सोसल मिडिया
मैले कसैलाई चिहानमा छोडें, कसैलाई बिच बाटोमै । चिहानमा छोडिनेहरु भौतिक रुपमा कहिल्यै जोडिन आईपुगेनन् । बाटोको किनारामा सँगै छोडिएकाहरुसँग आजकाल भर्चुअल दुनियाँले जोडाइदिएको छ । मेरो समययात्राको हजारौं सहयात्रीहरु प्रायः अर्धमुर्छित नै छन् । जहाँ देशका शासनसत्ता समालेकाहरु कुर्चिको मोहमा जनतामाथि घात गरिरहेका छन् भने जनता वा त्यो आन्दोलनको भूमरीमा होमिएकाहरुको पनि हालत त उही न हो । फरक के कुरामा छ र ?
वर्तमानमा सम्झँदा आफैलाई सपनाजस्तो लाग्ने मैले भोगेका वास्तविक जीवनको कठिन परिस्थिति । गर्वपनि महशुस हुन्छ, त्यो जीवन भोगाइको कष्टले इतिहासको एउटा युग वा शासनव्यस्था फेरियो । यो शासनव्यवस्था फेर्नेक्रममा जीवनको आरोह अवरोह चढेर अगाडि जाँदा म असल मनहरुको लागि आर्दश बनें, खराबहरुको लागि त्यही विल्ला पाएँ मैंलेपनि ।
सडक किनारामा फालिएकाहरुसँग सम्बन्ध नै छैन् आजकाल । कसैको वर्ग फेरियो, कसैको हैसियत फेरियो, कसैको जिम्मेवारी सबै फेरिएकाहरु सँग चिनाजान नहुनु कुनै अनौठो कुरा भएन । सडक किनारामा फालिएका कोहीसँग भने वर्गीय नाताले बाँधिएको सम्बन्ध छ । जनसत्ता स्थापनाताका पश्चिम रोल्पा, रुकुममा स्थापना भएको जुनी र अजम्बरी कम्युनजस्तै मिठो र अजम्बरी छन् यादहरु ।
माथि असरल्ला सडक किनारमा फालिएका मान्छेहरुको कथा निकाल्दै थिएँ, उनी पनि त्यही पात्र हुन् सडक किनारमा असरल्ल फालिएपछि अँध्यारोबाटै उज्यालो दिनको खोजीमा लागेकी जनयुद्धको सहयात्री प्रिय सूचना । उनको पनि मेरोजस्तै सपना थियो, आफैले लडेर ल्याएको गणतान्त्रिक देशमा क्रान्तिको अपुरो कामलाई सफल गर्ने । नाफाबाट बाँचेको जीवनलाई आमजनताको वर्गमुक्तिमा समर्पण गर्ने ।
उनी पनि त्यही यात्री हुन्, जनयुद्धको सहिदपरिवार । विवाह गरेको एक महिना नबित्दै प्यारो जीवनसाथी सुनिलकुमार तामाङ्गलाई गुमाएकी महिला छापामार कमाण्डर यो मात्रै काफी छैन् उनको आगोको लप्कासँग खेलेको संघर्षशील जीवन । भोकसँग संघर्ष गर्दागर्दै देशमा रोजगारीको अवसर नपाएर विदेशीन बाध्य क्रान्तिकारी योद्धा बेदप्रकाश तामाङ बिरानो मुलुुकमा भएको जीवन उत्सर्गमा अर्काे जीवनसाथीको रातो काठको बाकसको साक्षीपनि ।
जीवन जीउनुको संर्घष मलाईभन्दा बढि अझ मेरो प्यारीलाई थाहा छ । उनले बाँचेको वास्तविक जीवनको सचित्र केलाउने कमै मात्रमा भेटेको छु मैले । यो गणतन्त्र उनले लडेर ल्याएको त हो तर यो गणतन्त्रमा उनलाई अटाउने ठाँउ छैन । उनले आफ्नो हैसियतअनुसारको जीम्मेवारी बहन गर्न पाउँदिनन् । किनकि उनी ठेकेदार कम्पनीको मालिक्नी होइनन् । उनलाई ठेकापट्टासम्बन्धी मेसोपनि छैन् ।
उनलाई नेता बाबुराम भट्टराईको छोरीको विवाहमा बोलाइयो, दोसल्ला ओढाएर सम्मान गरि टोपलियो, देखाउनकै लागि मात्रै भएपनि । विवाहको खर्च जोगाएको भनेर केही रकम पनि उपलब्ध गराएको नाटक गरे, क्यामेराले फोटो खिचे, भिडियो पनि खिचे, सामाजीक सञ्जालमा समवेदना प्रकट गर्नको लागि ठुलै कसरतपनि भयो । पछि उनलाई थाहा भयो कि, यो त झुटो आश्वासन र खोक्रो समवेदना हो । वास्ताविकता थियो भने त त्यो बेला गरेका वाचाहरु पुरा हुन्थेहोला सायद झुट थियो त्यही भएर त्यो सत्य हुन सकेन ।
प्रिय सुचनाहरु जस्ता महिलाहरुको त्याग, समपर्ण, इमादारिता र तिनिहरुको कलकलाउँदो जवानीको कुरवानीे र प्रिय जीवनसाथी सुनिल कुमार लगायत हजारौं मृत्यु जीतेका योद्धाहरुको करवानीले आएको हो गणतन्त्र । यही गणतन्त्रमा मेरा प्रिय सूचनाहरु किन अपमानित छन् ? किन उनीहरुको त्याग, समपर्ण र योगदानको कदर हुदैन् ? किन उनीहरुलाई कहिलेकाहीँ आफनो विगतसँग असाध्यै हिनता र ग्लानीले चिर्थोछ ? यदि फेरी यहि दिनको कल्पना थियो भने किन पुछिए सूचनाहरुको सिउँदो ? किन विधुवा बनाइयो सूचनाहरुलाई ? यसको जीम्मेवारी कसले लिन्छ ? सूचनाहरुको योगदानको कदर कसले गर्ने हो ? कोही हिजोको जनयुद्ध सम्हालेर आएका नेताहरु छन् त नेपालमा ? वा अझ भनौं नुवाकोट रसुवामा ? निर्धक्कसँग भन्छु, छैनन् । यदि थिए भने सूचनाहरुले यो समाजको यो अपमान र घृणा सहनुपर्दैनथ्यो वा जीवन यति असहज र कष्टकर तरिकाबाट गुजार्नुपर्ने थिएन ।
हिजो जनयुद्धमा जीवनको आहुती दिन तयार हुनेहरुले । साँच्चै अब नेताहरुलाई दलाली, भष्ट्रचारी र तस्करीहरु भए पुग्ने हो ? आफु अकुत सम्पती कमाएर कार्यकर्ताको बिजोगमा नै रमाउने हो नेताहरु ? साँच्चै सुनामी आउनुअगाडिको समुन्द्रजस्तो चुपचाप छन् हिजोको विषम परिस्थितिमा आफ्नो भौतिक शरिर पार्टी र क्रान्तिको लागि बलिमा चढाउन तयार भएका सिपाहीहरु । यदि यी सिपाइहरुले सुनामीको आविस्कार गरेभने के हालत होला उनीहरुको ? मेरो लेखाइको आशय फेरि हत्याहिंसा गर्नुपर्छ भनेको होइन शान्तिपुर्ण आन्दोलनको नेतृत्व गरेभने फेरि पनि बादशाह गद्दीबाट हट्न बाध्य हुनेछन् भन्ने मात्रै हो ।मेरी प्रिय सूचना तिनै हुन्, जो जनयुद्धको संकटमय घडीमा रसुवा नुवाकोटका नेताहरुलाई नतमस्तक निन्द्रामा सेल्टरमा सुत्न लगाएर आफु त्यही नेताको सुरक्षाको लागि रातोदिन भोक, प्यास, निन्द्रा, नभनी चनाखो भएर दुश्मन आउने गौँडाहरुको एम्बुस राखेर रिमोर्ट पिनमा आफ्नो कलिला औँलाहरु राख्ने महिलायोद्धा ।
हिजोको असजिलो परिस्थितिमा ती नेताहरुलाई सुरक्षा दिन तल्लीन प्रिय सूचनालाई अहिले वर्ग फेरिएका नेताहरुले चिन्छन् त ? कि पलायन भए, त्योबेलामा सूचनाले सुरक्षा दिएर बाँचेका नेताहरु ? यदि पलायन भएका हुन् भने पनि इन्द्रप्रसाद गौतमले लेखेको पुस्तक ‘जनयुद्धमा नुवाकोट र रसुवा’मा पनि उनीहरुको नाम छैन् । असाध्यै धेरैपटक नियालें यो पुस्तकलाई, कहीँकतै त्यो बेलामा जनयुद्धको नेतृत्व गर्ने नेताहरुलाई । अहँ, कहीँपनि भेटिनँ मैले त्यो किताबमा ती नामहरु । सूचनालाई न तिनका नेताले सम्झिए न युद्धमोर्चामा संगै सहभागी कमिसारहरुले नै सम्झिए, न त सूचनाले जनयुद्धमा हिँड्नको लागि प्रेरित गरेर पार्टीमा होलटाइमर गराउने सदस्यहरुले नै सम्झिए ।
मरेर संसार जित्नेसँग कुनै गुनासो छैन । जो बाँचेका छन् वा बाँचिरहेका छौँ तीनीहरु विगतको इतिहाससम्बन्धी गुनासोको सिमारेखा भन्दा बाहिरवाट आईपुग्छन् कहीलेकाहीँ यादका थुप्राहरु । यो नामसँग मेरो २० वर्ष लामो परिचय छ । अझ भनौँ २०५९ सालमा नुवाकोटमा बनेको अस्थाई कम्पनीको सदस्य भएदेखिको ।
हामी त्यहीदिनको साक्षी हौं, जुनदिन नुवाकोटको भद्रटारमा शाही सेनालाई पासोमा पारेर मार्नुपर्छ र आफ्नो नेताहरुलाई सुरक्षा दिनुपर्छ भनेर दिनरात भोका पेट, प्यास, छटपटी हुँदापनि कतैबाट दुश्मन आएर खनायोखर्कमा सुतेका नेताहरुको निन्द्रा भंग हुन्छ कि वा हाम्रा महान् नेताहरु सहिद हुन्छन् कि भनेर नेतालाई निर्धक्क निदाउन पहरा दिने पहरेदार सिपाही थियौं । रातभरीको अनिदोले आँखा भतभती पोलिरहेको थियो । सेना घलेभञ्ज्याङबाट सर्च सकेर महाकाली गाविसको वडा नम्बर २ हुँदै भद्रटारतिर ओरालो लाग्दै थियो । देशमा संकटकाल थियो । हामी सेनालाई धरापमा पारेर चन्चला आलेमगर चेतना र गौरी पाण्डेलाई गिरफ्तार गरी बलत्कार गरेर हत्या गरेको बदला लिन तयार थियौं । यही करिब टार्गन प्वाइन्ट र हामी बसेको दुरी ३०० मीटर जति मात्रै फरक थियो । बिहानी मिर्मिरे उषाले लाली छाउँदै थियो । हामी तयारी अवस्थामा थियौं । इन्फेन्ट्री ग्रुपलाई नचलाउने आर्टीलरी ग्रुपलाई धरापमा पार्ने र सपोर्ट ग्रुपसँग उनीहरुको सम्पर्क नहुने अवस्थामा । हामी अन्तिम चरणमा थियौँ । माइन्ड पड्काएपछि हामीले भाग्ने स्थान खुल्ला थियो । लामो दुरीको हतियारको किलिङ रेन्जभित्र थियौं हामी । यहीबीचमा मैले बाटोमा बिछ्याइएको एम्बुसको किलिङ एरियाभित्र सेना प्रबेश गरेपछि सूचनालाई कोड भाषामा किलोकिलो दुश्मन डेन्जर एरियामा प्रवेश ग¥यो भन्नुपर्ने थियो । आर्टिलरी ग्रुप डेन्जर जोनमा पुग्ने अवस्थामा थियो ।
त्यहीबीचमा मैंले सेतोपट्टी आँखामा बाँधिएको मान्छेलाई पनि देखें । आँखाले नियालें, ३०० मीटरको फरकमा मैले शहिद आनन्द कुमार थापा र उषा थापाको बुबालाई तत्कालिन शाही सेनाले आँखामा पट्टी बाँधेर घरबाट गिरफ्तार गरी त्यही भद्रटारको बाटो हुँदै शिवालयतिर लैजाँदै गरेको देखें । प्रिय सूचना माइन्ड पड्काउनको लागि मेरो कोड भाषाको पर्खाइमा थिइन । मंैले एक्कासी भने ‘बुवा’ हामीले बुबालाई चिन्यौं । त्योसमय हामीलाई सेकेण्डको महत्व थियो बुवा बचाउने कि कारबाहीको भागिदार हुने ? सेनालाई एम्बुसमा पारेको भए हामी कारवाहीमा पर्दैनथियौं तर बुबा त्यही मारिनुहुन्थ्यो । बुबालाई तल्लो शिवालयमा लगेर छोडिदिएछ सेनाले । त्योदिन हामीले त्यो एम्बुसमा पड्काउन पाएनौं । यदि त्यो एम्बुस पडकाएको भए बुबालाई सेनाहरुले त्यहीदिन मार्थें । हामीले प्रण गर्यौं, अबको अवसरलाई मिस हुन दिनेछैनौं । त्यहीदिन एम्बुसको रिमोर्ट नथिचेको कारण म जनमुक्ति सेनाको पूर्वी डिभिजनमा सरुवा भएँ भोलिपल्ट । तर उनी एक्लै भन्दै थिइन मरेपनि मर्छु तर अब म एक्लै त्यो एम्बुसलाई सफल बनाएर छाड्नेछु । साँच्चै ४ दिनपछि उनले त्यो मिसनलाई सफल बनाएर नै छाडिन् । म जनमुक्ति सेनाको फर्मेशनको लागि जाँदैगर्दा सिन्धुपाल्चोक र नुवाकोटको सिमाना चिसापानी पुगेको दिन थाहा पाएँ, उनले दबाएको रिमोर्टको कारण ३ जना शाहीसेनाको त्यही मृत्यु भएछ । आधा दर्जन घाइते भए । त्यही साहसी र निडर महिला छापामार हुन् उनी । उनको नेतृत्वमा सफल भएका दर्जनौं मोर्चामा उनलाई बधाईं दिने तिनै नेता र कमाण्डर, कमिसारहरु कता होलान् अहिले । मोर्चा सफल भएको महिनौंसम्म पनि बधाईंको भागिदार यो महिला कमाण्डरलाई किन अपमान गरिएको होला ?
के साँच्चै सूचनाजस्ता हिजो जनयुद्ध लडेका कमाण्डर र गणतन्त्र प्राप्तिकोलागि अमुल्य समय क्रान्तिमा समपर्ण गरेकाहरुलाई किनारा लगाएर नेताहरुको वर्गमुक्ति हुनुले के अर्थ राख्छ होला ? कस्तो खालको सामाजवाद र साम्यवादको कल्पना गरेका होलान् नेतृत्वतहमा पुगेकाहरुले ? हिजोको त्याग, समर्पणलाई कुल्चिएर नेताहरुको आत्माले शान्ति पाउला ? यदि पाउछ भने ठिक छ, हामी तपाईको विलासी जीवन हेरेर खुशी हौँला । तर पाउँदैन् । किनभने तपाईंले प्राप्त गरेका कुराहरु सबै अस्थाई हुन् वास्तविक धरातलमा एक दिन पक्कै आउनैपर्ने छ । के त्यो दिन नेताहरुले सूचनाहरुको साथ पाउलान् ? यो कुराले अर्थ राख्छ होला राजनीतिमा सायद । समय अझै बाँकी छ, सच्याउने र सच्चिन सक्ने अवसर पनि छ यो कुरालाई मनन् गरे राम्रो होला ।