Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

‘लम्पी स्किन’ महामारीबाट थप क्षति रोक्न संकटकाल घोषणा गर्नुपर्ने माग

तीनै तहका सरकारले पर्याप्त काम नगरेको आरोप
आइतबार, साउन १४, २०८०
tribeni2

रुकुम पश्चिम । पशुहरुमा महामारीको रुपमा फैलदै गएको ‘लम्पी स्किन’ रोग महामारीको रुपमा फैलिएको र भयावह क्षतिको अवस्था सिर्जना गरेकोले यस अवस्थालाई संकलकाल घोषणा गरिनुपर्ने माग राखिएको छ । 

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसियसनले देशभरबाट प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएर यस्तो माग राखेको हो । एशोसियसनका रुकुम पश्चिम जिल्ला अध्यक्ष शिवराज महताराले ७७ जिल्ला र प्रदेश कार्यसमितिले आज एकसाथ जिल्लाबाट प्रधानमन्त्री समक्ष उक्त ज्ञापनपत्र पठाईएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आईतबार रुकुम पश्चिमबाट पनि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उक्त ज्ञापनपत्र पेश गरिएको छ । अध्यक्ष महताराले ज्ञापनपत्रमा संकटकाल घोषणा सहितका विभिन्न ६ बुँदे माग राखिएको जानकारी दिनुभयो । 

लम्पी स्किन रोग नियन्त्रणका लागि ठोस योजनाका साथ खोपको व्यवस्था गरिनुपर्ने, रोग नियन्त्रण र उपचारका लागि पशु चिकित्सक र प्राविधिकहरुलाई सशक्त परिचालन गरिनुपर्ने माग रािखएको छ ।

त्यसैगरी उक्त रोग नियन्त्रण तथा उपचारका लागि बजारमा औषधि अभाव रहेकोले उपलब्ध गराउनुपर्ने, बिमा गरिएका पशुहरुको बिमा वापतको क्षतिपूर्ति उपलब्ध गराईनुपर्ने र लम्पी स्किन रोगबाट क्षति बेहोरका पशुपालक किसान तथा व्यवसायी लक्षित राहत कार्यक्रमको माग ज्ञापन पत्रमा राखिएको छ । 

पशु अस्पताल तथा पशु सेवा कर्यालय रुकुम पश्चिमका अनुसार यो रोग फैलिए यता रुकुम पश्चिममा मात्र ५२० वटा पशु चौपाया मरेका छन् भने १७ हजार ६७० वटा पशुवस्तु संक्रमित भएका छन् । हालसम्म जिल्लाका एक हजार १७५ वटा पशुचौपायामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाईएको छ । 

तीनै तहका सरकारले पर्याप्त काम गरेनन्

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसियसनका केन्द्रीय सदस्य रिम बहादुर खड्काले देशका ७७ वटै जिल्लामा लम्पी स्किन फैलिएको र ५० हजार बढी पशु चौपायाको मृत्यु भएको बताउनुभयो । करिब ११ लाख पशुहरु संक्रमित भएकोले यो अवस्था थप भयावह बन्ने उहाँको भनाई रहेको छ ।

केन्द्रीय सदस्य खड्काले एशोसियसनमा आवद्ध करिब ३० हजार प्राविधिकहरु लम्पी स्किन रोग नियन्त्रण तथा उपचारका लागि युद्धस्तरमा खटिरहेको जानकारी दिनुभयो । उहाँले महामारीको रुपमा फैलिएको यो रोग विरुद्ध तीनै तहका सरकारले पर्याप्त कार्य नगरेको आरोप लगाउनुभयो ।  

यस रोगका कारण दुध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउनुका साथै गर्भ तुहिने, प्रजनन कार्यमा समस्या आउने, मृत्यु हुने हुँदा किसानहरुले ठुलो क्षति बेहोर्नु परेको एशोसियनको ठहर रहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्