सोसल मिडिया
दाङ्ग जिल्लामा जन्मिएको भएपनि बाटोमा सुन्दर सुदुरपश्चिम लेखिएका गाडिहरु गुड्दा टक्क उभिएर हेर्ने म सोचेकि पनि थिईन कुनै दिन सुन्दर सुदुरपश्चिम मेरो कर्म थलो बन्छ भनेर । रहर या बाध्यता ३ वर्षको दुधे बच्चा लिएर सुदुरको यात्रा मेरो लागि फलामको चिउरा चपाए जस्तै थियो ।
कसैसँग गुनासो नगरी कर्म थलोमा जानुको बिकल्प थिएन । २०७८ माघ ६ गते हो म सुदुरपश्चिममा पाईला टेकेको । यहाँ आएको १५ दिन पछी भारी हिमपात भयो । जिन्दगीमा त्यसरी हिउँ संग खेल्ने मौका नजुरेको हामी आमा छोरा हिउँमा निकै रमायौँ । त्यो पल मेरो लागि खुसीको पल थियो । त्यसै क्रममा कार्यालयका एक कर्मचारीले बडिमालिकाको दर्शन गर्नुभयो भनेमात्र तपाईको सुदुरको यात्रा सफल हुन्छ भन्नुभएको थियो ।
यो दिन देखि हो यो मनमा बडिमालिका माता बिराजमान भएको । समय समयमा साथीभाईहरुसंग कुरा गर्दा एकपटक त जसरी भएपनि आस्थाको केन्द्रबिन्दु बडिमालिकामाताको दर्शन गर्ने सोचमा थिए म । मेरो आस्था र बिश्वासलाई साथ दिदै मेरो श्रीमान डडेल्धुरा सम्म आईपुग्नुभयो । त्यसपछी मेरो बडिमालिका माताको दर्शन गर्ने मनको धोको पुरा हुने भयो ।
माताको दर्शन गर्न मनले सोचेर मात्र हुदैन माताले बोलाउनु पर्छ भन्ने सुनेको थिए अघिल्लो दिन सम्म म मेरो श्रीमान लक्ष्मण केसी, सहकर्मी बहिनी पबित्रा रावत र यातायत ब्यबस्था कार्यालयका महेन्द्र कार्की गरी जम्मा ४ जनाको मात्र टिम भएकोमा माताको दर्शन गर्ने शुभसाईतको दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि प्राबिधिक शित्तल भट्ट, ललित बिष्ट, जनकदेब भट्ट र अमरगढी नगरपालिकाका कृषि प्राबिधिक खगेन्द्र जोशी पनि हामी संगै जाने भए । अब हामी ८ जना भयौ ।
मिति २०८० भाद्र १२ गते
बडिमालिका यात्राको पहिलो दिन बिहानै ६ वजे हाम्रो टोली माताको दर्शनको लागि डडेल्धुरावाट बाजुराको सदरमुकाम मार्तडी निस्कियो । करिब २ घण्टाको बाईकको यात्रा पश्चात ८ बजे डोटी जिल्लाको सिलगढीमा अबस्थित शैलेश्वरी माताको दर्शन तथा पुजाआजा गरेर पुन हाम्रो यात्रा बाजुरा तर्फ अघि बढ्यो । बिहान ११ बजे अछाम जिल्लाको मार्कुमा खाना खाएर केहि समय बिश्राम गर्यौ ।
१२ बजे मार्कुवाट हिडेको १ बजे अछाम जिल्लामा रहेको पबित्रधाम बैजनाथ पुगियो । बैजनाध पुग्दा मनमा शान्ती छाएको अनुभुती भयो । निकै रमणिय स्थान रहेछ बैजनाथ । हामीलाई बेलुकी सबेरै मार्तडी पुग्नु थियो । बैजनाथ बाबाको बारेमा धेरै जान्ने ईच्छा हुदाहुदैँ पनि समयको पाबन्दिलेगर्दा हामी त्यहाँ धेरै बस्न पाएनौ र बाटो लाग्यौ । बाटोमा मंगलसेन र मार्तडी जाने बाटो छुट्टिने स्थान रहेछ ।
समय भएमा साफेबगरको एयरपोर्ट तथा बुढिनन्दा नदीमा रमाउन सकिन्छ तर हाम्रो गन्तब्य मार्तडी सम्मको भएकाले बाटोमा रहेका हरिया सुन्दर पहाडहरु नियाल्दै ४ बजे तिर बाजुरामा अबस्थित बिरे झरनामा रमाउने जमर्को गर्यौ । करिब ९ घण्टाको बाईकको यात्रामा लागेको थकाई मेटाउन निकै मद्धत गर्यो बिरे झरनाले । झरनामा देखिने ईन्द्रेणीको सातै रंगले जो कोहिको पनि मन लोभ्याउछ । पहिलो दिनको यात्रा मार्तडीमा बिट मारियो।
मिति २०८०/०५/१३ गते
यात्राको दोश्रो दिन बडिमालिका माताको दर्शनको लागि पैदलयात्राको तयारीमा लाग्यौ । जनै पुर्णिमाको अघिल्लो दिन बडिमालिका माताको मन्दिरमा ठुलो मेला लाग्ने रहेछ । त्यस दिन २० हजार भन्दा धेरै श्रदालु भक्तजनहरुको भिड हुने रहेछ । त्यस क्षेत्रको दर्शनको लागि यस बर्ष ८ गते देखि १३ गते सम्म साईत जुरेको भएपनि हामी अलि ढिला भयौँ।
माताको दर्शन गर्नलाई कुनै साईत हुदैन भन्ने सोच राखेर हामी २ दिन ढिला भए पनि जाने सोच राख्यौ । कृषि ज्ञान केन्द्रका कृषि अधिकृत बिक्रम भट्टले हामीलाई निकै ठुलो सहयोग गर्नु भयो । मार्तडीवाट बडिमालिका माताको दर्शन गराएर नाट्टेश्वरी मन्दिर सम्मको यात्रामा सहयोग गर्न स्थानिय गणेश रावल भाई हामि संगै जाने भए ।
त्यसले पनि हामीलाई यात्रा अलि सहज हुनेमा ढुक्क भयो । बिहान ५ बजे नै बाटो लाग्ने भने पनि गाईड भाईको ब्यबस्थापन संगै अन्य ब्यबस्थापन गर्दा करिब ८ वजे मार्तडीवाट पैदल बाटो लाग्यौ । मार्तडीबाट हिडेको १५ मिनेट पछी बडिमालिका मन्दिर पुगियो । उक्त मन्दिरको दर्शन गरेपछी मात्र माथि बडिमालिका माताको दर्शन गर्ने जनबिश्वास रहेछ । हामीले पनि बडिमालिका माताको दर्शन गर्यौ ।
दर्शन पश्चात मार्तडी बजारलाई दाहिने पार्दै हाम्रो गन्तब्य उकालो लाग्यो । पहिलो दिनको पैदलयात्रा जंगलको बाटो उकालो हिड्नु पर्ने रहेछ । हामीलाई बाटोमा जुका लाग्छ है दिदि भन्दै गणेश भाईले जिस्काउदै थिए । समयले राम्रै साथ दिएछ पानी परेन । जुकाको अनुभब हामीले गर्न पाएनौ ।
करिब ८ घण्टाको उकालो हिडाई पश्चात २ बजे बाटोमा निर्मित धर्मशालामा पुग्यौ । खाजा समेत खान नपाई हिडेका हामी २ बजे सम्म खान नपाउदा भोकले निकै गरायो । गणेश भाईले रोटी तरकारी र दुधको ब्यबस्थापन गर्न तर्फ लाग्नु भयो । अलि चिसो भएकाले खगेन्द्र भाईले आगोको ब्यबस्था गर्नु भयो । आगो ताप्दै खाना खायौं । निकै रमाईलो टिम बन्यो हाम्रो ।
हामीसँग गएका गणेश भाईलाई सबैले भतिज भनि बोलाउन थाले । गणेश १० कक्षामा पढ्दै रहेछन । बाजुरामा बडिमालिका मेला अबधिभर बिदा दिने चलन रहेछ । बिद्यालय बिदा भएकाले गणेशले तिर्थालु भक्तजनलाई मन्दिर दर्शनमा सहजिकरण गर्दा रहेछन । यसवाट आएको पैसाले परिवारमा भाई बैनिहरुको पढाई खर्च ब्यबस्थापन हुने बताए।
सानै उमेरमा परिवारप्रतिको जिम्मेवारी देख्दा निकै खुसि लाग्यो । ग्रुपमा खगेन्द्रभाईलाई पण्डित भनि बोलाउन थाले । जंगलको बाटो हिड्दै हामी ३ वजे तिर पाती चढाउने डाँडामा पुग्यौँ । पाती चढाउने डाडाँ पछी बाटो अलि सहज रहेछ ।करिब १५ मिनेटको यात्रा पछी त्यहाँवाट बडिमालिका माताको दर्शन हुने रहेछ । हामीले नि टाढै वाट माताको दर्शन गर्यौ । अनि थाकेको शरिर लिएर बिस्तारै अगाडी बढ्यौ ।
आजको हाम्रो बसाई सोता पाटनमा हुने कुरा भतिजले जानकारी गराएका थिए । सोता पाटनसम्म पुग्न अझै ४ घण्टाको पैदल यात्रा तय गर्नुथियो हामीलाई। मौसम खुलेको, वरपर फुलहरु फुलेका निकै रमणिय स्थान भएकाले ४ घण्टाको बाटो हिड्न शरिर थाके पनि मन थाकेन । पाती चढाउने स्थानवाट सोता पुग्दा तिर्खाले निकै सतायो । बाटोमा कतै पानीको ब्यबस्था रहेनछ ।
करिब ३ घण्टा हिडेपछी बल्ल पानी भेटियो । मन अघाउनजेल पानी खायौं । त्यसपछी त्यहाँका सुन्दर प्रकृतीलाई क्यामेरामा कैद गर्दै ७ बजे तिर सोता पाटन पुगियो । सोता पाटनमा बस्नको लागि गोठहरु रहेछन । हामीले नि त्यहि गोठमा बास बस्ने निधो गर्यौं । गोठमा खाना र बस्नको लागि ब्यबस्था रहेछ । त्यती ब्यबस्थित त होईन तर पनि थाकेको शरिरलाई बिश्राम दिन ति गोठहरु निकै उपयोगी लागे । त्यहाँको स्थानीय सरकारले यसलाई अझ ब्यबस्थित गर्न जरुरी देखिन्छ ।
मिति २०८०/०५/१४ गते
तेश्रो दिनको यात्रा सोता पाटनबाट शुरु हुने भयो । बिहान ६ बजे नित्यकर्म सकेर हाम्रो टोली अगाडी बढ्यो । जति चाँडो त्रिबेणी पाटनमा पुग्नसक्यो त्यती नै प्रकृतीसँग रमाउन समय हुने जानकारी भतिजवाट पाएका थियौं। बिहानै ५ बजे काकाले जडिबुटीको चिया खुवाउनु भयो । त्यसले लेक लाग्नवाट बचाउन मद्धत गर्ने रहेछ ।
६ बज्दा नबज्दै हामी सोताबाट निस्किसकेका थियौं । पहिलो दिनको करिब १२ घण्टाको हिडाईले शरिर शिथिल थियो । तर बाटोमा देखिने प्राकृतिक सुन्दरताले कता कतावाट शक्ती प्राप्त हुन्थ्यो खै हामी निरन्तर हिडिनै रह्यौ । सेनाको उद्धार हेलिकप्टरले बेला बेला आकाशमा फन्को लगाउथ्यो ।
बाटो मा कतै कतै फोन लाग्ने रहेछ । फोनलाग्दा गणेशलाई घरवाट फोन गरि फर्कन दबाब दिदा रहेछ । बिचमा भाईले ३ जना मरि सके ६ जनाको खुट्टा भाचियो रे म त जादिन फर्कन्छु भन्दा हाम्रो यात्रा अलपत्र पो पर्ने हो की भन्नेमा हामि चिन्तित भयौं । तर भाईलाई हामीले हिम्मत दियौँ अनि फेरि हाम्रो यात्रा अगाडी बढ्यो ।
उकालो ओरालीको बाटो हिड्दै करिब १२ बजे भित्तिचिन्ना पुगियो । भित्तिचिन्नामा रोटी र चना आलुको झोल तरकारी खान पाईयो । यात्रामा झोलिलो खाने कुराले शरिर फुर्तिलो बनाउने रहेछ । हामी माथी हिड्दै जादा मेला भरेर फर्कने तिर्थालुहरु भेटिन्थ्ये । उहाँहरुसंग त्यताको बस्तुस्थिती बुझ्दै हामी उकालो लाग्दै थियौं ।
भित्तिचिन्नावाट ३ घण्टा हिडेपछी निकै रमाईलो पाटन पुगियो । गणेश भाईसंग बुझ्दै जादा जम्मा २२ वटा पाटन पर्छ बडिमालिका यात्राको क्रममा तर ति पाटनको नाम भने धेरैलाई थाहा रहेनछ । नाम थाहा नभएपनि त्यहाँ बोर्डमा लेखिएको थियो दुगुर्ना । त्यहाँ पहिलो पटक जाने तिर्थालु दुगुर्नु पर्ने रहेछ ।
थाकेको शरिर तर हामी पनि के कम रेश लगायौं । निकै रमाईलो भयो । माथीबाट १ हुल भेडाका बथान ओरालो लागे । आजभोलीको सोसल मिडियाको कमाल हामी पनि भेडासँग टिकटक बनाऔं । त्यहाँ धेरै भुल्ने छुट थिएन हामीलाई त्रिबेणी पाटन जो पुग्नु थियो । ३ बजे हाम्रो टोली त्रिबेणी पाटन पुग्यो ।
जता हेर्यो हरियो खर्क मन नै लोभ्याउने प्राकृतिक सौन्दर्य आहा साँच्चिकै बडिमालिका माताले सृजना गरेको हस्तकला जस्ता देखिने घाँसे मैदान । हामी निकै बेर रमाऔ त्यहाँ । त्रिबेणीपाटन पुगेको १ घण्टा पछी हाम्रो टोली राक्षस ढुंगा भएको स्थानमा पुग्यो । अन्यत्र १वटा ढुगां खोजु भन्दानि नपाईने यहाँचाही यत्रा बिधि ढुंगाहरु थुप्रिएका । अचम्म लाग्यो ।
परापुर्बकालमा माता र राक्षसको यूद्धहरु माताले परास्त गरेका राक्षसका हड्डीहरु नै ति ढुंगा भएको जानकारी गणेश भाईले दिए । त्यहाँ जाने तिर्थालुहरुलाई केहि समय बिश्राम होस र त्यहाँको उचाईमा समायोजन हुन सहज होस भनेर नै होला ति ढुंगाहरुको घर बनाउनु पर्ने रहेछ ।
हामीले नि आफ्नो मनोकामना माग्दै ढुंगाको महल बनाऔं । महल बनाउन मलाई मेरो श्रीमानले साथ दिनु भयो । अबको हाम्रो गन्तब्य खेतीबेती पाटन थियो । त्यहाँ प्राकृतिक निर्मित गह्राहरुमा धान खेती भएको देख्न सकिन्छ । निकै रोमान्चित देखिने यो पाटनमा प्राकृतिक तरिकावाट धान खेती भएको नियालि रमाउन सकिने रहेछ । धानको बाला भेटिएमा माता प्रशन्न हुने जनबिश्वास रहेछ । हामीले निकै बेर धानको बाला खोज्यौं तर दुर्भाग्य १ जनाले नि बाला भेटाउन सकिएन ।
साँझको ६ बजिसकेको थियो । जनैपुर्णिमाको दिन भएकाले त्रिबेणीमा नुहाई जनै फेर्नुपनि थियो साथीहरुलाई । बाला भेटाउने रहर थाती राखेर हामी त्रिबेणी धाम तिर लाग्यौ । त्रिबेणीमा २ वटा कालिकोटका दाजुहरुको पाल रहेछ । साथीहरु जैन फर्न तिर लाग्नु भयो । हामी चाही खाना तथा सुत्नको चाजोपाजो गर्न तर्फ लाग्यौ ।
भाग्यबस हामी बस्ने पालमा अन्य २ समुहका साथीहरु पनि माताको दर्शनको लागि बस्नु भएको रहेछ । अब चाही हाम्रो समुह अलि ठुलो भयो ।साथीहरु जनै फेरि आउनुभयो । सबै मिलि खाना खाऔं। राती हामी संग गएकी बहिनी पबित्रालाई सास फर्ने अलि समस्या भएको थियो । पछी औसधी खाएपछी फेरि समस्या देखिएन ।
मिति २०८०/०५/१५ गते
आज हाम्रो यात्राको सबै भन्दा महत्वपुर्ण दिन माताको दर्शन हुने दिन । बिहानै ५ वजे उठेर त्रिबेणी धाममा नुहाई धुवाई गरी हामी माथी जान तयार भयौं । त्रिबेणी धाम ३८०० मिटर उचाईमा अबस्थित छ तर हामीलाई ४२२१ मिटर उचाईमा रहेको बडिमालिका माताको दर्शन गर्नुथियो ।
मनमा लेक लाग्ने समस्या आउनेमा डर नलागेको चाही होईन तर पनि समुहमा एकले अर्कालाई हौसला दिदैं त्रिबेणी धाममा रहेको बडिमालिका माताको दर्शन गरी हामी उकालो लाग्यौं । ३ दिन अगाडी त्रिबेणी धाम नजिकै १ जना तिर्थयात्रुले लडेर ज्यान गुमाउनु भएको रहेछ । मन अमिलो भयो । मनमा डर लिएर एकअर्कालाई हेर्यौ अनि फेरि आफ्नो गन्तब्य तर्फ अगाडी बढ्यौं ।
बडिमालिका माताको दर्शन गर्न हिड्दा बाटो निकै रमणिय रहेछ । कतै कतै अलि साघुरो अलि भिरालो बाटो पनि छ । त्यस स्थानमा अलि सजग भएर हिड्नु पर्ने । करिब ३ घण्टा हिडेपछी लौरी बिसौना आउँछ । त्यहाँ पनि भक्तालुहरुले मनमा बरदान माग्दै ढुंगाको घर बनाउने रहेछन ।
त्यहाँबाट १ घण्टा हिडेपछी बडिमालिका माताको मन्दिरको सबैभन्दा उच्चतम बिन्दु ४२१२ मा अबस्थित मन्दिर आईपुग्छ । त्यहाँवाट माताको दरबार निकै सुन्दर देखिन्छ । उक्त स्थानबाट फेरी ओरालो तथा पल्नो बाटो हिड्दै गर्दा १ पछी फेरि उकाली हिड्नु पर्छ । फेरि निकै ओराली हिडेपछी माताको मन्दिरको फेदिमा पुगिन्छ । त्यहाँ अलि जोखिम छ । त्यँहीबाट धेरै तिर्थालुहरु पुग्न नसकेर फर्कने रहेछन ।
तर सजग भएर बिस्तारै गयो भने अलि माथी बसुधारा छ । बसुधारामा पुग्दा माताको अनुभब हुन्छ त्यस पछी सबै थकाई मेटिन्छ । करिब ७ घन्टाको उकालो ओरालो हिडाई पछी हामी हाम्रो यात्राको मुख्य गन्तब्य बडिमालिका माताको दरबारमा पुग्यौ । त्यहाँ शुद्धहुनलाई बसुधारा रहेछ। फेरि त्यहाँ नुहाई कपडा फेरि शुद्ध भएर माताको दर्शन गरियो ।
करिब ३ घण्टा माताको मन्दिरमा बितायौं। थाहा छैन भगवान कस्ता हुन्छन तर त्यहाँ पुग्दा मैले मेरो माता पितालाई निकै सम्झिँए । मलाई जन्म दिई यस स्थानमा आउनलाई लायक बनाउनु भयो । मेरो चाहानालाई साथ दिई मलाई यस पबित्र भुमीमा दर्शन गराउने श्रीमान प्रति पनि म आभारी छु । तीन बजे हाम्रो टोली नाटेश्वरी मन्दिरसम्मको यात्रा तय गरि ओरालो लाग्यो ।तिन दिन हिडेको उकालो एकै दिन झर्नुपर्ने निकै जोखिम छ बाटो तर सजग भएर साथी संगै हिड्दा जोखिम अलि कम हुन्छ ।
रातीको १ बजे नाटेश्वरी मन्दिर पुगियो । शरिर निकै थाकेको थियो । हामीलाई बस्नको लागि मन्दिरको पुजारीले ब्यबस्था गरिदिनुभयो । भोलीपल्ट बिहानै नाटेश्वरी माताको दर्शन गरियो । बडिमालिका माताको दर्शन गर्ने तिर्थालुहरुले नाटेश्वरी माताको दर्शन गरेपछीमात्र बडिमालिका माताको दर्शन पुरा हुने परम्परा रहेछ ।हामीले पनि सोही बमोजिमको परम्परालाई कायम राख्दै माताको दर्शन गरेर डडेल्धुरा फर्कियौं ।
समग्र
शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका। जति हेरेपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउँदैन्। जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ। सुदूरको स्वर्ग नै हो बडिमालिका।
सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थलहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन्।
पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ। यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन्। खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृश्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ।
सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य हो। बाटोको असहजता, बसाइको व्यवस्थापन नहुँनु र राज्यको बेवास्ता हेर्दा बडीमालिका सुन्दरताले भन्दा आस्थाले मात्रै अडेको छ। बालकदेखि वृद्धाहरु समेत नयाँ उर्जा र साहस सहित बडीमालिका यात्रा गरिरहेकै छन।
५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडीमालिका। अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालिकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ। स्थानीयले यस क्षेत्रलाई धार्मिक तिर्थ स्थलका रुपमा चिन्ने गर्दछन्। वर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ। प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ।
यति हुदां पनि राज्यवाट केही नभएको चाही होईन । बडीमालिका नगरपालिकाले मार्तडी क्षेत्रबाट सोतासम्म ट्याक खुला गरेको छ। त्रिवेणी नगरपालिकाले पनि पर्यटन बोर्ड मार्फत काम अघि बढाएको छ। केही अवरोध नभए अर्कोवर्षसम्म त्रिवेणी नजिक सडक बाटो पुग्ने अवस्थाले केही सहज हुने देखिन्छ।
धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको शक्तीपिठको रुपमा परिचित छ । बडिमालिका माईको स्थललाई अझै संरक्षण र ब्यबस्थापनको खाँचो छ । राज्यका तर्फबाट धर्मशालाहरु बन्दैछन । स्थानियहरुले पनि यहाँ आउने भक्तजनहरुलाई खान र बस्नमा सहजिकरण गरिरहेकै छन । तर आधुनिकताको आडमा यहाँको प्राकृतिक मौलिकता र सुन्दरतामा कुनै खालको आँच नआयोस यस तर्फपनि राज्यको ध्यान जान जरुरी छ ।
अन्त्यमा बडिमालिकाको यात्रा गर्दा समुहमा गर्दा राम्रो मानिन्छ । आफुलाई चाहिने म्याट, टेन्ट, छाता, रेनकोट,लठ्ठी, सिलिपिङ्ग ब्याग संगै एक जना गाईड लग्दा यात्रा सहज हुन्छ । ४२०० मिटरमा भएकोले लेक लाग्ने समस्या हुन सक्छ त्यस्कोलागि प्राथमिक उपचारका औशधीहरु बोक्दा जोखिम कम हुन्छ ।
३ दिनको पैदल यात्रा वाटोमा पानी तथा खानाको ब्यबस्था नभएकोले थर्मस, कप, फलफुल तथा अमिलो नुनिलो चकलेट बिस्कुट साथै गुल्कोज बोक्दा खानामा समस्या पर्दैन । स्थानीयहरुले दिएको सल्लाह र सुझाबलाई आत्मसात गर्दै बडिमालिका माताको भजन र महिमा जप गर्दै हिड्दा बाटो कटेको थाहा नै हुदैन । हामीले त गर्यौ माताको दर्शन अब पालो तपाईको। जय बडिमालिका।
- (लेखक भुसाल, ग्रामिण उद्यम तथा औद्योगिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय डडेल्धुरामा कृषि अर्थ विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)