नेभिगेशन
समाज

रुकुममा २५ जना युवाहरुलाई पत्रकारिता सिकाईँदै

रुकुम पश्चिम । रुकुम पश्चिममा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजनामा जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ खलङगामा तालिम सुरु भएको हो । 

पत्रकारिताको लागि आवश्यक ज्ञान र सीपका साथ नयाँ प्रवेशीहरु भित्र्याउन तालिम आयोजना गरिएको बताईएको छ । तालिमको उद्घाटन सत्रमा बोल्नुहुदै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले प्रविधिले फड्को मारेको बेला पत्रकारिता थप परिकृत हुन जरुरी रहेको बताउनुभयो । 

उहाँले नयाँ पत्रकारहरु उत्पादनका लागि आयोजना गरिएको तालिमको उपलब्धिले जिल्ला चिनाउन र पहिचान दिन सफल हुने विश्वास गर्नुभयो । सकारात्मक कुराले सकारात्मक परिणाम दिने भएकोले अरुलाई खुईल्याउने भन्दा रचनात्मक रुपमा कमल चलाउन आवश्यक रहेको उहाँको भनाई छ । 
कुनै पनि क्षेत्रमा चासो र चिन्ता भएमा सफल हुन सकिने भएकोले तालिमको भरपुर उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । तालिमले जिल्लाका विभिन्न सञ्चार माध्यामहरु जोगाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

तालिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले समाजको रुपान्तरण पत्रकारिताबाट पनि हुने भएकोले समाजलाई देखाउने बाटोको रुपमा पत्रकारिता गरिनुपर्ने बताउनुभयो । पत्रकारिता अध्ययन तथा अध्यायापनको बिधा हो भएकोले पनि सधै सिक्ने हुटहुटी रहिरहनुपर्ने उहाँको भनाई रहेको छ । 

सूचना प्रविधिको कारण ज्ञानको दायरा भूगोलमा सिमित नभएकोले पत्रकारिता झन् फराकिलो र आवश्यक बन्दै गएको प्रजिअ पन्तले उल्लेख गर्नुभयो । सिक्ने, जान्ने, सिर्जनशिलता देखाउने महत्वपूर्ण अवसर तालिम भएकोले सकारात्मक धारणाका साथ विकास र परिवर्तनका पक्षमा कलम चलाउन सिक्नुपर्ने प्रजिअ पन्तको भनाई रहेको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिकाको सहयोगमा सञ्चालित उक्त तालिममा जिल्लाभरका २५ जना युवाहरुको सहभागिता रहेको छ । 

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा सल्लाहकार गणेश बिक, त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, जिल्लास्थित पत्रकारका विभिन्न संगठनका प्रमुखहरु लगायतको आथित्यता रहेको थियो ।

शाखाका सचिव हिरा परियारले सञ्चालन गर्नुभएको तालिम उद्घाटन सत्रमा सह सचिव नाराणण ओलीले सहभागिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । तालिम असार १५ गते सम्म सञ्चालन हुने बताईएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज