सोसल मिडिया
मैले काठमाडौं कार्यक्षेत्र बनाएर पत्रकारिता गर्न थालेको २२ महिना भैसक्यो। गृहजिल्ला भोजपुरको तुलनामा सब ठीकठाक चल्दैछ । टेलिफोन, इन्टरनेटको समस्या छैन । चाहेको बेला जुनैबखत रिपोर्टिङमा निस्कन सक्छु। विषयवस्तुमाथि द्विविधा भए जुनैबेला पनि ‘रिसोर्स पर्सन’सँग सोध्न/बुझ्न सक्छु। चाहेको र क्षमताले भ्याएको तालिममा सहभागी हुन सक्छु। सिक्न सक्छु। समाचार कक्षसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न पाएको छु। र मलाइ कसैको अनावश्यक ‘ब्याक बाइटिङ’ चिन्ता छैन । लाग्छ, यो शहरमा कसैले कसैमाथि ‘ब्याक बाइटिङ’ गर्ने फुर्सद पनि छैन ।
तर म दुखिरहेको हुन्छु कता–कता । यति सहज वातावरण पाउँदा जति खुशी सन्तुष्ट हुनुपर्ने हो, त्यो चैन छैन मसँग । काठमाडौंमा काम गर्दा भोजपुरका यादहरू एकपछि अर्को तँछाडमछाड गर्दै आउ“छन्। महिला भएकै कारण भोगेका पीडाहरू अहिले सम्झँदा आँखा रसाउ“छन्। यद्यपि भोजपुर हुँदा तत्कालीन कान्तिपुर टिभीमा कार्यरत किरण राई दाइको सहयोग नपाएको भए, पत्रकारिताबाट पहिल्यै गुमनाम भैसक्थेँ । तर एकखाले पत्रकारहरूले मप्रति हेर्ने दृष्टिकोण उनीहरूको हैसियतभन्दा माथि उठेन । मैले काम गर्ने सञ्चारमाध्यममा मेरा समाचारहरूले दिनदिनै स्थान पाउँदै जाँदा कोही एक अगुवा पुरुष पत्रकारले भनेका थिए, ‘विद्याको समाचार दिनदिनैआइरहेको छ, प्रदेश व्युरोदेखि केन्द्रको जिल्ला व्युरोसम्मका हाकिमहरूसँग राम्रैहिमचिम छ कि क्या हो ?’ यति भनिसक्दा उनी गलल्ल हा“सेछन्। एक कान दुई कान हुँदै मेरो कानसम्म आइपुग्यो।
लेख्न सिक्दा महिलाले लेख्न जान्दैनन्÷सक्दैनन् भन्ने, मेहनत गरेर अघि बढ्दा इज्जतमाथि प्रश्नचिह्न ? जब यो कुरा सुनेँ । त्यसपछि मेहनतलाई झन निखार्ने मौका त पाएँ नै। तर त्यहा“ कार्यरत पत्रकार महिला र भावी पुस्ताको अवस्थाबारे मैले पत्रकारिता थालनीसँगै बिताएका २२ महिनाका यी र यस्ता क्षण नै काफी छन्। हिजो मैले जे भोगेँ आज पनि भोजपुरका पत्रकार महिला मेरो भोगाइभन्दा माथि उठ्न पाएका छैनन् ।
सामाजिक संरचनाले महिला र पुरुषबीच छुट्याएको साँध सीमाना पत्रकारिता क्षेत्रमा पनि हाबी छ । यसलाई चिर्न पुरुषमाथि भौतिक लडाइँ लडेर सम्भव छैन । बौद्धिक लडाइँ नै लड्ने हो। भोजपुरमा अहिले सक्रिय कविता खड्काले एक भेटमा भनिन्, ‘मानसिक रूपमा बलियो बन्नका लागि आवश्यक क्षमता विकास गर्ने तालिम चाहिएको छ, जसले जस्तासुकै आरोप लाउँदा पनि मन विचलित नहोस्।’ म महिला अझ नेपाल पत्रकार महासंघ भोजपुर शाखाको उपाध्यक्ष भएको हिसाबले कविताको कुरा सुनेर झस्किएँ ।
तुरुन्तै फेसबुकको म्यासेन्जरमा भोजपुरका पत्रकार महिलाहरूको ग्रुप च्याट बनाएँ । उनीहरूसँग जिज्ञासाहरू राखेँ । उनीहरूले क्षमता विकासदेखि व्यावसायिक तालिम आवश्यक भैरहेको बताए । हुन त उनीहरू कार्यरत सञ्चारमाध्यमहरूले क्षमता विकासका तालिममा ध्यान दिनुपर्ने हो, यो वातावरण मूलधारे मिडियामा समेत खडेरी भैरहेका बेला भोजपुरका स्थानीय सञ्चारमाध्यमबाट सम्भव छैन । मैले पत्रकार महासंघ भोजपुर शाखालाई पत्रकार महिलाहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिको तालिमको व्यवस्था गरौं,’ ग्रुपमा च्याट गरेँ। पटक–पटक आग्रह गर्दा पनि महासंघको नेतृत्वमा रहेका पुरुष अगुवाहरूबाट ‘रेस्पोन्स’ भएन । मैले राखेको प्रस्तावलाई च्याटबक्समा ‘सिन’ गरेर छोडिदिए । त्यही ग्रुपभित्र मेरा समाचार छापिएकोमा प्रदेश व्युरोदेखि जिल्ला व्युरोसम्मका हाकिमसँग अगुवा पनि छन्। तर महिलालाई सिकाउनुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने मानसिकता भएको भए उनले मैले राखेको प्रस्तावलाई कार्यान्वयनमा लान सक्थे, सकेनन्।
म उपाध्यक्ष भएको हिसाबले त्यहाँका पत्रकार महिलाले अपेक्षा गर्नु स्वभाविक हो। जसरी आज काठमाडौंमा बस्दा नेपाल पत्रकार महासंघको केन्द्रीय महिला विभाग, सञ्चारिका समूह, क्रियाशील पत्रकार महिला समूहबाट क्षमता विकास र आत्मसुरक्षाका तालिमको अपेक्षा गरिरहेको हुन्छु ।
तर कडाइका साथ प्रस्ताव राख्दा मलाई ‘शो पिस’को रूपमा देखाउने महासंघ नेतृत्वमा रहेका पुरुष अगुवाहरूबाट बेवास्ता हुने गरेको छ । पत्रकार महासंघले हरेक जिल्ला – जिल्ला र विदेशमा समेत शाखा विस्तार गरेको छ । के महासंघको काम विज्ञप्ति निकाल्ने र धर्ना बस्ने मात्रै हो ? हामी पत्रकार महिलाहरू र्यालीको दिन अघिल्लो लहरमा देखिने ‘शो पिस’ मात्रै हो ? तालिम, अभिमुखिकरणमा हाम्रा आवाज हाम्रा सहभागिताहरूलाई दबाइरहने नै हो त ? हो, हर मानिसले मेहनत आफैँ गर्नुपर्छ । तर पढाइले सिकाइमा जति सहज हुन्छ, आफ्सेआफ ‘ढुङ्गाको काप फोडेर’ निस्कन असहज नै हुन्छ । महासंघको क्षेत्राधिकारभित्र पर्ने तालिम प्रदानले उसको या उनको क्षमता विकासमा, प्रगति पथमा सहज हुन्छ भने ‘ढुङ्गा फोड्ने’ असहज वातावरणमै किन अल्झाइरहने पत्रकार महिलालाई ? पत्रकार महासंघको केन्द्रले नै यो विषयमा संवेदनशील हुनु जरूरी छ ।
म काठमाडौंमा देख्छु, पत्रकारमाथि हातपात भयो, पत्रकारमाथि गालीगलौज गरी मानहानी भयो भन्दै विज्ञप्ति निकाल्ने र सडकमा धर्ना बस्ने काम भैरहेको हुन्छ । तर पत्रकारका पनि प्रेस स्वतन्त्रताको हकसंगै कर्तव्य र आचारसंहिता छन्। यी कर्तव्य र आचारसंहिताका बारेमा पत्रकारहरूलाई पढाउने मात्रै हो भने पनि गालीगलौज र धम्कीको सिकार बन्नुपर्ने थिएन नि ! पत्रकारका बारेमा नीति ल्याउने महासंघले पत्रकारलाई सर्कुलर गर्न किन चुकिरहेको छ ?
पछिल्लो समय पत्रकारहरू सामाजिक सञ्जालमा जसरी प्रस्तुत भैरहेका छन् । क्षणिक वाहवाही कमाउनका लागि । यसले व्यावसायिक धर्ममाथि बारम्बार प्रश्न गरिरहेको छ । त्यसमा पत्रकार महिलाहरू कम छैनन्। पत्रकार भएर राजनीतिक आवरणालाई सामाजिक सञ्जालमा उछालेर दिइने अभिव्यक्तिले महासंघको बद्नाम भैरहेको छ । यस्ता पत्रकारको संरक्षणमा पत्रकार महासंघले कहिलेसम्म विज्ञप्ति छापेर सस्तो भैरहने ? म पत्रकार हु“ तर मै भन्छु, ‘पत्रकार हो भन्दैमा जे पायो त्यही लेख्न र बोल्न रोक लगाइनुपर्छ, यसले व्यावसायिक पत्रकारितालाई धराशायी बनाउँछ ।’ एक पत्रकारको कारणले सिङ्गो व्यवसायमाथि आक्षेप लाग्नु हुँदैन । यसका लागि महासंघले विज्ञप्ति होइन हरेक पत्रकारलाई ऐन, कानून, नीति र आचारसंहिता प्रष्टसँग पढाउनुपर्छ ।
‘सामाजिक सञ्जाल आएपछि पत्रकारको भूमिका सीमित भएको छ । नेपाली पत्रकारिताको सम्पादकीय दायरालाई कसरी फराकिलो, बलियो र सुरक्षित बनाउने भन्नेमा पत्रकार महासंघले मुख्य ध्यान दिनुपर्छ’ नेपाली पत्रकारितालाई व्यावसायिक बनाउने भूमिका खेल्नुभएका महासंघका पूर्वअध्यक्ष शिव गाउँलेको अभिव्यक्ति हो यो। मैले महासंघकै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा विषयक वार्षिक प्रतिवेदनबाट लिएको हु“ । उहा“को भनाइबाटै पनि महासंघ नेतृत्वले पत्रकारको क्षमता विकासमा उदारता देखाउनैपर्छ । पत्रकार महिलाहरूका सवालमा बढी उदार हुनुपर्छ किनभने आजसम्म महिलालाई दोस्रो दर्जाकै नजरले हेरियो। संविधानमा लेखिएको समानुपातिक समावेशी सिद्धान्तलाई व्यावहारमा देखाउन अर्थात दोस्रो दर्जालाई समान हैसियतमा पुर्याउन सर्वप्रथम त उति नै दक्ष बनाउनुपर्छ । नत्र कसरी हुन सक्छ ‘फेयर कम्पिटिसन ?’, कसरी हुनसक्छ समान सहभागिता ?
आज महिलालाई अवसरको खाँचो छ, क्षमता, दक्षता विकास र आत्मसुरक्षा अभिवृद्धिको खाँचो छ । महासंघको पुरुष नेतृत्वले मात्रै यतातर्फ ध्यान दिने हो भने कुनै महिलाले क्षमता देखाउन सक्दैन र क्षमता देखाए कुन पुरुषसँगको हिमचिमले माथि उठ्यो भनेर खुद्रे आरोप लगाइराख्नुपर्दैन । हरेक सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता राख भनेर पत्रकार महासंघले कुर्लनुपर्दैन । सुरुमा दक्ष र सक्षम त बनाऔ“ सञ्चारमाध्यमले ३३ प्रतिशत मात्र होइन ५० प्रतिशत बढी महिला सहभागिता पु¥याउँछन्। सम्पादकीय नेतृत्वमा पत्रकार महिला पुग्न सक्छन् ।
नोटः यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक पत्रिका संहिताको पुष अंक २०७६ मा प्रकाशित छ ।