७७ जिल्ला पुग्ने अठोट बोकेर भ्रमणका निस्किएका रुकुमका १८ वर्षिय सुशील

देश बुझ्ने र विश्वसामु चिनाउने सुशीलको उद्धेश्य
शुक्रबार, असार ८, २०८०

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –९ कोटजहारीका १८ वर्षिय सुशील कवँर योगीले घर छोडेको २४ दिन भयो । चार महिनामा नेपालका ७७ जिल्ला पुगिछाड्ने अठोट बोेकेका योगी अहिले काठमाडौं पुग्नुभएको छ । भ्रमण सुरु गरेदेखिको यो २४ औं जिल्ला हो । 

बिना पैसा मुलुकका सबै जिल्ला भ्रमण गर्ने सोच बोक्नुभएका योगीको उद्धेश्य भनेको नेपाल बुझ्ने र नेपालका पर्यटकीय स्थलहरु विश्व सामु चिनाउने हो । हातमा मोबाइल, पिठ्युँमा झोला, झोलामा नेपालको झन्डा बोकेर निस्कनुभएका योगीले बिनापैसा यो भ्रमण गरिरहनु भएको छ । 

योगीले भन्नुभयो, “नेपाल घुम्ने मेरो सानैदेखिको रहर हो, अहिले बिनापैसा घरबाट निस्केको हुँ, बाटोमा प्रायः सबैले सहयोग गर्नुभएको छ ।” योगीले अधिकांशले गासँबासका लागि सहयोग गरिरहेको बताउनुभयो । सक्नेले धेरथोर नगद पनि सहयोग गरेको उहाँको भनाई रहेको छ । 

नेपालको भूगोल, समाज र मान्छे चिन्ने अनि घुमिसकेपछि नेपालको प्रचार गर्नलाई पुस्तक लेख्ने उहाँको सोच छ । हरेक दिनको यात्राबारेमा दैनिकी टिपोट गर्ने गरेको उहाँले सुनाउनुभयो । अहिलेसम्मको यात्राले नेपाली भूगोल, समाज र मान्छे कति फरकफरक हुने रहेछ भन्ने प्रष्ट हुँदै गएको उहाँको बुझाई रहेको छ ।  भ्रमणका क्रममा जिल्ला सदरमुकाम र केहि प्रख्यात स्थान पुग्ने गरेको योगीले बताउनुभयो । 

१२ कक्षाको परीक्षा दिइसकेपछि देश भ्रमणमा निस्केका उहाँले नतिजा आउने अवधिको सदुपयोगका लागि मुलुकको भ्रमणमा हिड्नुभएको हो । विज्ञान संकाय लिएर १२ को जाँच दिनुभएका उहाँको चाहना विज्ञान विषयमै स्नातक गर्ने  छ । त्यसपछि नेपालमै केही योजना सञ्चालन गर्ने र अरूलाई रोजगारी दिने सोच रहेको छ ।

355969245_112081968590682_2670200524424065993_n1687485800.jpg
सिन्धुपाल्चोक पुगेको बेला स्थानीयले गरेको स्वागत

यहाँसम्म आईपुग्दा घुम्नका पैसा हैन इच्छाशक्ति काफि रहेको उहाँको बुझाई रहेको छ । परिक्षा सकिएको मौका र सबैभन्दा उपयुक्त मेरो उमेर यही हो सोचेर घरबाट निस्किएको योगीले बताउनुभयो । 

रुकुम पश्चिमबाट चितवन झरेका योगीले अहिलेसम्म २४ जिल्ला पुगेको बताउनुभयो । कहिलेकाँहि ट्रक, गाडि, मोटरसाईकललाई लिफ्ट माग्दै आएको बताउने उहाँले कुनैदिन १३ घण्टासम्म पैदल हिडेको बताउनुभयो ।

हालसम्म उहाँले चितवन, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सिराह, उदयपुर हुँदै खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंको भ्रमण पुरा गरेको बताउनुभयो ।

योगीका बुवा नरेन्द्र मजदुरीका लागि भारतमा हुनुहुन्छ भद्रशिला घरमै कृषिकर्म गर्नुहन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्