सोसल मिडिया
काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा सम्मानित गरियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नीसमेत रहेकी दाहाललाई राज्यका तर्फबाट दिइएको यो पहिलो सम्मान थियो। तर, त्यसको केहीबेरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति आयो – आज श्रीमतिको मुख हेर्ने दिन हो, बाउको मुख हेर्ने दिन हो ?
ओलीको कटाक्ष विभुषणमाथि थियो, त्यो पनि सीता दाहालले प्राप्त गरेको प्रवल जनसेवाश्री पदकमाथि। टिप्पणी गर्दै जाँदा ओलीले ‘विभुषण पाउनेहरूको घाँटीमा झुण्डिँदा तक्माले अपमान महशुस गर्ने’सम्मको निम्नकोटीको अभिव्यक्ति दिए।
यसपटक देउवा सरकारले विभुषित गरेका अधिकांश व्यक्तिहरू सत्तारुढ गठबन्धन नजिकका थिए। यस अर्थमा प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले पदकमा निश्चित मापदण्ड अपनाउनुपर्थ्यो भन्नेसम्मको टिप्पणी अशोभनीय हुँदैन। तर, ओली भने पहिलाजस्तो तुच्छ भाषाको प्रयोग गर्दै गालीगलौजमा उत्रिएका छन्।
गणतन्त्रपछि दिइएका अधिकांश पदकहरू विवादमुक्त छैनन्। सरकारले पदकबारे कुनै मापदण्ड नबनाएका कारण यो अवस्था सिर्जना भएको हो। पदक प्राप्त गर्नेहरू के कारण अब्बल भए र बाँकीले के कारणले पाएनन् भन्ने स्पष्ट जवाफ नहुँदासम्म पदक विवादित भइरहनेछ, जुन हिजो पनि भयो। यसका लागि पदकसम्बन्धी छुट्टै ऐन वा नियमावली जरूरी देखिएको छ।
तर, सबै पदक अयोग्यले प्राप्त गरेका छैनन्। केही पाउनैपर्ने मान्छेले पनि पदक पाएका छन्। त्यसमध्ये एक हुन्, माओवादी केन्द्रका सल्लाहकार सीता दाहाल। आइतबार प्राप्त उनको पदकमाथि कुनै पनि ढंगले प्रश्न उठाउनु स्वाभाविक देखिँदैन। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले पदकमाथि प्रश्न मात्र उठाएका छैनन्, अराजक र अपमानजक भाषाको प्रयोगमार्फत् गालीगलौज गरेका छन्।
सीता दाहाल प्रचण्डकी पत्नी त हुन् नै। तर, त्यति मात्र होइनन्। नेपालको राजनीतिक आन्दोलनमा उनको विशिष्ट योगदान छ। ११ वर्ष लामो जनयुद्धमा सम्पूर्ण रूपले भूमिगत भएर काम गरेकी दाहालले माओवादीभित्र एकताको सेतुको भूमिकासमेत निर्वाह गर्दै आएकी छिन्। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन माओवादीका शीर्ष नेताबिच वैचारिक र भावनात्मक एकता कायम गर्न सीता दाहालको जुन योगदान छ, त्यो इतिहाससिद्ध र ऐतिहासिक छ।
प्रचण्ड अहिले जहाँ, जुन भूमिकामा छन्, त्यसका पछाडि सीता दाहालको सामान्य योगदान छैन। व्यक्तिको व्यक्तित्व विकास र प्रगतिका निम्ति सामूहिक योगदान छिपेको हुन्छ, त्यो पनि परिवारका सदस्यहरूको योगदान सामान्य हुँदैन। तर, त्यो हत्तपत्त बाहिर देखिँदैन। यद्यपि, सीता दाहालको योगदान विश्वले देख्ने प्रकृतिको छ। तर, पूर्वाग्रही ओलीले त्यो देख्दैनन्, किनकि उनका लागि गणतन्त्र नै रूचिको व्यवस्था होइन।
देश विगत २० वर्षदेखि माओवादीकै एजेण्डा वरिपरि घुमिरहेको छ। जुन एजेण्डा निर्माण र त्यसलाई बिस्तारित गर्नका निम्ति सीताको कम योगदान छैन। सम्भवतः सीता दाहाल नभएको भए माओवादीका शीर्ष नेताहरूको एकता कायम राख्ने चुनौती बारम्बार आइरहन्थ्यो। साझा लक्ष्यका निम्ति एकतावद्ध संघर्षको बिकल्प छैन भन्ने कुराको व्यवहारिक सल्लाह दिने सीता नै थिइन्, जसको आलोकमा नेताहरू एकतावद्ध संघर्षमा जोड दिन्थे।
सीता दाहाल अहिले असामान्य अवस्थामा छिन्। जीवनको उर्भर अवधि पारिवारको भरणपोषण र अर्को महत्वपूर्ण अवधि जनयुद्धमा व्यतीत गरेकी उनले पछिल्लोपटक एकपछि अर्को सन्तान वियोगको सामना गर्नुपर्यो। अल्पायूमै जेठी छोरी र छोरा गुमाएको पीडा हरेक आमाका निम्ति असैह्य हुन्छ नै। सीताका लागि पनि त्यस्तै भयो। त्यसले उनको शारीरिक अवस्था पनि कमजोर बन्दै गएको छ र अहिले अर्धचेत अवस्थामा जीवनसँग संघर्ष गरिरहेकी छिन्।
तर, यस्तो पीडामा रहेकी सीताप्रति एमाले अध्यक्ष ओलीको कुनै सम्वेदना जाग्दैन। जतिबेला प्रचण्ड र ओली एउटै पार्टीमा थिए, त्यतिबेला पनि ओली सीताप्रति असहिष्णु नै रहे। व्यक्तिगत खर्चमा उपचारमा लैजाँदा होस् वा अन्य कुनै गतिविधिमा संलग्न रहँदा, ओलीले कहिले आफै त कहिले कार्यकर्ता अघि सारेर सीता दाहालमाथि आक्रमण गरिरहे।
केपी ओली नेपालका राजनीतिक नेताहरूमध्ये सबैभन्दा असहिष्णु मानिन्छन्। आफूसँग विमति हुनेबित्तिकै निम्नस्तरको गालीगलौजमा उत्रिने उनको विशेषता नै छ। उनका हरेक अभिव्यक्ति आलोचित हुन्छन्। तर, ओलीले कहिल्यै गल्ती महशुस गर्दैनन्। उनी अभिमानी भएकै कारण अहंकारवादी सोंच र अभिव्यक्तिबाट ग्रसित हुँदै आएका छन्। उनको अभिव्यक्तिको लय र भाषाको स्तरले बेलाबेला एमालेकै नेता–कार्यकर्ता लज्जित भइरहन्छन्। उनीहरू लाचार भएर यी सबै कुरा बेहोर्न अभिसप्त छन्।
गणतन्त्रको आन्दोलनमा केपी ओलीको खास योगदान देखिँदैन। २०४६ पूर्व उनी बहुदलीयताका लागि लडेका थिए। तर, नेपालमा गणतन्त्र स्थापना गर्ने मुद्दामा उनको सधैं विमति रह्यो। तैपनि तात्कालीन एमाले महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरू गणतन्त्रको पदचापमा हिँड्दा ओली लतारिन बाध्य भए। आज देश गणतन्त्रमा छ, अनि गणतन्त्रका निम्ति ओलीको भन्दा सीता दाहालको योगदान नै बढी छ।
सीता दाहालको स्वास्थ्यका लागि प्रचण्डले राज्यकोषको दुरुपयोग गरेका छैनन्। उनले चाहेको भए सरकारी खर्चमा सीताको उपचार गराउन सक्थे। तर, आजसम्म सीताको उपचार परिवार, आफन्त र शुभेच्छुकको सहयोगमार्फत् हुँदै आएको छ। बजारमा चर्चा चल्छ – उपचारका निम्ति सीताले पनि ओलीले झैं १९ करोडभन्दा बढी लिएको भए उनीमाथि कसरी हमला हुन्थ्यो होला ?
ओली बारम्बार सीता दाहालमाथि आक्रमण गरिरहन्छन्। तर, ओलीको निशाना अर्कै छ। उनी सीता दाहालमाथि टिप्पणी गरेर प्रचण्डलाई निशाना लगाउन चाहन्छन्। सीतामाथि आक्रमण गरेर प्रचण्ड कमजोर पार्न उनले अनेकन् हत्कण्डा प्रयोग गर्दै आएका छन्। यसपटक पनि ओलीले त्यही हतियार उठाएका छन्। तर, पीडामा संवदेना व्यक्त गर्नुपर्नेमा नूनचूक छर्किने ओली प्रवृत्तिले उनको विचारको स्वस्थता र सांस्कृतिक स्तरमाथि प्रश्न उठाएको छ। उनको सभ्यता र संस्कारको खिल्ली उडाएको छ। - लोकपाटीबाट