Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माथिबाटै नेता तोकिदिने परिपाटी अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा

tribeni2

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियु क्रान्तिकारीको २४ औँ क्याम्पस जिल्ला सम्मेलनलाई काठमाण्डौमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिनुभएको हो ।

माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले सङ्गठनका हरेक तहमा युवाहरूले आफ्नो नेतृत्व आफैँ छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताउनुभयो । ‘युवाहरू अघि बढ्नुस्, आफ्नो नेता तपाईँ आफैँ चुन्नोस्’, उहाँले भन्नुभयो, ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले सङ्गठन बनाउँछ, पार्टी बनाउँछ ।’ उहाँले पार्टीको नीतिअनुसार विद्यार्थी सङ्गठनमा समेत ३५ प्रतिशत सङ्ख्यामा महिला नेतृत्व चुन्न आग्रह गर्नुभयो ।

सरकारका अर्थ मन्त्री समेत रहनुभएका नेता शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडामा ‘लेडिज फर्स्ट’ (महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्नुहुँदै यसको मर्मअनुसार हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै उहाँले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताउनुभयो ।

विद्यार्थी सङ्गठनको नेता नियमित रूपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै नेता शर्माले शैक्षिक संस्थाबाट पासआउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्