Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हावाहुरीले मकैबालीमा बढी क्षती, विवरण संकलन सुरु

किसानहरुद्वारा स्थानीय सरकारसँग राहतको माग
सोमबार, भदौ १८, २०८०
tribeni2

रुकुम पश्चिम । आईतबार दिउँसोबाट आएको हावाहुरीसँगैको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा ठुलो मात्रामा क्षती गरेको छ । हावाहुरीको कारण भित्र्याउने अवस्थामा रहेको मकैखेतीमा बढी मात्रामा क्षती भएको बताईएको छ । 

मकै खेतीमा व्यापक क्षती भएकोले यकिन तथ्याङक संकलनको काम सोमबारबाट नै सुरु गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत तीन दिन भित्रमा क्षतीको विवरण संकलन गरेर पठाउन निर्देशन गरे अनुसार आजै जिल्लाका ६ वटै पालिकाहरुमा प्राविधिक टोलीहरु पठाईएको केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आईबारको हावाहुरीले मकैबालीमा गरेको क्षतीको कारण उत्पादनमा निकै कमी आउने देखिन्छ । उहाँले जिल्लाको चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिका क्षेत्रमा सबैभन्दा बढी मात्रामा क्षती गरेको सूचना आएको उल्लेख गर्नुभयो ।

तुलनात्मक रुपमा चौरजहारी र आठविसकोट नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा बढी क्षती भएको छ भने मुसीकोट नगरपालिका क्षेत्रमा कम क्षती भएको आँकलन कृषि विकास कार्यालयले गरेको छ । सबै पालिका क्षेत्रमा लगाईएको मकैबाली केहि दिनमै ढल्याउने तयारीमा किसानहरु रहेका थिए ।
 
मकै घर ल्याउन तयारीमा रहेको बेलामा हावाहुरी र पानीले बिगारेको भन्दै किसानहरु चिन्तित बनेका छन् । आठविसकोट नगरपालिका -१४ का किसान खम्बु मल्लले पाक्ने बेलाको मकै भाँचिएपछि के खाने भनेर पीर पर्ना थालेको बताउनुभयो ।

उहाँका अनुसार आठविसकोट नगरपालिकाको वडा नम्वर १३ र १४ मा मात्र करिब २६० घरपरिवारले १५० बिघा जग्गामा लगाएको मकैबाली हावाहुरीले ढालेको छ । यसका साथै किसानहरुले स्थनीय सरकारबाट राहतको आशा गरेका छन् । 

मकैबालीका साथै विभिन्न स्थानमा रहेका घर र गोठहरुमा समेत क्षती भएको छ । चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले नगरका अधिकांश भागमा रहेका किसानका गोठ र केहि स्थानका घर समेत हावाहुरीसँगैको पानीले भत्काएको बताउनुभयो ।

“बालीनाली झन् ध्वस्त नै बनायो”, नगर प्रमुख बादीले भन्नभुयो, “वडा वडाबाट क्षतीको विवरण संकलन गर्दैछौ, बिद्युत लाईन समेत अवरुद्ध भएकोले सबै वडामा समन्वय र सम्पर्क समेत हुन सकिरहेको छैन ।” विवरण यकिन भएमा क्षतीपूर्तिको प्रक्रियामा जाने समेत उहाँको भनाई रहेको छ । 

आठविसकोट नगरपालिका प्रमुख रबि केसीले विपद्ले किसानको मकै बालीमा पुर्याएको क्षतीको मूल्यांकन गरेर राहत उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नगरपालिकाभर करिब तीन हजार हेक्टर जमिनमा लगाईएको मकैखेतीमा क्षती पुगेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्