सोसल मिडिया
रुकुम पश्चिम । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ५ निवासी शर्मालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले साईबर क्राईम मुद्धामा पक्राउ गरेको हो ।
शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत चौरजहारी नगरपालिका ५ स्थित रेशम खोला दोहन भएको भन्दै खरो बिरोधमा उत्रिनु भएको थियो । उक्त कार्यमा एमबि कन्ट्रक्सन र चौरजहारी नगरपालिकाका पूर्व नगर प्रमुख बिशाल शर्माको संलग्नता रहेको भनेर उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
तर, उक्त कार्यमा आफ्नो कुनै संलग्नता नरहेको, रिसिईबी साँध्नलाई सामाजिक सञ्जालको दुरुपयोग गरेको, मानमर्दन गरेको, सार्वजनिक प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै पूर्व नगर प्रमुख शर्माले उहाँ बिरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।
सोहि जाहेरीको आधारमा प्रहरीले डिल्लीराज शर्मालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले साईबर क्राईम मुद्धामा पक्राउ गरिएको बताउनुभयो ।
उहाँले बुधबार नै अदालतबाट दश दिनको म्याद थपेर थुनामा राखिएको बताउनुभयो । उहाँले थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
एमालेद्वारा रिहाईको माग
नेकपा एमाले रुकुम पश्चिमले पार्टीको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डिल्लीराज शर्मालाई रिहाईको माग गरेको छ । बुधबार पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रेस विज्ञप्ती मार्फत शर्माको रिहाईको माग गर्नुभएको हो ।
विज्ञप्तीमा चौरजहारी नगरपालिका ५ स्थित रेशम खोला विगत ८ वर्षदेखि दोहन भईरहेको र उक्त कार्यको बिरोधमा नागरिकस्तरबाट खबरदारी गरेको कार्यलाई राजनैतिक र शक्तिको आडमा कुल्चिने प्रयास भईरहेको जनाईएको छ ।
यस कार्यमा संलग्नलाई कारबाहिको माग गर्दै पक्राउ परेका शर्मालाई रिहा गर्न देवकोटाले माग गर्नुभएको छ ।