Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा बित्तीय, प्रशासनिक र कानुनी संघीयता अझै आएन :  मुख्यमन्त्री शर्मा 

बिहीबार, असोज ११, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले अझैसम्म कर्णालीमा बित्तीय, प्रशासनिक र कानुनी संघीयता नआएको बताउनुभएको छ ।

गृह जिल्ला रुकुम पश्चिमका कार्यालयका प्रमुखहरुसँग जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

जिल्लाको विकास निर्माण, सेवा प्रवाह, बिपद ब्यवस्थापन लगायत सेवा प्रबाहका विषयमा भएको कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका कामलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्द भएर लाग्नुपर्ने बताउनुभयो। नागरिकको दैनिकीसँग जोडिएका सेवालाई छिटोछरितो बनाउन कर्मचारी र जनप्रतिनिधि एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।

जिल्लामा आएका बजेट र योजना कार्यान्वयन र सम्पादन स्वस्थ प्रतिस्पर्धाका आधारमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले संविधान कार्यान्वयनकै चरणमा रहेको र  तीनै तहका सरकारले सहकार्य गरेर मात्र जनसेवा गर्न सकिने मुख्यमन्त्री शर्माले उल्लेख गर्नुभयो । 

उहाँले बित्तीय, प्रशासनिक  र कानुनी संघीयता प्रदेशमा नआएको उल्लेख गर्नुहुदै  जनतामा राज्य भएको अनुभुती दिन सुशासनलाई प्राथमिकता दिएर उत्तरदायी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  जनता नै सिर्जना, निर्माण र विकासका जननी भएकाले  जनताकै सेवामा लाग्नु गौरवको विषय भएको बताउनुभयो । 

कार्यक्रममा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्ला भए गरेका विकास निर्माण, सेवा प्रवाह, समस्या र चुनौती लगायतका विषयमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरुले आफ्ना कार्यालयले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी,जिल्ला समन्वय समिती प्रमुख लुम्बिनी गौतम लगायत कार्यालय प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्