Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लेकमा आधुनिक घट्ट निर्माण हुँदा गाउँवासी खुसी

आइतबार, साउन २८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ तिमिलेमा आधुनिक घट्ट निर्माण हुँदा गाउँवासीहरु खुसी भएका छन् । चौरजहारी नगरपालिका १४ र सानीभेरी गाउँपालिका १० को लेक बस्तीका स्थानीयलाई सेवा दिन एक युवाले बिद्युतिय घट्ट निर्माण  गर्नुभएको हो । 

घट्ट निर्माणपछि गाउँमा उत्पादन भएको गहुँ, मकै, जौ पिस्न लेकबाट खोलातिर पानी घट्ट जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय खुसी भएका हुन् । चौरजहारी नगरपालिका १४ का दिपक ओलीले बिद्युतिय आधुनिक घट्ट निर्माण गर्नुभएको हो । 

चौरजहारी नगरपालिका १४ का ९० वर्षे जेष्ठ नागरिक अहिभान खड्काले गाउँमा सडक, खानेपानी, बिद्युतसँगै पानी घट्ट पनि निर्माण हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो । "हाम्रा पालामा घट्ट पिस्न अँध्यारे र सेती गार जानूपर्ने, सकि नसकि १०,१५ पाथी अन्न भारी बोकेर जानपुर्ने, ल्याउनुपर्ने बाध्यता रहेको थियो," खड्काले भन्नुभयो, "अब भने घरछेउमै त्यो सुविधा आईपुगेको छ ।" 

गाउँमा बिद्युत सेवा पुगेपछि आधुनिक घट्ट निर्माण गरेको दिपक ओलीले बताउनुभयो । उहाँले युवाहरु विदेशीने बेला गाउँमा केही न केही उद्यम गरेर जीवनलाई खुसी बनाउनुपर्ने बताउनुभयो । पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजनाका चौकीदार समेत रहनुभएका ओली आइएस्सी अध्ययनपछि विभिन्न पेसामा संलग्न हुनुहुन्छ । 

ओलीले करिब दुई लाख लगानी गरेर गाउँमा आधुनिक घट्ट निर्माण गरेको बताउनुभयो । अब गाउँमा दुई, तीन घण्टाको बाटो हिडेर, अन्न बोकेर टाढा जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको बताईएको छ । यसले समयको समेत बचत गर्नेछ । घट्ट निर्माणका सामाग्रीहरु बुटवलबाट ल्याईएको ओलीले जनाउनुभएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्