Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
महिला सशक्तिकरण

वडास्तरका सबै योजना महिलाको नेतृत्वमा सम्पन्न

मुसिकोट १ को उदाहरणीय कुरा : सबै योजना समयमै पुरा
बिहीबार, साउन ११, २०८०
tribeni2

रुकुम पश्चिम । विकास निर्माणका योजनाहरुमा महिला सहभागितालाई नामको मात्र बनाईएको गुनासो आईरहेको बेला रुकुम पश्चिमको एउटा वडाले भने सबै योजनाहरु महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ । 

योजना निर्माणको काममा महिलालाई सदस्य र कोषाध्यक्षमा मात्र सिमित बनाएर नाममात्रको सहभागिता देखाउने परिपाटीको अन्त्य गर्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ ले महिलाकै अगुवाईमा विकासका कामहरु सम्पन्न गरेको हो । 

यस वडाले आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गरेका सबै विकासका कामहरु महिलाकै नेतृत्वबाट सम्पन्न गरेको हो । वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले गत आर्थिक वर्षमा वडा कार्यालयबाट बिनियोजित बजेटमा भएका विकासे कामहरु महिलाको नेतृत्वमा निर्माण सम्पन्न गरिएको बताउनुभयो । वडा कार्यालयले गोरेटो बाटो, सडक, सामुदायिक भवन, प्रतिक्षालय, ट्रस निर्माण लगायतका योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको हो । 

Gyanu chand1690456521.jpg
वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द 


वडा अध्यक्ष चन्दका अनुसार विकासका कार्यमा महिलाको पहुँच, सशक्तिकरण र अवसरका लागि यस्तो कार्य गरिएको हो । उहाँले गत आवमा वडा क्षेत्रमा उपभोक्ता समिति मार्फत सम्पन्न भएका २१ वटा योजनाको नेतृत्व महिलाले गरेको बताउनुभयो ।

वडामा निर्वाचित जनप्रतिनिधिहरुले निर्णायक तहमा महिलाको सहभागिता बढाउनको लागि सबै उपभोक्ता समितिमा महिला अध्यक्ष र समितिमा महिलाको बाहुल्यता रहने गरेर सहमति गरिए अनुसार उपभोक्ता समिति निर्माण गरिएको हो । 

वडा कार्यालयको तथ्याङक अनुसार वडाबाट बिनियोजित ९८ लाख बजेटमा २० वटा योजना र प्रदेशबाट आएको १५ लाख बजेटमा निर्माण सम्पन्न भएको एक योजनाको निर्माण उपभोक्ता समितिमा महिलालाई नै अध्यक्ष बनाईएको हो । कतिपय योजनाको निर्माण समितिमा महिला मात्र पनि रहेका थिए । 

वडा अध्यक्ष चन्दले महिलाहरुको अगुवाईमा भएका यी सबै योजनाहरु समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले पुरुषहरुले योजनाको स्टिमेटमाथि प्रश्न गर्ने, गुनासो गर्ने, समयमा काम नगर्ने, यो वा त्यो बहाना गरेर पन्छिने गरेको बेलामा महिलाहरुले इमान्दारीताका साथ योजना सम्पन्न गरेको बताउनुभयो । सबै समितिले तोकिएको समय र बनाईएको लागत विवरण अनुसार काम गरेको उहाँको भनाई रहेको छ । 

photo (2)1690456505.jpg
महिलाको नेतृत्वमा बनाईएको घिमाने सामुदायिक भवन । 

वडा नम्वर १ को चौफारी–मुखियाटोल–काँडेदह पिसिसी गोरेटो बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रश्मी पुन केसीले समितिमा सबै महिलामात्र रहेको बताउनुभयो । महिलाहरुले पनि गर्न सक्छन् भन्ने गरेर उदाहरणिय काम गरेको उहाँले जनाउनुभयो । वडाको पाँच लाख बजेटमा तोकिएकै समयमा काम सम्पन्न गरेको केसीले उल्लेख गर्नुभयो । 

घिमाने सामुदायीक भवन निर्माण समितिका अध्यक्ष गीता खड्काले वडा कार्यालयले महिलाहरुलाई राम्रो अवसरको सिर्जना गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘हामीले बर्षौदेखि महिलाको नेतृत्व र निर्णायक तहको सहभागिता बारेमा बोलिरहेका थियौ, हाम्रो वडा सरकारले सुनुवाई गरेको महशुस भएको छ ।’ उहाँले पुरुषहरुको साथ र सरकारको सकारात्मक पहलले महिलाहरुमा हौसला थपेको जनाउनुभयो ।

यस अघि गाउँमा कुनै भेला, बैठक तथा छलफल गर्नुपरेमा खुला चौर अथावा व्यक्तिको घरमा बस्नुपर्ने बाध्यता रहेकोमा अब उक्त समस्या समाधान भएको छ । बैठक हल, कार्यालय कोठा, शौचालय सहित निर्माण सम्पन्न भएको सामुदायिक भवनमा टोलका ४२ घर लाभान्वित हुने बताईएको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा पनि वडा मार्फत हुने विकास निर्माणका योजनाहरुमा पनि महिलाकै नेतृत्व राख्न पहल गर्ने जनाएको छ ।  संविधानले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य गरेपछि विकास निर्माणका योजनाहरुमा महिला सहभागिता बढ्दै गएको हो । 
 

photo (1)1690456502.jpg
महिला नेतृत्वमा निर्माण गरिएको खालीबोट–साझाघारी सडक । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्