जाजरकोटका कर्मचारीहरुद्वारा चौरजहारीमा रक्तदान

सोमबार, साउन १५, २०८०

जाजरकोट । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति जाजरकोटले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

संगठनले आज रुकुम पश्चिमको चौरजहारीमा नेपाल रेडक्रस सोसाईटी चौरजहारीद्वारा सञ्चालित ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

संगठनका केन्द्रिय सदस्य तुलाराम गिरीका अनुसार शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध ६ जना कर्मचारीहरुले रक्तदान गरेको केन्द्रीय सदस्य गिरीले बताउनुभयो । चौरजहारीमा साउन १ गतेबाट सुरु भएको ब्लड बैंकले जाजरकोट, रुकुम पश्चिम, सल्यान, रुकुम पूर्व, डोल्पा लगायतका जिल्लाका बिरामीहरुको लागि सेवा दिने भएकोले जाजरकोटबाट चौरजहारीमा आएर रक्तदान गरिएको संगठनले जनाएको छ । 

विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगु जिल्लाका सुरेन्द्र बि.क.को सम्झनामा हरेक वर्षको साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले शहिद स्मृति दिवस मनाउँदै आएको छ । तीनै जना शहिदहरुलाई सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा समेत गरेको छ । 

रक्तदान गर्ने रक्तदाताहरुलाई ब्लड बैंकको तर्फबाट नेपाल रेडक्रस सोसाईटी चौरजहारीले सम्मान समेत गरेको रेडक्रस सोसाइटी चौरजहारीका कोषाध्यक्ष गोपाल लामिछानेले जानकारी दिनुभयो । 

362269606_9664169940323675_6877130327598353461_n1690780735.jpg

359421998_1024889328669916_209635045210910111_n1690780727.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्