Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा

मंगलबार, असोज १६, २०८०
tribeni2

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङगारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक कृषि, वर्तमान अवस्था तथा भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले प्राङ्गारिक कृषि प्रदेश निर्माणको सवाल सान्दर्भिक रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य तथा सरोकारवालाहरुसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “प्रदेश सरकारले प्राङ्गारिक प्रदेश निर्माणका लागि अभियान थालेको छ । यो चुनौतिपूर्ण भएतापनि महत्वपूर्ण मुद्दालाई गम्भीरताका साथ लिनुपर्दछ ।”

प्राङ्गारिक कृषि उत्पादनको अभियानले यसको महत्व, आवश्यकता बढ्दै गइरहेको बताउँदै मुख्यमन्त्री शर्माले सरोकारवालाहरुबीचको बुझाइमा एकरुपता कसरी ल्याउने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।  

उहाँका अनुसार प्राङ्गारिक कृषिका लागि रासायनिक मलको विकल्प दिन सक्छौं सक्दैनौं भन्नेमा पनि गहिरिएर मनन् गर्नुपर्दछ । वातावरणीय प्रभावलाई नियन्त्रण गर्ने विषयवस्तुमा रहेर छलफललाई सघनरुपमा चाल्नुपर्ने उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो, “कर्णालीमा भोक र रोगको अन्तर छ । गरिबी छ । अर्गानिक भन्दा पनि पेट भर्न पाए हुन्थ्यो भन्ने समस्या पनि हामीमा छ । यस्ता चुनौतिलाई क्रस गर्दै उत्पादनको परिमाण नघट्ने गरी कृषि क्षेत्र विकास गर्न सक्यौं भने पर्यटकहरुको आकर्षण पनि त्यत्तिकै बढ्ने देखिन्छ ।”

प्राङ्गारिक कृषिबाट पर्यटनको विकासका लागि संघ र प्रदेशको बीचमा बहस एवं छलफल हुनुपर्ने भन्दै उहाँले प्राकृतिक विपत्तिको सामना गर्न प्रकृतिको संरक्षणका लागि सबै सरोकारवालाहरुलाई साझा चिन्तनका साथ ऐक्यवद्ध भएर लाग्न आग्रह गर्नुभयो ।   

386447096_262434116777761_7860448769612412473_n1696337563.jpg

अन्तरक्रिया कार्यक्रममा सहकारी मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले कर्णालीमा प्राङ्गारिक कृषिको आधार तथा संभावना, भौगालिक बनावट र खेती प्रविधि, कृषि जैविक विविधता, प्राङ्गारिक उत्पादन र प्रमाणीकरणमा रैथानेबालीको संभावना, प्राङ्गारिक प्रदेश निर्माणको तत्कालीन्, मध्यकालीन र दीर्घकालीन योजनाको खाकासहितको प्रस्तुति राख्नुभयो । त्यस्तै, जलवायुविज्ञ लक्ष्मीदत्त भट्टले पछिल्लो समयमा बढ्दै गएको विश्वव्यापी उष्णता, त्यसले पारेको प्रभाव, ल्याउने विपत्ति र त्यसमा सरकारले गर्नुपर्ने नीति कामका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । 

परम्परागत ज्ञानसँग आधारित खेती मानव जीवनका लागि निकै लाभदायक भएको बताउनुभएका विज्ञ भट्टले जलवायुमैत्री विकास आजको प्रमुख आवश्यकता रहेको र जलवायु प्रभावको उच्च जोखिममा नेपाल त्यसमा अँझ बढी कर्णाली भएकोले प्रदेश सरकार नीतिगत कुरामा बढी सक्रिय हुनुपर्ने सुझाउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्