Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा अध्यक्षको निर्देशनमा सामुदायिक वन ‘फडानी’ भएको भन्दै उजुरी

कानूनी प्रक्रिया अनुसार काम गर्नुपर्नेमा वडा अध्यक्षको जोड
बुधबार, साउन १०, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ११ मा रहेको एक सामुदायिक वन क्षेत्रमा रुख फडानी भएको भन्दै वन उपभोक्ता समितिले उजुरी गरेको छ । 

स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले रुख फडानी भएपछि आवश्यक कारबाहिको माग गर्दै चौफा सव डिभिजन कार्यालयमा निवेदन दर्ता गराएको हो । उपभोक्ता समितिले चौरजहारी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तुल्से ओलीको निर्देशनमा सामुदायिक वनका रुखहरु काटिएको भन्दै उजुरी दिएको हो । 

जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शान्त बहादुर शाहले समितिलाई जानकारी नै नदिई सामुदायिक वन क्षेत्रका ३१ वटा रुखहरु काटिएको बताउनुभयो । उहाँले वडा अध्यक्षकै निर्देशनमा गैर कानूनी ढंगले रुखहरु काटिएको उल्लेख गर्नुभयो ।

विभिन्न प्रजातीका ३१ वटा रुखहरु काटिएको अवस्थामा फेला पारेको अध्यक्ष शाहले बताउनुभयो । उक्त सामुदायिक वनमा रहेका साल, साँधन र खनायो प्रजातीका र बढी मात्रामा सल्ला प्रजातीका रुखहरु काटिएको बताईएको छ । 

रुख काट्ने बिषयमा वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिलाई कुनै पनि जानकारी नभएको शाहको भनाई छ । उहाँले वन ऐन अनुसार कारबाहिको माग गरेर सम्बन्धित निकायमा उजुरी दिएको बताउनुभयो । 

चौरजहारी नगरपालिका वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेटासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केहि रुखहरु काटिएको बताईएको छ । यस बिषयमा चौफा सव डिभिजन कार्यालयका निमित्त सहायक वन अधिकृत अमर बहादुर बिष्टले उपभोक्ता समितिको उजुरी पश्चात स्थालगत अनुगमन गरिएको र रुखहरु काटिएको पाईएको बताउनुभयो ।

उहाँले जनकल्याण सामुदायिक वनको ३१ वटा र सर्केना सामुदायिक वनको चार वटा गरेर ३५ वटा रुख काटिएको जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकणले बिद्युत तार बिस्तार गर्ने क्रममा रुखहरु काटेको बिष्टले जनाउनुभयो । अरु रुखहरुपनि काटिने अवस्था रहेकोले अहिलेलाई रोकिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन गरेर सम्बन्धित वन डिभिजन कार्यालयको रुख काट्न मिल्ने वा नमिल्ने निर्णय गर्नुपर्नेमा निर्णय नहुँदै रुख काटिएको निमित्त सहायक वन अधिकृत बिष्टले बताउनुभयो । उहाँले काटिएका रुखहरुको बरामदी मुचुल्का बनाएर आवश्यक कारबाहिको लागि माथिल्लो निकायमा पठाईएको जनाउनुभयो । 

कानूनी प्रक्रिया अनुसार काम गर्नुपर्नेमा वडा अध्यक्षको जोड

यस बिषयमा चौरजहारी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तुल्से ओलीले रुख काट्ने बिषयमा आफुले कोहि कसैलाई निर्देशन नदिएको बताउनुभयो । विधि र प्रक्रिया अनुसार मात्र काम अगाडि बढाउनुपर्छ भनेर आफूले सम्पूर्ण कागजी प्रक्रिया जुटाउन सहयोग गरेको उहाँको भनाई छ ।

वडाबाट नगरपालिका, बिद्युत कार्यालय हुँदै वन डिभिजन कार्यालयसम्म फाईल पुर्याएको तर निर्णय हुन ढिलाई भएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । गाउँमा विकासका काम गर्दा विवाद नहोस् भनेर आफूले सबै कुराहरु कानूनी प्रक्रिया अनुसार नै गरेको उहाँको भनाई रहेको छ । 

अनावश्यक रुपमा रुख काट्न नहुनेमा आफू रहेको वडा अध्यक्षले बताउनुभयो । गाउँमा बिद्युत लाईन बिस्तार गर्नुपर्ने र उक्त क्रममा वन क्षेत्रमा क्षति नहोस् भन्ने आफ्नो धारणा रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्