Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा शिक्षा सुधारका लागि ३५ बुँदे घोषणापत्र

शनिबार, असार २३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शिक्षा सुधारका लागि ३५ बुँदे घोषणापत्र जारी गरेको छ ।

शिक्षाको गुणस्तरलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालित सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यपक सहितको सहभागितामा चौरजहारी नगरपालिकाको शिक्षा सुधार घोषणापत्र, २०८० जारी गरेको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले ३५ बुँदे घोषणापत्र जारीसँगै कार्यान्वयनमा कडाई गरिने बताउनुभयो । घोषणपत्रमा अनिवार्य र निःशुल्क शिक्षा देखि विद्यालयमा बालबालिकाको सहज पहुँच सुनिश्चित गरिने कुरा उल्लेख रहेको छ ।

अधिकृत ढकालले नगरपालिकाले शैक्षिक उपलब्धि सुधार कार्ययोजना, २०८० लाई क्रियाशिल बनाउने, सुरक्षित विद्यालय अभियान, जनशक्ति व्यवस्थापन, पुरस्कार तथा दण्ड लगायतका बिषयहरु घोषणापत्रमा समावेश गरिएको बताउनुभयो । 

उहाँले सूचना सञ्चार प्रविधिको अधिकतम् उपयोग, सुधारात्मक कक्षा सञ्चालन, हरेक महिना जनप्रतिनिधिहरु विद्यालयमा जाने, दुई महिनामा कम्तिमा एक पटक कक्षागत रुपमा अभिभावक भेला गर्ने लगायतका बुँदा घोषणापत्रमा उल्लेख भएको जानकारी दिनुभयो । 

नगर प्रमुख पुष्प वादिले शिक्षाले मानविय जीवन व्यवस्थापन र आचरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले प्राथमिकताका साथ लागि परेको बताउनुभयो ।

घोषणापत्रले स्थानीय सरकार, शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समिति लगायतसँग निकटतम् समन्वयमा रहेर शैक्षिक गतिविधि सुचारु गर्न टेवा पुग्ने उहाँको भनाई रहेको छ । शैक्षिक गतिविधिहरुको गुणस्तरियता र पारदर्शिताको लागि घोषणापत्रले सहयोगी भूमिका खेल्ले नगर प्रमुख वादीको भनाई रहेको छ । 

शीतल माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुदास स्वर्णकारले घोषणापत्रले व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, बिद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउन भूमिका खेल्ने विश्वास रहेको बताउनुभयो ।

उहाँले घोषणापत्र कार्यान्वयन हुनुपर्ने र कार्यान्वयन भएमा शिक्षाको गुणस्तरमा राम्रो प्रतिफल आउने आशा राखेको उल्लेख गर्नुभयो । घोषणापत्रमा रहेका ३५ बुँदाहरु अक्षरशः पालना हुनुपर्ने उहाँको भनाई छ ।

चौरजहारी नगरपालिकामा नौ वटा माध्यमिक तह, १६ वटा आधारभूत र १२ वटा प्राथमिक तहका गरेर ३७ वटा सामुदायिक विद्यालय रहेका छन् । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्