सोसल मिडिया
रुकुम पश्चिम । चर्चित लोक गायक रोशन सिंह सम्मानित हुनुभएको छ । बिहिबार संगीतकार, गीतकार तथा गायक सिंहलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सम्मान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत उहाँलाई सम्मान गरिएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका १ का स्थायी बासिन्दा सिंह जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको रुपमा आएको मौकामा स्वागतसँगै सम्मान गरिएको प्रजिअ पन्तले उल्लेख गर्नुभयो ।
रुकुममा जन्मेर गीत र संगीतको क्षेत्रमा सिंहले पुर्याउनु भएको योगदानको उच्च प्रशंसासहित सम्मान गरिएको हो । उहाँलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।
राष्ट्रिय कलाकारको रुपमा ख्याती प्राप्त गर्नुभई जिल्ला र समग्र राष्ट्रको शीर उच्च राख्न सिंह सफल हुनुभएको प्रजिअ पन्तको भनाई रहेको छ ।
सिंहका ऐना टलल, कस्ती थिए कस्ती भए, उसैलाई सम्झिरुदै छु, पिपल छेउमा बर, तिमी बिना जीन्दगी लगायतका दर्जनौ गीतहरु चर्चित रहेका छन् । रोशन सिंह युटुब च्यानलमा पनि उहाँका गीतहरु सुन्न र हेर्न सकिन्छ ।