Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जडान गरिएको आठ महिनामै बिग्रिए मुसिकोटका सडक सोलार बत्ती

मंगलबार, असोज ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट नगरपालिकाको विभिन्न स्थानमा जडान गरिएका सडक बत्ती बल्न छाडेका छन् । गत माघ महिनामा जोडिएका सोलार सडक बत्ती आठ महिनामै बिग्रिएका हुन् ।

खलङगा बजारका व्यवसायी राज कुमार ओलीले सडकका विभिन्न स्थानमा जोडिएका सोलार बत्तीले काम गर्न छोडेको बताउनुभयो । केहि समयमात्र झिलिमिली बनाएका सडकमा अहिले अध्याँरो छाएको छ । ओलीले लाखौ बजेट खर्च गरेर गुणस्तरहिन सामाग्री प्रयोग भएका सोलार सामाग्रीको कारण सडक सोलार बत्ती बल्ल छोडेको आरोप लगाउनुभयो । 

गत वर्षको माघ महिनामा नगरपालिका–१ खलङगा बजारको तल्लो बजार, बराहटाकुरा, झोलुङगे पुल, कालिकास्थान देखि त्रिभुवन जनता मावि, राप्ती लोकमार्ग अन्तर्गत हुलाक देखि त्रिवेणी चोक लगायतका ठाउँमा ४० वटा सडक बत्ती जडान गरिएको थियो ।  

बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो चरणमा जाेडेका सोलार सडक बत्ती मध्य केहि बल्ल छाडेको मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । ठेक्का मार्फत जडान गरिएको उक्त कामको जिम्मा कोबाल्ट ईन्जिनियरिङ्गले पाएको थियो । 

नगरप्रमुख केसीले बत्ती जडान गरेको एक बर्षभित्रमा बत्तिमा समस्या आएमा ठेकेदारले नै बनाउनुपर्ने सहमति भएकोले बनाउन पठाईएको बताउनुभयो । बिग्रेका स्थानमा रहेका सोलारका ब्याट्रि लगायतका सामाग्री ठेकेदारले निकालेर बनाउन लिएको तर काममा ढिलाई गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाले पहिलो चरणमा ४० वटा बत्ति जडानका लागि ४९ लाख ४३ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । तर ठेकेदार कम्पनीले ३० लाख २८ हजार ४५० रुपियाँमा ठेक्का पाएको थियो । 

सडकमा जडान गरिएको सोलार बत्ती बल्न छोडेपछि समयमै मर्मत गर्न स्थानीय सरकारको ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । जिल्लाकाे मुख्य बजार केन्द्रमा जोडिएका सडक बत्ती बिग्रिएपछि शान्ति, सुरक्षा व्यवस्थापनको काममा समेत चुनौति हुने प्रहरीको भनाई छ ।

चोक तथा मुख्य केन्द्रमा अध्यारो हुँदा बजारक्षेत्रमा जोडिएका सिसिक्यामेरा समेत बेकामे हुने गरेका छन् । चोरी तथा अपराधका घटना नियन्त्रणमा सडक बत्ती, सिसिक्यामेरा लगायतले साथ दिने भएतापनि बिग्रिएकाले चुनौति बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जनाउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्