Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतमा पहिरोमा परेर ज्यान गुमाएका रुकुमका एकै परिवारका तीन जनाको गाउँमै अन्त्येष्टि

बिहीबार, असार २८, २०८०
tribeni2

रुकुम पश्चिम । गत सोमबार भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा परेर ज्यान गुमाएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –९ टुनिबोटका एउटै घरका तीन जनाको आज बिहिबार गाउँमै अन्त्येष्टि गरिएको छ ।  

टुनिबोट टोलका ४८ वर्षिय देव बहादुर ओली, उहाँकी ५० वर्षिया श्रीमती भिमा ओली र १७ वर्षिय कान्छो छोरा मोहन ओलीको आज अन्त्येष्टि  गरिएको हो । 

भारतबाट आज बिहान शव गाउँमै ल्याई पुर्याएपछि टुनिबोट टोल नजिकैको मसानघाटमा उहाँहरुको अन्त्येष्टि गरिएको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य सन्तोष ओलीले जानकारी दिनुभयो । 

उहाँहरुको सपरिवार मजदुरीको लागि भारत जानुभएको थियो । क्यारामा अविरल वर्षा भइरहेको बेला ओली परिवार डेरा लिएर बसेको घरनै पहिराले पुरेको थियो । बिहानको काम सकेर डेरामा खाना खान आएको बेला पहिरो आएको थियो । 

वडा सदस्य ओलीका अनुसार आमा भिमा र छोराहरु लोकेन्द्र र मोहन असार पहिलो हप्तामा मात्रै त्यहाँ पुग्नु भएको थियो । देवबहादुर भने गत मङसीर महिनामा भारत जानुभएको थियो ।

जेठा छोरा लोकेन्द्र ओली कामको सिलसिलामा अर्को स्थानमा भएकोले ज्यान जोगिएको थियाे । आज जेठा छोरा लोकेन्द्र ओलीले आमाबुवा र भाईलाई दागबत्ति दिनुभएको हो । 

शव अन्त्येष्टि कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसी, उपाध्यक्ष राज कुमारी रेउले, पूर्व अध्यक्ष झक्कु प्रसाद घर्ती लगायत स्थानीयको ठुलो संख्यामा उपस्थिति रहेको थियो । यस घटनाले त्रिवेणी गाउँपालिका र समग्र रुकुम शोकाकुल बनेको छ । 

भारतबाट मृतकहरुको शव ल्याउन त्रिवेणी गाउँपालिकाले बिशेष पहल गरेको थियो । शवहरु भारत सरकारको सहयोगमा रुपैडियासम्म ल्याईएको थियो भने त्यहाँबाट त्रिवेणी गाउँपालिकाको एम्बुलेन्समा शव ल्याईएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्