कामदार बोकेको ट्याक्टर मुसिकोटको खरखरेमा दुर्घटना, ६ जना घाईते

शुक्रबार, भदौ २२, २०८०

रुकुम पश्चिम । बिहिबार राती रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ३ स्थित खरखरेमा ट्याक्टर दुर्घटना भएको छ ।

मुसिकोटबाट चौरजहारी जाँदै गरेको भे २ त १४६१ नम्बरको ईन्जिन मात्र भएको ट्याक्टर राती साढे ११ बजे दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा रहेका ६ जनानै घाईते भएका छन् । घाईते हुनेहरुमा चौरजहारी नगरपालिका १ का २४ बर्षिय ट्याक्टर चालक निर्मल थापा, सोहि ठाउँका २२ वर्षिय पारस बिष्ट रहेका छन् ।

त्यसैगरी उदयपुर जिल्लाको गडि गाउँपालिका ५ का २१ वर्षिय कृष्ण मगर, सोहि ठाउँका २१ वर्षिय पेशल मगर, २३ वर्षिय सुशिल राई र २१ वर्षिय सागर घाईते भएका रहेका छन् । 

घाईतेहरु चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरु हुन् । उनीहरुलाई लिएर चौरजहारीतर्फ जाँदै गरेको ट्याक्टर मध्यपहाडि राजमार्ग अन्तर्गतको खरखरे खण्डनेरबाट करिब १५० मिटर तल खसेको बताईएको छ । 

दुर्घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र अस्थायी प्रहरी पोष्ट बागबजारबाट पुगेको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेको थियो । घाईतेहरुको उपचार अहिले जिल्ला अस्पताल सल्लेमा भईरहेको छ ।

घाईते मध्य पारस बिष्ट र कृष्ण मगरको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्