सानीभेरीमा तीन तले घरमा आगलागी, साढे १२ लाख बढीको क्षती

शुक्रबार, असोज ५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -११ काँडामा एक घर आगलागी भएको छ ।

काँडा गाउँका गंगाराम कामीको तीन तले घरमा शुक्रबार बेलुका आगलागी भएको हो । 

दिपज्योति प्राथमिक बिद्यालय काँडाका प्रधानाध्यापक दिनेश खड्काले दिनुभएको जानकारी अनुसार कामीको तीन तले, नौ कोठे जस्तापाताले छाएको घरमा आगलागी भएके हो । घरको भान्साकोठाबाट आगलागी फैलिएको हुनसक्ने बताईएको छ । 

आगलागीबाट कामीको घर, लत्ताकपडा, धनमाल, अन्नपात र अन्य सरसामानमा क्षती भएको छ । स्थानीयको प्रयासमा घरको केहि भाग जोगउन सकिएतापनि बढीजसो भागमा क्षती भएको प्रधानाध्यापक खड्काले बताउनुभयो । 

प्रहरी चौकी सिम्लीबाट गएको प्रहरी टोलीले तयार पारेको घटनास्थल मुचुल्का अनुसार घर र अन्य सामाग्री सहित करिब १२ लाख ५९ हजार बराबरको क्षती भएको छ । 

आगलागीबाट मानविय क्षती भने भएको छैन । स्थानीयले पीडित परिवारलाई राहतको लागि सरकार समक्ष आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्