नेभिगेशन
राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

काठमाडौं। विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा क्यानडा पठाउने भन्दै पाँच लाख ४५ हजार रुपियाँ ठगी गर्ने नवलपरासी घर भइ हाल टोखा नगरपालिका ३ बस्ने ३० वर्षिय समिर आले मगर रहेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार महेश पौडेलसमेत दुई जनालाई क्यानडामा पुगेपछि मासिक तलव दुई लाख रुपियाँ हुन्छ भनी विश्वास देखाइ प्रलोभनमा पारी पटक-पटक गरी सो रकम लिइ मगर सम्पर्कविहिन भएका हुन्। उनले क्यानडा जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने समेत बताउने गरेको जनाइएको छ। 

यस्तै, क्रोएसिया पठाउने भन्दै दुई लाख रुपियाँ ठगी गर्ने स्थायी घर रामेछाप भएका हाल गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ। 

सुनुवारले क्रोएसिया जान सात लाख ५० हजार रुपियाँ लाग्ने र पुगेपछि मासिक एक लाख रुपियाँ भन्दा धेरै मासिक तलव हुने प्रलोभनमा लक्ष्मण हमालबाट सो रकम लिइ सम्पर्कबिहीन भएका थिए। 

त्यसैगरी नेदरल्याण्ड पठाउने भन्दै तीन लाख ४५ हजार रुपियाँ रकम लिइ सम्पर्कबिहीन भएका स्थायी घर पोखरा भइ हाल ललितपुर बस्ने ४० वर्षीया तारा गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार गुरुङले नेदरल्याण्डको सुपरमार्केटमा मासिक तलव एक लाख रुपियाँ हुन्छ भनी पीडित रविन चौधरीबाट सो रकम लिएका थिए।  कुवेत पठाउने भनेर एक लाख ९४ हजार रुपियाँ ठगी गर्ने सल्यान घर भइ हाल भक्तपुर बस्ने ५१ वर्षीय जगतबहादुर खड्काललाई प्रहरीले पक्राउ गरेको छ।

कुवेत जान दुई लाख रुपियाँ लाग्ने र पुगेपछि मासिक तलब ५० हजार रुपियाँभन्दा धेरै हुन्छ भनी दीलिप विष्टबाट सो रकम लिइ सम्पर्कविहिन भएका थिए। 

ठगी गर्ने चार जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। - गाेरखापत्रबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्