Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पशुपंक्षीमा लाग्ने रोग परिक्षणका लागि रुकुममै प्रयोगशाला सेवा

रोग पहिचान गरेर क्षती रोक्न सहज
शुक्रबार, भदौ २९, २०८०
tribeni2

रुकुम पश्चिम । पशुपंक्षीहरुमा लाग्ने विभिन्न रोगहरुको पहिचानका लागि जिल्लामै प्रयोगशाला परिक्षण सेवा सञ्चालन भएपछि रुकुम पश्चिमका किसानहरुलाई सहज भएको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा गत वर्षदेखि सञ्चालन भएको प्रयोगशाला परिक्षणले विभिन्न रोगको पहिचान तथा निदानका लागि सहज भएको हो । कार्यालयका निमित्त प्रमुख ज्ञानु कुमार शर्माका अनुसार जिल्लामै प्रयोगशाला परिक्षण सेवा सुरु भएपछि रोगको समयमै पहिचान र निदानका लागि कार्य गर्न सजिलो भएको छ ।

यस अघि सञ्चालित प्रयोगशाखामा पशुचौपायको गोबर र पिसाब मात्र परिक्षण हुने गरेको थियो । गत वर्षबाट पशुहरुमा लाग्ने रेबिज, पिपिआर, खोरेत, स्वाईन फिभर तथा पंक्षीहरुमा लाग्ने रानीखेत, गम्बारो लगायतका रोगहरुको एन्टिजेन परिक्षण रुकुमपश्चिममै हुने गरेको छ । उक्त सेवा बिस्तार भएयता करिब आठ सय पशुपंक्षीको एण्टिजेन परिक्षण गरिएको छ ।

कार्यालयका अनुसार १३७ वटाको रेबिज, ३०८ वटाको पिपिआर, ६८ वटामा रानीखेत, १०३ वटामा गम्बारो, ५३ वटामा खोरेत र १०५ वटामा स्वाई फिभर गरेर ७७४ वटाको एण्टिजेन परिक्षण जिल्लामै गरिएको छ । कार्यालयले नियमित कार्यक्रम अन्तर्गतकै सेवामा प्रयोगशाला परिक्षणको दायरा बढाएको हो । 

जिल्लामै प्रयोगशाला परिक्षणको दायरा बढाएपछि पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरु पहिचानका लागि नमूना संकलन गरेर सुर्खेत, काठमाडौं जानुपर्ने अवस्था हटेको छ । निमित्त कार्यालय प्रमुख शर्माले पशुपंक्षीहरुमा कुनै रोग लागेमा वा शंका लागेमा प्राविधिकहरु फिल्डमा खटिएर नमूना तथा स्वाब संकलन गरेर ल्याउने र अहिले जिल्लामै परिक्षण गर्ने गरिएको छ । यसका लागि स्थानीय सरकारसँग समेत सहकार्य हुने गरेको छ ।

यस कार्यले तत्कालै रोगको पहिचान गरेर आवश्यक औषधि उपलब्ध गराउन र क्षती रोक्न प्रभावकारी भएको उहाँको भनाई रहेको छ । पिपिआर रोगको परिक्षण सेवा भने जिल्लामा रहेको छैन । यसका लागि जिल्ला बाहिर नै जानुपर्ने अवस्था रहेको छ । 

पशुपालनका लागि राम्रो मानिएको यस जिल्लामा बिस्तार भएको प्रयोगशाला परिक्षण सेवाले पशुपालक किसानहरुलाई समेत सहज भएको छ । पशुचौपायहरुमा विभिन्न संक्रामक रोगहरु लागेर हुने क्षती रोक्न यस सेवाले महत्वपूर्ण भूमिका खेलेको किसानहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्