Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका विभिन्न क्षेत्रमा एक वर्षमा सवा एक लाख विरुवा रोपिए

सात हजार ८२३ वटा बिरुवा निशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदानमा वितरण
आइतबार, साउन २८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका विभिन्न स्थानहरुमा बितेको आर्थिक वर्ष ०७९/८० मा सवा एक लाख बढी विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुम पश्चिमले निशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ विरुवाहरु गत वर्ष रोपिएका हुन् । 

कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार सात हजार ८२३ वटा बिभिन्न प्रजातिका बिरुवाहरु निशुल्क रुपमा वितरण गरेर रोपिएको हो भने एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदानका कार्यक्रम अन्तर्गतबाट वृक्षारोपण गरिएको हो । 

निशुल्क रुपमा वितरण गरिएका विरुवाहरु विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वनको क्षेत्रमा वृक्षारोपण गरिएको बताईन्छ । कार्यालयले कपुर, बेल, गोलमोहर, लप्सी, कल्की, सिसौ, बकाईनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लो लगायतका विरुवाका प्रजातीका बिरुवाहरु निशुल्क रुपमा वितरण गरेको थियो । 

त्यसैगरी कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत एक लाख नौ हजार ९१८ वटा विरुवा अनुदानमा वितरण गरेको जनाएको छ । जडिबुटी विकास कार्यक्रम अन्तर्गत जिल्लाभर विभिन्न २३ वटा निजी तथा सामुदायिक वन उपभोक्ता समुहले ५५ हजार ६३३ वटा विरुवा रोपेका छन् भने महिला कृषि वन कार्यक्रम अन्तर्गत नौ वटा निजी फर्मले २९ हजार सात सय वटा विरुवा वृक्षारोपन गरेका छन् । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार जडिबुटी विरुवा उत्पादन तथा खेती बिस्तार कार्यक्रम अन्तर्गत छ वटा नीजी फर्मले १७ हजार सात सय वटा विरुवा रोपेका छन् भने पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार कार्यक्रमबाट एक वटा सामुदायिक वन उपभोक्ता समुह र एक निजी फर्मले पाँच हजार नौ सय वटा विरुवा रोपेका छन् । त्यसैगरी निजी वन प्रवद्र्धन कार्यक्रमबाट दुई वटा निजी फर्मले ९८५ वटा विभिन्न प्रजातीका विरुवाहरु रोपका छन् । 

अनुदान कार्यक्रमबाट टिमुर, दाँते ओखर, तेजपात, लौठ सल्लो, अलैची, काउलो, चिउरी, केशर, डालेचुक, पदमचालका विरुवा रोपिएको हो । त्यसैगरी रिठा, रोजमेरी, राईखन्यु, किम्बु, सिसौ, ईपिलईपिल, कुिरल्लो, डालेघाँस लगायतका अन्य विरुवा विभिन्न स्थानमा रोपिएको बताईन्छ । 

अनुदान कार्यक्रम सञ्चालनका लागि गरिएको सम्झौता अनुसार अनुदानग्राहीहरुले आफैले बिरुवा खरिद गरेका हुन् भने निशुल्क रुपमा वितरण गरिएका विरुवा वन कार्यालयले किनेर वितरण गरेको हो । जिल्लाका विभिन्न २१ वटा स्थानमा रहेका नर्सरीहरुले विरुवा उत्पादन गरिरहेका छन् । ती नर्सरीहरुमा रहेका विरुवाले मात्र नपुगेपछि रुकुम पूर्वको चुन्वाङ र दाङ जिल्लाबाट विरुवाहरु खरिद गरिएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्