Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

प्रशासनमै संकलन गरिएका १० हजार थान परिचयपत्र आईपुगे, वडामा संकलन गरिएका आउँन बाँकि
आइतबार, असोज २१, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी बिरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रुपमा परिचय पत्र वितरण कार्यको सुरुवात गर्नुभएको हो । 

रुकुम पश्चिममा २०७७ साल कार्तिक महिनादेखि राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि विवरण संकलन सुरु गरिको थियो । सोहि विवरणको आधारमा तयार भएको डिजिटल परिचयपत्र आईतबारबाट वितरण गर्न थालिएको हो । 

सेवाग्राहिलाई परिचयपत्र वितरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताउनुभयो । ‘अहिलेलाई जिल्लामा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य छ,’ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो, ‘राज्यले यसलाई अब मालपोत, बैङ्किग कारोबार, यातायात सेवा लगायतका कार्यमा बिस्तारै जोड्दै लैजाने नीति लिएको छ ।’

नागरिकको सेवा सुविधा सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । अन्य विवरणहरु क्रमशः यसैमा समावेश गर्दै लैजाने र पछि सबै सेवा प्राप्त गर्न अनिवार्य हुने अवस्था बन्ने भएकोले सबैलाई राष्ट्रिय परिचयपत्र लिन प्रजिअ पन्तले अनुरोध गर्नुभयो ।

परिचयपत्रमा व्यक्तिगत विवरण सहित जैविक विवरण अन्तर्गतका औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।

जिल्लाका ७३ वटै वडामा शिविर मार्फत ६५ हजार विवरण संकलन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा १८ हजार जनाको विवरण संकलन भएको थियो । पहिलो चरणमा कार्यालयबाट संकलन गरिएकाहरु मध्य १० हजार चार सय जनाको परिचय पत्र आईपुगेको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शााखाले जनाएको छ । 

परिचयपत्र जिल्लामा आईपुगेपछि कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने गरेको छ ।

म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने प्रशासन कार्यालयले जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्