Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोलाले बगाएर मृत्यु भएका दाजुबहिनीको परिवारलाई नगरपालिकाद्वारा २५ हजार किरियाखर्च सहयोग

मंगलबार, भदौ १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा गत आईतबार बिद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर ज्यान गुमाएका बालबालिकाको परिवारलाई चौरजहारी नगरपालिकाले किरियाखर्च प्रदान गरेको छ । 

चौरजहारी नगरपालिका वडा नम्वर ६ निवासी रत्न बुढाथोकीका १० वर्षिय छोरा मनोज र ६ वर्षिया छोरी भावनाको घर फर्कने बेला खोलाले बगाएर मृत्यु भएको थियो । बुढाथोकी दम्पतीका भएका दुई सन्तान नै घर नजिकैको खोलाले बगाउँदा मृत्युभएपछि परिवारमा बज्रपात भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकोले स्थानीय सरकारले काजकिरिया खर्च सहयोग गरेको नगर प्रमुख पुष्प बादीले बताउनुभयो । 

उहाँका अनुसार सोमबार बेलुका मृतकहरुको दाहसंस्कारपछि घाटमै पीडित परिवारलाई २५ हजार रुपियाँ सहयोग गरिएको हो । यसले सामान्य रुपमा राहत हुने विश्वास लिईएको नगर प्रमुख बादीले जनाउनुभयो । थप राहतको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत उहाँले उल्लेख गर्नुभयो । 

372812114_3024850434332934_5432042713184744032_n1693883967.jpg

चौरजहारी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जय प्रकाश बोहराले मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेकोले राहतको लागि तीनै तहका सरकारलाई आग्रह गर्नुभयो । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजान समेत आर्थिक समस्या भएपछि वडा कार्यालयको सहयोगमा गाडिको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अप्रत्याशित रुपमा आएको खहरे खोलाले एकै परिवारका दुई सन्तानको ज्यान लिएपछि वडा नै शोकमा रहेको उहाँले उल्लेख गर्नुभयो । 

पढ्न भनेर सधै झै घरनजिकैको बिद्यालयमा गएका दाजुबहिनीलाई आईतबार दिउँसो घर नजिकैको न्याउँला ठाडोखोलाले बगाएर मृत्यु भएको थियो । दिउँसो ४ बजेतिर परेको ठुलो हावाहुरीसहितको पानी परेको बेला आएको बर्षे खोलाले दाजु बहिनीलाई बगाएको थियो । 

दुबै जना दाजु बहिनी गाउँकै आधारभूत बिद्यालय घर्तीकाँडामा अध्ययनरत रहेका थिए । दाई मनोज कक्षा ३ मा र बहिनी भावना कक्षा १ मा अध्ययनरत रहेको बताईन्छ । उनीहरुलाई बगाएको न्याउँला ठाडोखोला घरभन्दा तीन सय मिटर र बिद्यालयभन्दा १.५ किलोमिटरको दुरीमा रहेको छ । 

खोलाले बिद्यार्थी बगाएको सूचना लगत्तै पुगेका स्थानीय, शिक्षक र प्रहरीसहितको टोलीले सोहि दिन बेलुका दुवैजनाको शव फेला पारेको थियो । मनोजको शव बगाएको स्थानभन्दा १५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला पारिएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्