रुकुमकाे सल्लेमा एउटै महिलाले दुई महिलाको हत्या गरेको खुलासा !

दुबै घटनामा गहना र पैसा लुट्ने मुख्य उद्धेश्य
सोमबार, साउन २९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा एउटै महिलाले दुई महिलाको 'हत्या' गरेको खुलासा भएको छ । 

गत साउन १८ गते हत्या गरिएकी ५२ बर्षिया हस्तकली बुढाथोकी र २०७५ असार १० गते हत्या गरिएकी ४६ वर्षिया आईती बुढाको हत्या सोहि गाउँकी एक महिलाले गरेको प्रहरीले दाबी गरेको छ । दुबै महिलाको हत्या २३ वर्षिया सिर्जना बुढा बोहराले गरेको प्रहरीले जनाएको छ । 

गत बिहिबार हस्तकलीको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि आईतीको हत्या गरेको आरोपीले स्विकार गरेको बताईएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार हस्तकली बुढाथोकी र आइती बुढाको हत्या सिर्जनाले नै गरेको अनुसन्धानबाट खुलेको हो । पाँच वर्ष अघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपी सिर्जनाले प्रहरी समक्ष दिएकाे बताइएकाे छ । 

डिएसपी भट्टराईले आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेका प्रमाणहरुले पनि सिर्जनाले दुई जनाको हत्या गरेको खुल्न आएको बताउनुभयो । 

दुबै घटनामा पैसा र गहना लुट्ने उद्धेश्य

प्रहरीले दुबै महिलाको हत्याको उद्धेश्य र प्रकृति एउटै रहेको जनाएको छ । गहना र पैसा लुट्ने उद्धेश्यले सिर्जनाले हस्तकली र आईतीको हत्या गरेकी हुन् ।

गत बिहिबार राती हस्तकलीलाई रक्सी खुवाएपछि लठ्ठ परेर सुतेको अवस्थामा ढुङगा (लोेरो) ले कञ्चटमा हानेर हत्या गरेपछि सिर्जनाले मोबाईल, नगद रुपिँया र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिईन् । 

डिएसपी भट्टराईले भन्नुभयो, “ठिक यस्तै उद्धेश्य र प्रकृतिबाट पाँच वर्ष अघि पनि महिलाको हत्या गरेको पाईयो ।” त्यो बेला हिमचिम बढाएर सँगैसुतेकी आईतीलाई सिर्जनाले सुरुमा चौखी (पिर्का) ले टाउकोमा प्रहार गरेकी थिईन् । बेहोसीमा रहेकी आईतीले प्रतिकार गर्न खोजेपछि सिर्जनाले खाटमुनि रहेको बञ्चरो र बाउसो निकालेर अन्धाधुन्द प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ ।

हत्या लगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर सिर्जना राती नै आफ्नो घर गएकी थिईन् । आईतीको शव १२ गतेमात्र पत्ता लागेको थियो । 

गत बिहिबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राती मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा महिला मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठ अनुसन्धान अधिकृत रहेको प्रहरी टोली र प्रहरी बरिष्ठ नायब निरिक्षक नारायण प्रसाद शर्माको नेतृत्वमा रहेको बिशेष प्रहरी टोली घटनाको अनुसन्धान गरेको थियो । सोहि टोलीको बिशेष अनुसन्धानले हत्या आरोपी पत्ता लगाउन प्रहरी सफल भएको हो । 

अनुसन्धान टोलीका अनुसार सकभर रगत ननिकालेर हत्या गरेमा पक्राउ पर्नबाट जोगिन सक्ने मनस्थितिको कारण बोहराले टाउकोमा ढुङगा र पिर्खाले थिचेको पाईएको छ । झरिको बेलामा घटना भएमा प्रमाण मेटिने र कोठा बन्द गरिदिएमा केहि दिन पत्ता नलाग्ने भएकोले यस्तो समयमा घटना घटाएको सिर्जनाले प्रहरी टोलीसँग बयान दिएकीछिन् । प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्रव शिर्षकमा मुद्धा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

यसका साथै हत्या गरिएका दुबै जनाको गहना ल्याएर सिर्जनाले खलङगा बजारमा रहेका दुई वटा सुनचाँदि पसलमा बिक्रि गरेको समेत प्रहरीले पत्ता लगाएको छ । बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ ।

राप्ती सुनचाँदी पसलका शोभा कुमारी सुनार सोनी र नारायणी सुन चाँदी पसलका कृष्णबहादुर बिश्वकर्मा लाई प्रहरीले पक्राउ परेको हो । पक्राउ परेका तीनै जनालाई अदालतबाट सात दिनकाे म्याद थप गरेर घटनाको थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । 

हस्तकलीको हत्या गरेर सिर्जनाले एक थान मोबाईल, एक थान पोते, एक थान सुनको सिक्रि, एक थान तिलहरी, एक जोडि कानबाली र एक थान चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । यसका साथै प्रहरीले रगत लागेको अवस्थामा रहेको ढुंगा समेत बरामद गरेको छ । पाँच वर्ष अघि आईतीको हत्या गरेर सिर्जनाले कानबाली निकालेर बिक्रि गरेकी प्रहरीको भनाई रहेको छ ।  

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्