सोसल मिडिया
रुकुम पश्चिम । पार्टीको आन्तरिक बिशेष अभियान कार्यक्रम लिएर नेपाली काँग्रेस रुकुम पश्चिमले गाउँ गाउँमा जान थालेको छ ।
केन्द्रीय कार्यालयले राष्ट्रव्यापी रुपमा सञ्चालन गर्न लागेको उक्त अभियान अन्तर्गत मंगलबारबाट रुकुम पश्चिममा कार्यक्रम सुरु गरिएको छ ।
उक्त अभियानबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य कर्ण बहादुर बुढाले केन्द्रीय समितिको साउन २ गते देखि १० गते सम्म बसेको बैठकको निर्णय अनुसार रुकुम पश्चिममा अभियान सञ्चालन हुन थालेको बताउनुभयो । यस अभियानले थप व्यवस्थित र बलियो नेपाली काँग्रेस हुने उहाँले उल्लेख गर्नुभयो ।
३० गतेसम्म पहिलो चरणका सबै कार्यक्रम सकेर जिल्लामा समिक्षा गर्ने र सोहि अनुसारको प्रतिवेदन केन्द्रलाई पेश गरिने उहाँले जनाउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले आज देखि पालिका अनुसार अभियान सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार २३ गते मुसिकोट नगरपालिमा, २४ गते चौरजहारी नगरपालिकामा र २५ गते त्रिवेणी गाउँपालिकामा उक्त अभियान अन्तर्गतका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो । त्यसैगरी २६ गते बाँफिकोट गाउँपालिका, २७ गते सानीभेरी र २८ गते आठबिसकोट नगरपालिकामा आन्तरिक बिशेष अभियान कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त असरमा पार्टीको आन्तरिक समस्याहरु समाधानका लागि छलफल हुने, रिक्त रहेका वडा तथा पालिका समितिको पद पुर्ति गरिने, कार्यकर्ताहरुका गुनासो सुनुवाई गरिने, क्रियाशिल सदस्यहरुको अवस्था जानकारी हुने लगायतका कार्यक्रम हुनेछन् ।
त्यसैगरी परोपकारी कार्यका लागि गाउँ सेवा दल समेत गठन गरिने सभापति ओलीले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहले गाउँमा सत्ता गठबन्धनको अवस्था र कार्यकर्ताको मनोभावना बुझ्ने काम हुने बताउनुभयो । उहाँले जिल्लामा गठबन्धन दलका बिचमा भएको समझदारी पालना नभएको आफ्ना कार्यकर्ताहरुबाट गुनासो आईरहेको हुनाले त्यस बिषयमा पनि स्थानीयस्तरमै पुगेर प्रष्टता हुने उहाँको भनाई छ ।