लुम्बिनीका मुख्यमन्त्री पोखरेल बिरुद्ध अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी

इप्रका बुटवलमा दिएको उजुरी जिप्रका दांग पठाईयो
काठमाडौं, भदौ ३०

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिनुभएकोछ ।

प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिनुभएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको जानकारी दिनुभयो । कुँवरले भन्न्ुभयो, ‘सोमबार उहाँहरूले निवेदन लिएर आउनुभएको थियो । घटना दाङमै भएकाले उतै पठाएको छौं ।’
निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला वली प्रहरी कार्यालय पुगेको बताईएको छ ।

दाङका प्रहरी प्रमुख सुरेन्द्र काफ्लेले अझैसम्म उजुरी जिल्ला आइनपुगेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफूलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाउनुभएको छ । बुटवल प्रहरीले भने, घटनास्थल दाङ भएकोले त्यहीँबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।

सूर्य चिह्नबाट निर्वाचित वलीले नेकपा एकता भंग भएपछि माओवादी केन्द्र रोज्नुभएको थियो । यसअघि राजनीतिक विषय भएकाले उजुरी नदिने बताउँदै आएकी वलीले घटनाको डेढ महिनापछि उजुरी दिनुभएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीले अपहरण तथा शरीर बन्धकविरुद्ध सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी बुझाएको बताउनुभयो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

विमला पछिल्लो केही महिनायता कहिले एमाले त कहिले माओवादी भनेर चर्चामा रहँदै आउनुभएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्