Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नाबालक दाजुभाई मिलेर आफ्नै सानीआमाको हत्या

खुर्पाले टाउको र घाटिमा हानेर मनकलाको हत्या
बिहीबार, साउन १४, २०७८
tribeni2

रुकुम पश्चिम, साउन १४ ।
घरको रिसीईवी साँधेर रुकुम पश्चिममा सहोदर दाजुभाई मिलेर आफ्नै सानीआमाको हत्या गरेको खुलेको छ ।

त्रिवेणी गाउँपालिका ४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका २ जना नाबालक भतिजालाई पक्राउ गरेको छ ।

बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका ४ का १५ र ११ बर्षका दुईजना नाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु सहोदर दाजुभाई हुन भने मृतक मनकला उनीहरुकी काईली सानीआमा हुन् । उनीहरुले घरेलु धारिलो हतियार खुर्पाले टाउको र घाटिमा हानेर मनकलाको हत्या गरेको पाईएको हो ।

बुधबार ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा प्रतिवादीद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले बताउनुभयो । उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहना समेत लिएको डिएसपी श्रेष्ठले बताउनुभयो । घरको रिसिईबि र परम्पराबादी सोचको कारण हत्या सम्मको अपराध गरेको बताईएको छ ।

उनीहरुका साथै १५ बर्षिय प्रतिवादीको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुलि १ थान र हसिँया (खुर्पा) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

साउन ११ गते सोमबार राती मनकलाको त्रिवेणी गाउँपालिका ३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको र खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल शव भेटिएको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीेले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्