Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका सामुदायिक वनमा सुशासनको लागि दुई महिने अभियान

सामुदायिक वनको सक्रियता र पारदर्शितामा जोड 
शुक्रबार, भदौ ८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका सामुदायिक वनहरुमा सुशासन लक्षित गतिविधिहरु सञ्चालन भईरहेका छन् । डिभिजन वन कार्यालय रुकुम पश्चिमले सञ्चालन गरेको “सामुदायिक वनमा सुशासन कार्यक्रम” अन्तर्गत विभिन्न कार्यहरु धमाधम भएका हुन् ।

कार्यालयका निमित्त डिभिजन प्रमुख शेरबहादुर परियारले जिल्लाका ३८६ वटा सामुदायिक वनमा सुशासन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । भदौ १ गते देखि उक्त कार्यक्रम सुरु भएको हो ।

यस कार्यले दर्ता भएर निश्क्रिय अवस्थामा रहेका वन समुहरु सक्रिय हुने र बेला बेलामा अपारदर्शिताको सवालहरु आउने भएकोले त्यसलाई निराकरण गर्न सकिने निमित्त प्रमुख परियारले जनाउनुभयो । उहाँका अनुसार वन समुहको संस्थागत सुधार र बलियो संरचनाको लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । 

उक्त कार्यक्रम अन्तर्गत वडास्तरमै सामुदायिक वन उपभोक्ता समुहको वार्षिक लेखा परिक्षण, वार्षिक प्रगति प्रतिवेदन, म्याद समाप्त भएका सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना नविकरणका कार्यक्रम हुने गरेका छन् ।

त्यसका साथै सामुदायिक वन उपभोक्ता समुहको अभिलेख व्यवस्थापन, समुहहरुको आमभेला तथा अवधि सकिएकाको हकमा कार्यसमिति पुनर्गठन लगायतका कार्यक्रम सञ्चालन भईरहेको निमित्त प्रमुख परियारले जानकारी दिनुभयो ।

सामुदायिक वनमा सुशासन कार्यक्रम कार्यान्वयनका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सरोकारवाला सहितको टोली जिल्लाका प्रत्येक वडामा खटिएको छ । डिभिजन वन कार्यालयका १२ जना कर्मचारी, वन सहजकर्ता, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिसहित २५ जनाको टोली अहिले जिल्लामा रहेका चार वटा सव डिभिजन कार्यालय मार्फत परिचालन भएका छन् । 

अहिले चौरजहारी नगरपालिकाको वडा नम्वर १ र २ मा र मुसिकोटको वडा नम्वर ४ मा औपचारिक रुपमा उक्त कार्यक्रम सञ्चालन भईरहेको छ ।

369656595_249091608086437_8679104862318901450_n1692955659.jpg
चौरजहारी नगरपालिका वडा नम्वर १ मा सञ्चालित कार्यक्रम । 

सव डिभिजन वन कार्यालय तथा वडा कार्यालयहरुमा सम्पर्क गरेर वन समितिहरुले उक्त कार्यक्रमलाई सहयोग गरिरहेका छन् । सूचना अनुसार सम्पर्कमा नआउने र तोकिएका कागजात नबुझाउने समुहलाई कारबाहि हुने समेत कार्यालयले जनाएको छ ।  

सुशासन अभियानकै रुपमा चलाईएको यो कार्यक्रम भदौ र असोज महिनाभर चल्ने बताईन्छ । जिल्लाका ७३ वटै वडामा पुगेर वन व्यवस्थापन अन्तर्गतको मुख्य अंग सुशासनको पाटोलाई जोड दिईएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन कार्यालयले सामुदायिक वन समुहको राजश्व, आयव्ययको पारदर्शिता लगायतका बिषयमा चासो दिएपछि पछिल्लो समय वन समुहमा राजश्व बृद्धि भएको छ । त्यसैगरी केहि वन समुहहरुले सामुदायिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगका कार्यक्रम समेत सम्पन्न गरेका छन् ।

368340440_249098508085747_6955331797884380977_n1692955656.jpg
मुसिकोट नगरपालिका वडा नम्वर ४ मा सञ्चालित कार्यक्रम । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्