रुपान्तरण अभियान : एक महिनामा नौ हजार घरधुरी र ३२ हजार जनतासँग भेटघाट

जनसेवा तथा जनश्रमका ३४ वटा कार्यक्रमहरु सम्पन्न
बुधबार, असोज १७, २०८०

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले एक महिनामा जिल्लाका नौ हजार घरधुरीमा पुगेर ३२ हजार जनासँग भेटघाट तथा अन्तरक्रिया गरेको जनाएको छ । माओवादीले गत भदौ १६ गतेदेखि सञ्चालन गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको क्रममा उक्त भेटघाट गरेको हो । 

सोमबार मुसिकोट नगरपालिका –५ सेरीगाउँस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पार्टीले उक्त कुराको जानकारी गराएको हो । पार्टीका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाका ७३ वटै वडामा उत्साहजनक रुपमा सुरु भएको एक महिने अभियानले कार्यकर्तालाई उत्साहित बनाएको बताउनुभयो । 

रोकाले यस अवधिमा पार्टीका २९५ वटा टोल कमिटी र ४५० वटा सेल कमिटीको बैठक बसेको र ६३८ जना नयाँ पार्टी सदस्य थप भएको जानकारी दिनुभयो । 

अभियानको क्रममा जिल्लाका विभिन्न स्थानमा जनसेवा तथा जनश्रमका ३४ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । स्थानीयका घर निर्माण तथा मर्मत, गोरेटो बाटो निर्माण, जनताका कृषि कार्यमा सहयोग, सरसफाई, खानेपानी सुचारु लगायतका कामहरु गरिएको संयोजक रोकाले बताउनुभयो । 

अभियानलाई समर्थक तथा र कार्यकर्ता पंक्तिमा उत्साह जगाएको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव प्राप्त भएको उहाँको भनाई छ । समग्रमा एक महिने अभियान ८० प्रतिशत रुपमा सफल भएको उहाँको दाबी छ । 

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा जिल्ला ईन्चार्ज गगन खड्काले माओवादी - माओवादी जस्तो नबनेपछि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले एक महिने अभियानले माओवादी भित्र समाजवाद ल्याउन उल्लेख्य योगदान गरेको उल्लेख गर्नुभयो । यस अभियानले नयाँ उमंग, उत्साह र तरंग ल्याएको उहाँको बुझाई रहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्