Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बझाङमा गएको भुकम्पले रुकुममा दुई घर भत्किए

मंगलबार, असोज १६, २०८०
tribeni2

रुकुम पश्चिम । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पको असर देशका विभिन्न भागहरुमा परेको छ । ६.३ रेक्टर स्केलको भूकम्पले सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लासहित कर्णालीमा समेत क्षति भएको छ । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार रुकुम पश्चिममा दुई वटा घर भत्किएका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १० काफलडाँडा निवासी चन्द्रबहादुर बुढा र त्रिवेणी गाउँपालिका वडा नम्वर ५ दबाङका प्रकाश सुनारको घर भत्किएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले मंगलबार बेलुकासम्म दुई घर मात्र भत्किएको र केहि घरहरु चर्किएको जानकारी प्राप्त भएको बताउनुभयो । यसबाट कुनै मानविय क्षति भने भएको छैन । 

चौरजहारी नगरपालिका वडा नम्वर १० का हुकुम ओलीका अनुसार स्थानीय बुढाको तीन तले घरमा जोडेको पालीको भाग पूर्ण रुपमा भत्किएको छ । सुरुमा भुकम्पले हल्लाउँदा बुढाले घर चर्किदै गएको भन्दै गुहार मागेपछि आफूहरु त्यहाँ पुगेको र भित्र बाँधेर राखिएका बाख्रा निकालेको ओलीले बताउनुभयो । ओलीले भन्नुभयो, "हेर्दा हेर्दै घर भत्कियो, मानविय क्षति हुन भने पाएन ।"

बुढाको घरमा अहिले उहाँको दम्पती हुनुहुन्छ भने दुइ भाई छोराहरु रोजगारीको लागि भारतमा रहेको बताईएको छ । उहाँको दोपाखे घरको पालीको भाग भत्किएको र अन्य घरको भाग चर्किएको छ । घर चर्किएको भएतापनि सोहि घरमै उहाँहरु बस्नुभएको छ । 

त्रिवेणी गाउँपालिकाका प्रकाश सुनारको घरको मुल भाग भत्किएको छ भने अन्य भाग चर्किएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्