षा उतीर्ण भई श्री प्राथमिक विद्यालय मेगा गराईला रुकुमको प्राथमिक शिक्षक (चतुर्थ श्रेणी) मा स्थायी नियुक्ती पाउनु भएको थियो । 

अध्ययन र अध्यापन लाई समानान्तर रुपले अगाडि बढाउन भएका उहाँले २०५१ सालमा श्री शितल उच्च माध्यमिक विद्यालय चौरजहारी रुकुमबाट प्रवीणता प्रमाणपत्र तह पास गर्नुभएको थियो । करिव अढाई वर्षको प्राथमिक बिधालय मेगा गराईलाको अध्यापन पश्चात २०५३ सालमा पदोउन्नति तथा सरुवा भई श्री निम्न माध्यामिक विद्यालय नाखिरा रुकुममा आई उहाँले करिब दुई दशक एउटै विद्यालयमा अध्यापन गराउनु भएको थियो । 

अनवरत शिक्षण पेशा संगसंगै आफ्नो अध्ययनलाई निरन्तरता दिनु भएका उहाँले २०५९ सालमा शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक परीक्षा उतीर्ण गर्नु भएको थियो । मानिसको जीवन जन्मेदेखि नमरुन्जेलसम्म हरेक दिन केही न केही शिक्षा सिकिरहनु र सिकाइरहनु पर्छ भन्ने उहाँले २०६२ सालमा जिल्ला शिक्षा कार्यालय  जाजरकोटबाट माध्यामिक तह स्थायी अध्यापन अनुमति प्राप्त गर्नुभएको थियो ।

समाजको बारेमा सधै सुक्ष्म अध्ययन गरिरहने उहाँले वि.स. २०६४ सालमा विरेन्द्रनगर बहु‌मुखी क्याम्पस सुर्खेतबाट समाजशास्त्र बिषयमा स्नातकोत्तर गर्नुभएको थियो  । अग्रेजी भाषामा राम्रो दख्खल राख्ने उहाँले २०७० सालमा विरेन्द्रनगर बहुमुखि क्याम्पस सुर्खेतबाट अंग्रेजी विषयमा पनि स्नातकोत्तर पास गर्नु भएको थियो । शिक्षा जीवन उपयो‌गी हुनुपर्छ सकेसम्म सबै विषय‌मा ज्ञान हासिल गर्नुपर्छ भन्ने उहाँको अध्ययनको शिलसिला अझ रोकिएन  । उहाँले २०७३ सालमा वागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरबाट स्वास्थ्य शिक्षा विषयमा समेत स्नातकोत्तर गर्नु भएको थियो ।

जिल्ला शिक्षा कार्यालय रुकुमको २०७२ सालको पत्रले श्री निम्न माध्यामिक बिधालय नाखिराबाट काज सरुवा भई श्री जनचेतना प्राथमिक विद्यालय कोटज‌हारी रुकुम जानुभई करिब ३ तिन वर्ष अध्यापन गराउनु भएको थियो । उहाँ आफैले करिब दुई दशक अध्यापन गराउनु भएको श्री निम्न माध्यामिक विद्यालय नाखिरा रुकुम २०७२ साल देखि २०७५ सालसम्म व्यवस्थापनको अभाव तथा विविध कारणले पठनपाठन ठप्प भई कार्यालय सहयोगी बाहेक सबै शिक्षक दरबन्दी समेत नरहेको हुँदा उहाँलाई साह्रै हिन्नताबोध भएको  थियो ।
 
चौरजहारी नगरपालिकाको केन्द्र बजार क्षेत्र जनघनत्व बढि भएको कारण  तीन वटा  निजि बोर्डिङ विद्यालयमा विद्यार्थी संख्या अत्याधिक नै थियो । देश संघीय  प्रणालीमा  गएका कारण शिक्षा सबन्धी राज्यका हक अधिकार  विकेन्द्रीकृत भई स्थानीय सरकारमा निहित रहेको, राज्यले शैक्षिक क्षेत्रमा १८ प्रतिशत रकम विनियोजित गरेको अवस्थालाई उहाँले सूक्ष्म अध्ययन मनन गर्नुभयो ।

चौरजहारीको केन्द्रमा रहेको  एकमात्र सरकारी  निम्न माध्यामिक विद्यालय बन्द भई करिव चार,पाँच सय  बालवालिकाहरुको अनिवार्य शिक्षा हाँसिल गर्न पाउने बाल अधिकार‌को समेत हनन भएको तत्कालिन परिस्थितिको मुल्याङ्कन  गर्दै उहाँले तत्कालिन स्थानीय सरकार प्रमुख विशाल शर्मा तथा नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्यसंग उक्त विद्यालय संचालन गर्ने विषयमा गहन छलफल गर्नुभयो ।

सरकार प्रमुख सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिवद्ता गर्नु भएकाले विद्यालयसंग सम्बन्धित सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा सरोकारवाला निकाय सङ्ग समन्वय गरि २०७६ साल देखि तत्कालिन श्री निम्न माध्यमिक विद्यालय नाखिराको जिम्मेवारी लिई सरकारी विद्यालयलाई निजि वोडिङ स्कूल सरह नर्सरी देखि कक्षा ५ सम्म २५३ जना विद्यार्थी  सहित नयाँ  नामाकरण गरि, श्री आधारभुत विद्यालय नाखिरालाई अंग्रेजी माध्ययमबाट संचालनमा ल्याई बिद्यालयलाई पुनर्जीवन दिनुभएको थियो । 

यो बिद्यालय सन्चालन पश्चात चौरजहारी नगरका हजारौं हजार अभिभावकहरुले लाखौं  रुपैया खर्च गरि आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपले निजि बिद्यालयमा भर्ना गरि प्राथमिक शिक्षा पढाउनु पर्ने बाध्यताको अन्त्य भएको थियो ।

करिब बन्द अवस्थामा रहेको एक खण्डहर विद्यालयमा निजि स्कूलमा पढीरहेका विद्यार्थी वालवालिकाहरुलाई भर्ना गराउनु सामान्य चुनैति भने थिएन  । यो बिद्यालयलाई आफुले सहि ढंगबाट संचालन गर्न नसके शिक्षक सेवाबाटै राजीनामा दिने वचनबद्द्ता गर्नु भएका उहाँले आफ्नो उद्देश्यप्रति दत्तचित्त रहि निस्वार्थ भावनाले रातदिन, घाम पानी भोक प्यास केहि नभनि आफ्नो स्वास्थ्यको प्रवाह समेत नगरि एकोहोरो लागी रहनुभयो ।

उहाँको व्यक्तित्व र समाजमा पुर्‍याएको योगदानका कारण धेरैजसो अभिभावकले सहजै बिश्वास गरेका थिए भने केही अभिभावकसङ्ग  तपाईँको छोराछोरीको पढ़ाईको स्तर निजि विद्यालयमा भन्दा खस्कीयो भने त्यसको जिम्मेवारी म लिन्छु भन्दै जमानि समेत बस्नु भएको कुरा अभिभावकबाट सुन्न पाइन्छ । 

उहाँको मिहिनेत, कार्यकुशलता, बौद्धिकता र असल नेतृत्वले गर्दा सम्पूर्ण शिक्षक शिक्षिका तथा स्थानिय सरकारको सहयोगले विद्यार्थीको गुणस्तरमा आएको सुधारका कारण स्वतः स्फूर्त रुपमा विद्यार्थी संख्या बढ्न गई ०७७/७८ मा ४११ जना सम्म पुगेका थिए।  

स्थानीय सरकारको शिक्षा शाखाद्वारा नगर भित्रका सम्पूर्ण विद्यालयहरुको बार्षिक रुपमा हुने अनुगमन तथा मुल्यांकनमा श्री आधारभूत विद्यालय नाखिरा लगातार तीन पटक हरियो सुचि (green zone) मा परेको थियो । नगर स्तरिय खेलकुद प्रतियोगितामा राम्रो नतिजा निकालेका यस बिधालयका बिध्यार्थी हरुले २०७८ मा कक्षा ५ को वार्षिक नगर  स्तरिय परीक्षामा सर्बोत्कृष्ट स्थान हासिल गरी नगद दश हजारसहित प्रसंशा पत्र पाएको थियो ।

कक्षा कोठाको अभावका कारण विद्यार्थीलाई खुल्ला चौरमा पठन पाठन गर्नुपर्ने अवस्थालाई उहाको ब्यक्तिगत पहलमा जापनीज दुतावाससँग आवश्यक समन्वय गरि प्रपोजल तयार पारी करिव सवा करोड बजेट विनियोजन गराई सुबिधासम्पन्न विद्यालय भवन निर्माण गराई  २०७९ सालमा उद्‌घाटन गराई पठन पाठन शुरु गराउनु भएको थियो । यो सङ्गै विद्यार्थीहरुले खुल्ला चौरमा बसि पठन पाठन गर्नुपर्ने युगको समेत अन्त्य  भए‌को  थियो ।

Educated Nepal KISC  सहयोगमा करिव बाह्र लाखको आर्थिक सहयोगमा विद्यालयमा २० थान कम्प्युटर खरिद गरि नमूना कम्प्युटर ल्यावको स्थापना गरि विद्यार्थी हरुलाई पठनपाठन सुरु गराउनु भएको थियो भने यो उहाँको जीवनको ठूलो उपलब्धि थियो । एक दक्ष प्राधानाध्यापकले कर्तव्यनिष्ठ भई शिक्षण सेवा गर्ने हो भने शैक्षिक गुणस्तर सुधार्न सकिन्छ भन्ने कुरा प्रमाणीत गर्नु भएका उहाँले  बिदाको समयमा  शैक्षिक भ्रमणमा बाँके र बर्दियामा रहेको निजि तथा सरकारी नमुना विद्यालयहरुमा गई त्यहाँको शिक्षण पद्धती  प्रशासन ब्यवस्थापनका बारेमा अध्ययन गर्नुभई राम्रा पक्षहरू आफ्नो विद्यालयमा लागु गराई अध्यापन गराउनुहुन्थ्यो ।

बुढानिलकण्ठ बिद्यालय काठमाडौले  वार्षिक रुपमा लिने छात्रवृत्ति परीक्षामा श्री आधारभुत  बिद्यालय नाखिरा बाट  २०७९ सालमा २ जना छात्र छात्रा उतीर्ण भएका थिए ।

स्थानीय सरकार चौरजहारी नगरपालिकाले नगरको शिक्षाको विकास शिक्षाको माध्यमबाट नगरको समृद्धिमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर तथा मुल्यांकन गर्दै २०७८ सालमा नगद दश हजारसहित सम्मान पत्र प्रदान गरेको थियो । देशको राजनीति, शिक्षा प्रणाली, न्याय प्रणाली तथा अर्थब्यबस्थामा समेत बिचलन आएका बेला ''म शैक्षिक गुणस्तरको आशा गर्ने एक दुर्लभ  शिक्षक सबैबाटआलोचित हुला नै, तर पनि म अर्को जुनिमा के हुन्छ ? शिक्षक हुन पाउछु वा पाउदिन, थाहा छैन, शिक्षित  समाज नै समृद समाज बन्छ, आजका वालवालिका नै भविष्यका समाज परिवर्तनका वाहक हुन" भनि अर्को जुनि पाएभने पनि शिक्षक बन्ने ईच्छा जाहेर गर्नुभएको कुरा उहाँको ब्यक्तिगत डायरीबाट साभार गरिएको छ । 

सालिन तथा भद्र स्वभावका रुद्रलाल जैसी एक असल शिक्षक मात्र नभई एक सफल  चिरपरिचित तथा एक अनुशासित राष्ट्रियस्तरका भलिबल खेलाडी पनि हुनुहुन्थ्यो । उहाँले रुकुम, जाजरकोट, सल्यान र रोल्पा जिल्लाको समेत प्रतिनिधित्व गरि अनवरत रुपले जीवनको एक दशक समय भलिबल खेलेर बिताउनु भएको थियो ।

मध्यपश्चिमका धेरै जस्तो भलिवल खेल मैदानमा उहाँका पबित्र पाईलाहरुको डोब छोडि मध्यपश्चिमबाट बि.स. २०४८ सालमा बिरगंजमा भएको राष्ट्रीय भलिबल खेलमा सहभागि हुनुभएका उहाँले भलिबल खेल जगतमा आफ्नो छुट्टै छाप छोड्न सफल हुनुभएको थियो। 

सादा जीवन उच्च विचार भएका उहाँ एक अशल शिक्षकले मात्र सभ्य समाजको परिकल्पना गर्न सक्छ भन्दै शिक्षाका माध्यमबाट समाजमा समृद्धि ल्याउने अठोटका साथ शिक्षण पेशामा होमिएका उहाँले आफ्नो जीवनको तीन दशक समय रुकुम र जाजरकोट जिल्लाका दुर्गम गाँऊ बस्तीहरुमा अध्यापन गराई शिक्षाको ज्योति फैलाउने काम गर्नु भएको थियो । 

भाषा, धर्म, लिङ्ग र जातभातको आधारमा सबैलाई समान व्यवहार गर्ने उहाँ दुःखी, गरिब असहाय,अशिक्षितहरुको पीडामा सधै सहयोग गर्ने, सहानुभूति राख्ने एक सारथी हुनुहुन्थ्यो । उहाँले बि.स.२०५१ सालमा चौरजहारी सामुदायिक (मिसन) अस्पताल स्थापनाको लागी निशुल्क जग्गादान गर्नुभई उक्त अस्पताल स्थापना गर्नका लागि सहजीकरण गरि समन्वयकर्ताको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।  समाज परिवर्तन गर्नुपर्छ, शुरूवात आफैबाट गर्नुपर्छ भन्ने  उहाँको मान्यता रहेको थियो । 

'मेरो जीवन अध्ययन गर्न र अध्यापन गराउनको लागि मात्र हो' भन्ने उहाँले विद्यालय आफ्नो घर र विद्यार्थी आफ्ना साथीको संज्ञादिने रुद्रलाल जैसी मृत्युसैयामा हुँदासम्म पनि मेरो 'विद्यालय, मेरा बिद्यार्थी' भन्दै बर्बराई रहनु भएको थियो । अन्तिममा उहाँले अध्यापन गराईरहनु भएका छात्रछात्राहरुसँग अन्तिम सास लिदालिदै यो संसारबाट सधैका लागि बिदा लिनु भएको थियो ।
 
भनिन्छ नि कुनै व्यक्तिको सफलतामा कसैको साथ सहयोग हुन्छ भनेर, हो उहाँको चरम आर्थिक अभावले गुज्रिएको विद्यार्थी जीवनकालमा उहाँकी अर्धाङिनिले आफ्नो विवाहको सारी समेत बेचेर शिक्षक छनौट परीक्षामा रुकुम सदरमुकाम पठाउनु भएको थियो । भौतिक सुख सुबिधालाई कहिले पनि महत्त्व नदिने उहाँले जीवनमा ठूलाठूला चुनौतिहरुसङ्ग डटेर सामना गर्नु भएको थियो । 
 
नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुमको आजीवन सदस्य रहनुभएका उहाँ  एक कुशल संगठकका साथै एक प्रष्ट्र वक्ता पनि हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनकालको उत्तरार्धका केही वर्षहरूमा आफ्नो ब्यक्तिगत जीवन, घरयसी समस्या तथा ब्यक्तिगत स्वास्थ्यको कत्ति पनि वास्ता नगरी केवल विद्यालयको हित र विद्यार्थीहरुको पढाईको लागि मात्र खटिरहनु भयो। विहानैदेखि खाना समेत नखाई चिया र पानीको भरमा दिनभरि विद्यालयमा समय बिताउनु हुन्थ्यो  ।

यसै क्रममा उहाँको स्वास्थ्यमा समस्या देखिएकाले वि. स. २०७९ साल माघ महिनाको १७ गतेका दिन शुशिल कोईराला मेमोरियल क्यान्सर अस्पताल खुजुरा बाँकेमा स्वास्थ्य उपचार गराउदा उहाँमा क्यान्सर देखिएको थियो ।  थप उपचारका लागि उहाँलाई विश्वेश्वर प्रसाद कोइराला क्यान्सर अस्पताल भरतपुर चितवन रिफर गरिएको थियो । उक्त अस्पतालमा चेकजाँच पश्चात उहाँलाई छिटोछरितो उपचारका निमित्त नेशनल सिटि अस्पताल भरतपुर चितवनमा उहाँको घाटिको सल्यक्रिया  भएको थियो  । 

शल्यक्रिया पश्चात करिव एक महिनापछि स्वास्थ्य अवस्थामा अलि सुधार भएका कारण उहाँलाई घर चौरजहारी  रुकुम ल्याईएको थियो । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको थियो ।

त्यो बिचमा उहाँ  ५ दिन विद्यालय जानुभई आफ्नो नियमित  अध्यापन कार्यमा फर्किने प्रयास गर्नु भएको थियो । एक्कासी उहाँको स्वास्थ्यमा पुनः समस्या आएका कारण उहाँलाई चितवन मेडिकल कलेज भरतपुरमा चेकजाँच गर्दा उहाँको शरीरको धेरै जसो संवेदनशिल अंगहरुमा संक्रमण बढिसकेका कारण उपचारको उपदेहिता करिव करिव न्यून रहेको कुरा चिकित्सकको सल्लाह सुझावका कारण उहाँलाई घरमै फिर्ता ल्याईएको थियो।

यसै क्रममा ठिक एक हप्ता पश्चात् उहाँको निधन हुनपुग्यो। उहाँका सम्पुर्ण योजनाहरु, इच्छा आकाक्षाहरु तथा अधुरा सपनाहरूमा सदा सदाका लागि पुर्णबिराम लाग्यो ।

उहाँको  निधनले घर परिवारको एक मात्र साहारा अबिभावक गुमायो । विद्यालयले एक दक्ष, कुशल तथा कर्तब्यनिश्ठ प्रधानाध्यापक गुमायो। हजारौं बालबालिका तथा बिध्यार्थीहरुले आफ्नो एकमात्र उज्वल भबिस्यको भरोसा गुमाए । समाजले एक मार्गदर्शक गुमाएको थियो । भने चौरजहारी नगर रुकुमले शिक्षा क्षेत्रको एक नक्षत्र गुमाई अतुलनीय क्षती ब्यहोरेको छ ।  

- (स्व. रुद्रलाल जैसीका ज्वाई समेत रहनुभएका जेठाराले तयार पार्नुभएको यो जीवनी १३ औं पूण्यतिथीको अवसरमा आयोजित कार्यक्रमा वाचन गरिएको थियो ।)

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्