डोल्पाबाट आउँदै गरेको जिप आठविसकोटमा दुर्घटना, पाँच जना घाईते

मंगलबार, असार १९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ६ दामाचौरमा यात्रुवहाक जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । 

मंगलबार डोल्पाको त्रिपुराकोट देखि रुकुम पश्चिमको आठविसकोटतर्फ आउँदै गरेको भे १ ज ६०८ नम्वरको मुस्ताङ जिप दामाचौरमा पुगेको बेला दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले १३ जना यात्रु सवार रहेकोमा पाँच जना घाईते भएको बताउनुभयो ।

घाईते हुनेहरुमा जाजरकोटको नलगाड नगरपालिका ८ की शुसिला तामाङ, सोही ठाँउकी बिमला थकाली र गौरी थकाली, खोटाङको दिक्तेल नगरपालिका १ बस्ने तरीन्द्र प्रासद आचार्य र सल्यानको शारदा नगरपालिका ८ बस्ने जगत बहादुर बिष्ट रहेका छन् । 

घाईतेहरुलाई उपचारको लागि आठविसकोट नगर अस्पताल ल्याईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य आठ जना भने सकुशल रहेको बताईएको छ । जिप अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्