Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इन्जिनियर कुटिएपछि सानीभेरी गाउँपालिकाको सेवा ठप्प

कुटपिट गर्ने ओली प्रहरी नियन्त्रणमा
बुधबार, असार २७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट कार्यालयबाट प्रवाह हुने सबै सेवा रोकिएकाे छ । 

बुधबार कार्यालय जाने क्रममा गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले सेवा रोकेका हुन् । 

इन्जिनियर लम्सालमाथि हातपात भएको घटनामा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी न्यायिक निरुपण नहुँदासम्म गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन् । कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नभएको भन्दै कर्मचारीहरुले सबै सेवा रोकेका हुन् । 

कर्मचारीहरुले इन्जिनियर लम्सालमाथि बजारमा हातपात गरेको घटनाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । प्राविधिक मुल्याङकनमा नियम विपरित गर्न दबाव दिने, लागत अनुमान बेगरको मुल्याङकन उठाउन दबाब दिने, नउठाए जे पनि हुन सक्ने भनी धम्की दिने जोसुकै भएपनि कानुनी कठघरामा उभिनुपर्ने कर्मचारीहरुको माग रहेको छ । 

अपराधिक नियतले राष्ट्रसेवक कर्मचारीप्रति आक्रमण हुनु निन्दनिय भएको कर्मचारीहरुको ठहर रहेको छ । यस्ता कार्यले विस्तारै स्थानीय तहमा कर्मचारी बस्नै नसक्ने वातावरण सिर्जना हुदै गएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीहरले स्थानीय तहमा कार्यरत कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभुति हुनपर्ने र दोषीमाथि कडा भन्दा कडा कारवाही हुनपर्ने माग गरेका छन् । कारबाहि नभएसम्म गाउँपालिकाको सबै सेवा ठप्प हुने उनीहरुको भनाई रहेको छ ।

गाउँपालिकाका इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मुल्यांकन गरेको भन्दै कुटपिट भएको थियो । सानीभेरी गाउँपालिका –९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा सानीभेरी गाउँपालिका –३ का गोविन्द ओलीले बजारमै इन्जिनियरलाई कुटपिट गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकीले बताउनुभयो ।

इन्जिनियर लम्सालको भनाई उल्लेख गर्नुहुँदै अधिकृत बुढाथोकीले मुक्काले टाउकोमा र लात्तिले पेटमा हानेर सडकमै लडाएको बताउनुभयो । आक्रमणमा परेका लम्सालको निधारमा निलडाम परेको छ । 

सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु रंगशाला निर्माणको मुल्याङकनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताईएको छ । 

इन्जिनियरमाथि कुटपिट गर्ने ओलीलाई सिम्ली स्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले ओलीलाई तत्कालै नियन्त्रणमा लिईएको र पीडितपक्षबाट जाहेरी आएमा आवश्यक कारबाहि अगाडि बढाईने बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्