Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय तहका कर्मचारीहरुद्वारा कालोपट्टि बाँधेर निजामती सेवा दिवसको बिरोध

शुक्रबार, भदौ २२, २०८०
tribeni2

रुकुम पश्चिम । संघीय कार्यालय अन्तर्गतका कर्मचारीहरुले निजामती सेवा दिवस मनाईरहेको बेला आज रुकुम पश्चिममा स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवसको बिरोध गरेका छन् । 

उनीहरुले दिवस नमनाउने भन्दै कालोपट्टि बाँधेर बिरोध जनाएका हुन् । आठविसकोट नगरपालिकाका प्रशासन शाखा प्रमुख जंगबहादुर थानीका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र बृत्ति विकास सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीको परिभाषामा नसमेटिएकोले दिवसको बिरोध गरिएको हो ।

कर्मचारी बिच विभेद भएकोले निजामती दिवस मनाउन उपयुक्त नठानेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भनाई रहेको छ । स्थानीय तहका कर्मचारीहरुलाई निजामतीको परिभाषामा नसमेटिएसम्म दिवस नमनाउने निर्णय स्थानीय तहका कर्मचारीहरुको रहेको बताईन्छ ।

आज दिनभर कालोपट्टि बाँधेर बिरोध जनाउने कार्यक्रम रहेको मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । पालिकाको सेवा प्रवाहमा भने कुनैपनि अवरोध नहुने जनाईएको छ । 

373450275_1330195387583553_8116476794623870256_n1694155722.jpg
कालोपट्टि बाँधेर बिरोधमा उत्रिएका मुसिकोट नगरपालिकाका कर्मचारीहरु । 

जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारीहरु आज निजामती सेवा दिवसको बिरोधमा रहेका छन् । उनीहरुले संघीय निजामती सेवा ऐनको साटो एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग राखेका छन् । 

सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, चक्रिय प्रणालीको आधारमा सरुवा प्रणाली हुनुपर्ने, प्रमुख प्रशासकिय अधिकृतमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी हुनुपर्ने, तीनै तहका कर्मचारीहरुको बृत्ति विकास समान हुनुपर्ने लगायतका माग स्थानीय तहमा कार्यरत कर्मचारीहरुको रहेको छ । 

त्यसैगरी स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, उमेर हद हटाउनुपर्ने, कर्मचारी समायोजनका क्रममा मर्कामा परेका कर्मचारीहरुलाई पुनरावलोकनको व्यवस्था सहित अन्तर सरुवाको व्यवस्था हुनुपर्ने लगायतमा माग उनीहरुका रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्