Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मोटरसाईकल सानीभेरीमा खस्दा एक जनाको मृत्यु, एक जना घाईते

आइतबार, साउन १४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा मोटरसाईकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिकाको गारागाट सडकखण्डमा छिनखेतबाट पुरानो ठाँटिस्थित घरतर्फ जानेक्रममा मोटरसाईकल दुर्घटना हुँदा वडा नम्वर १० निवासी २४ वर्षिय नन्दलाल बिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शनिबार राती साढे नौ बजे बिकले चलाएको मोटरसाईकल अनियन्त्रित भई करिब डेढ सय मिटर तल रहेको सानीभेरी नदिमा खसेको थियो । रा ३ प २८६८ नम्वरको मोटरसाईकल सानीभेरीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार चालक बिक र मोटरसाईकल पछाडि सवार सोहि ठाउँका २३ वर्षिय कपिल बिकलाई दुर्घटनापश्चात अस्थायी प्रहरी पोष्ट छिनखेतबाट गएकाे प्रहरी टोलीले उद्धार गरेर जिल्ला अस्पताल सल्ले पठाएको थियो ।

जिल्ला अस्पताल पुर्याईएका चालक नन्दलाल बिकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले उल्लेख गर्नुभयो । अर्का घाईते कपिल बिकको भने जिल्ला अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्