Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चाडपर्वमा रुकुम प्रहरीको सुरक्षा योजना : १४ ठाउँमा चेक प्वाईन्ट, १८ ठाउँमा यात्रु सहायता कक्ष

भिडभाड हुने ठाउँमा ‘पिकेट ड्यूटि’, २४ सै घण्टा ‘क्विट रेस्पोन्स टिम’ तयार
बिहीबार, असोज २५, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । 

नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजयादशमी, शुभ दिपावली तथा छट पर्वलाई लक्षित गरेर सुरक्षा योजना ल्याएको हो । हर्षोल्लासका साथ चाडपर्व मनाउन ‘चाडपर्व विशेष सुरक्षा योजना, २०८०’ तयार गरी कार्यान्वययनमा ल्याईएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार कुनैपनि अप्रिय घटना तथा अवाञ्छित गतिविधी हुन नदिन ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । 

उहाँका अनुसार शान्ति सुरक्षा व्यवस्था मिलाउन बिभिन्न दर्जाका २७५ जना प्रहरी परिचालन गरिएको छ भने आकस्मिक परिस्थितिको लागि ३५ जनाको टोली रिजर्व राखिएको छ । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विभिन्न १८ स्थानमा यात्रु तथा नागरिक सहायता कक्षको समेत स्थापना गरेको छ  ।

कुनै पनि घटनामा तत्काल रेस्पोन्स गर्नको लागि २४ सै घण्टा ‘क्विट रेस्पोन्स टिम’ र ‘स्कटिङ्ग’को  प्रबन्ध मिलाईएको प्रहरीले जनाएको छ । त्यसैगरी बढी भिडभाड हुने जिल्लाका विभिन्न स्थान र सुरक्षा संवेदनशिलतालाई हेरी सितलपोखरी, त्रिवेणी चोक, शहिदगेट, मठ, सल्ले लगायतका स्थानमा थप “पिकेट ड्यूटि” खटाईएको छ  । 

ट्राफिक प्रहरीसँगको सहकार्यमा बिभिन्न १४ वटा स्थानमा नियमित चेकप्वाईन्ट र अन्य स्थानमा ‘सरप्राईज चेकिङ’ समेतको व्यवस्था गरिएको डिएसपी भट्टराईले बताउनुभयो । लामो दुरीको सवारी साधनमा दुई जना चालक अनिवार्य राख्ने, ट्राफिक नियम पालना गराउन प्रशिक्षण दिने, क्षमताभन्दा बढी यात्रुहरु राख्न नदिने, भाडादर स्पष्ट देखिने गरी टाँस्न लगाउने र तोकिएको भाडादर कार्यान्वयनका लागि कडाई गरेको छ । 

डिएसपी भट्टराईले यात्रुहरुलाई बिभिन्न प्रलोभन पारेर ठग्ने तथा अन्य घटना हुन नदिन सादा पोशाकमा गोप्य प्रहरी परिचालन गरेको जनाउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय तथा मातहातका प्रहरी युनिटहरुबाट मोबाईल गस्ती, पैदल गस्ती, चेकिङ,  विभिन्न माध्यमबाट प्रशिक्षण सचेतना जस्ता कार्यहरुलाई बढाईएको छ ।

जिल्ला प्रवेश गर्ने मुख्य सिमानाकाहरुबाट हुन सक्ने चोरी तस्करी नियन्त्रण गर्नको लागि चेकिङको दर बढाएको, बजार एरिया तथा गाउँमा समेत झगडा, जुवातास, चोरी लुटपाटजस्ता क्रियाकलाप नियन्त्रण गर्न गस्तीको ब्यवस्था गरिएको छ । चाडपर्वको समयमा जिल्लाका बिशिष्ट व्यक्तिहरुको आवागमनलाई सहज तुल्याउन तथा विशिष्ट व्यक्तिको सुरक्षाको लागि सुरक्षा योजना समेत तयार गरिएको छ । 

चाडपर्वको समयमा हुनसक्ने खाद्य बस्तुहरुको कृतिम अभाव, कालोबजारी, मुल्यबृद्धि तथा गुणस्तरहिन  खाद्य पदार्थ बिक्रीको क्रियाकलापहरु नियन्त्रण गर्न बजार अनुगमनको समेत व्यवस्था गरिएको छ  । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्