सोसल मिडिया
मिन बहादुर पुन, रुकुमको शिक्षा क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । जिल्लाको जेठो बिद्यालयमा लामो समयसम्म प्रधानाध्यापक भएर काम गर्नुभएका उहाँ ६८ वर्षको उमेरसम्म पनि शिक्षा क्षेत्रमै हुनुहुन्छ । उहाँको शालिनता, लगनशिलता, व्यक्तित्व, छबि, योगदान हरकोहि रुकुमवासीले सिक्न र गर्व गर्न लायक छ । मूलपाटी डटकम न्यूज पोर्टलको बिशेष श्रृङखला हामीले उहाँसँगको भलाकुसारी प्रस्तुत गरेका छौ । – सम्पादक २०३८ सालमा भारतबाट ग्राजुएसन (बिकम) गरेर रुकुम फर्कदा एक/दुई महिनामै फेरि भारततिरै फर्कने योजना थियो, मिन बहादुर पुनको । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन गएको बेला उहाँलाई जागिरको अफर आयो ।
जिल्लाका प्रशासक, समाजसेवी, शिक्षाप्रेमी, राजनीतिज्ञ, बिद्यालय सञ्चालन लगायतका अगुवाले उहाँलाई जिल्लामै बसेर शिक्षण पेशा गर्न अनुरोध गरे । जिल्लामा तमाम् अगुवाले राखेको प्रस्ताव ‘नाई’ भन्न नसकेर मुसिकोट बहुमुखी क्याम्पसमा अङग्रेजी पढाउन सुरु गर्नुभयो । एक बर्ष अघि मात्र क्याम्पस सुरु गरिएको थियो ।
मूलपाटीको डेस्कमा कुराकानीका लागि आमन्त्रण गरिनुभएका रुकुमका अग्रज, बुद्धिजीवी मिनबहादुर पुनले त्यो बेला आईए पढ्नको लागि बिद्यार्थी जुटाउनु नै ठुलो सफलता भएको सुनाउनुभयो । “जम्मा १० जना बिद्यार्थी जुटे” पुनले भन्नुभयो, “क्याम्पस भन्दा टाढा जागिर भएका शिक्षक र कर्मचारीहरुलाई सदरमुकाम नजिक सरुवा मिलायौ, कतिपय अभिभावकसँग घरमा गएर तपाईको बच्चाको भविष्य राम्रो बनाउँछौ, उच्च शिक्षा हाँसिल गराउँछौ भन्ने लिखित कागज गरेर ल्यायौ ।”
कक्षा ३ सम्म सेरीगाउमा रहेको तत्कालिन यमुना प्राथमिक बिद्यालयमा अध्ययन गर्नुभएका पुन पढाईएको लागि भारत जानुभएको थियो । फेरि भारत फर्कने सोच बनाएका पुनले भन्नुभयो, “म अब जान्छु होला भन्दा बिद्यार्थीका अनुहार कालो हुन्थे, अनि पढाउन छोड्न सकिन ।”
कान्छा राजाले बनाएको शिक्षाको बलियो जग
रुकुममा शिक्षाको जग बलियो बनाउने श्रेय कान्छा राजा अर्थात गेहेन्द्र बहादुर शाहलाई दिनुहुन्छ मिनबहादुर पुनले । शाह त उहाँका शिक्षा क्षेत्रका आदर्श समेत हुनुहुन्छ ।
रुकुमलाई शिक्षाको सहि लयमा राख्ने श्रेय तत्कालिन चन्दादाता, जग्गादाता, समाजसेवी, राजनीतिज्ञ र शिक्षाविदहरुको नै हो । रुकुममा खोलिएका बिद्यालय र क्याम्पसमा जाजरकोट, सल्यान समेतबाट बिद्यार्थीहरु आउने गरेका थिए ।
घोकेर, रेटेर पढ्ने तरिका भएतापनि त्यो बेलाको पढाई नैतिकवान, अनुशासित थियो । त्यो बेला अन्तकतै चकटी पाईदैनथ्यो, कान्छा राजाकै घरबाट चकटी ल्याएर, ओछ्याएर र पढ्ने पढाउने काम हुन्थ्यो । त्यो अवस्थामा शासन व्यवस्था उहाँहरुकै थियो । त्यो बेला ठकुरी परिवारकै थिए, पढेलेखेका मान्छे । तर अरुलाई पढ्नबाट रोकेनन् ।
यतिसम्म कि अभिभावकहरुसँग बिद्यार्थीले पढेन भने म दण्ड तिर्छु भन्ने कागज गराएर बिद्यालय भर्ना गराईन्थ्यो । शिक्षाको ज्योती फैलाउन र गुणस्तरिय शिक्षा दिनमा कान्छा राजा लगायतका समाजसेविहरुको प्रतिबद्धता, व्यवस्थापन शैली पहिलो आधार हो ।
जिल्ला बाहिर र भारतबाट शिक्षकहरु ल्याउने, उच्च शिक्षा पढ्ने बिद्यार्थीहरु जम्मा गर्नेमा उहाँहरुको राम्रो भूमिका थियो । यतिसम्म कि कान्छा राजाले गाउँमा जाँदा किसानहरुलाई तिम्रो छोराछोरी स्कुल पठायौकि नाई भनेर सबैसँग सोधखोज गर्ने गरेको पुनले स्मरण गर्नुभयो ।
रुकुम शिक्षाको हव
शिक्षाको सवालमा हाम्रो जिल्ला ‘हव’ नै हो । पहिलो बिद्यालयको रुपमा २००९ सालमा खोलीएको त्रिभुवन बिद्यालय ११ सालमा अपर प्राईमरी, १६ सालमा निमावि र २०२१ सालमा मावि बन्यो । पुनका अनुसार २०२१ सालको एसएलसी परिक्षामा रुकुम पश्चिमबाट दुई जना बिद्यार्थी सहभागी हुनुभएको थियो ।
विवेक कुमार शाह र गोपालजि जंग शाहले रुकुममा पहिलो पटक एसएलसी दिनुभएको थियो । त्यो साल विवेक पास हुनुभयो भने गोपालजि जंगलाई ब्याक लाग्यो । उहाँले २०२२ मा पास गर्नुभयो ।
कान्छा राजा गेहेन्द्र, राणा खलकका भान्जा हुनुहुन्छ । उहाँले शिक्षाको लाईन सराकात्मक रुपमा बसाएका कारण जिल्लाले शिक्षा क्षेत्रमा फड्को मारेको हो । २०१६ सालमा मुसिकोटमा जनविकास पुस्तकालय खोलिएको थियो । छोरीहरुलाई पनि पढाउनुपर्छ भनेर बिद्यालयमा महिला सहभागितालाई प्राथमिकता दिईएको थियो ।
२०१८ सालमा बिद्यार्थीहरुले घरबारी भन्ने बार्षिक पत्रिका निकालेका थिए । त्यो बेला पत्रिका निकाल्नु चानचुने कुरा थिए । निगालोको कलमले नेपाली कागजमा लेखेर पत्रिका तयार पारिएको थियो । यति मात्र हैन, बि.स.ं १९९० सालमै मुसिकोटमा भााषा पाठशाला खोलिएको थियो । राजा रजौटाहरु भएका बिशेष ठाउँमा मात्र भाषा पाठशाला हुन्थे । त्यो बेला नेपालभर सात ठाउँमा मात्र भाषा पाठशाला थिए ।
मुसिकोटमा खोलिएको भाषा पाठशालामा रुकुमकोटका गुरु नन्दलाल शर्मा (तिलक गौतम, हाल शिक्षा समन्वय ईकाई रुकुम पूर्वका हजुरबुवा) लगायतले शिक्षा दिनुभएको याद मलाई अझै छ । त्यो बेलाको शिक्षा आदर्शवान बनाउने, नैतिकवान बनाउने, सामाजिक मूल्य मान्यताको आदर संस्कार, शिष्टता, नम्रता, चरित्रवान, बिनम्र बनाउने खालको हुन्थ्यो ।
२००७ सालपछि स्कुल खोल्ने लहर आयो । सुरुमा मुसिकोट पछि बाँफिकोट, रुकुमकोट, चौरजहारीमा बिद्यालय खुले । जिल्लामा शिक्षाको राम्रो विकास भयो । रुकुमको शिक्षाले सुरक्षा, कर्मचारी, शैक्षिक प्रशासन, पाईलट, समाजसेवामा उत्कृट पहिलो पिढी बनायो । त्यो जनशक्तिले पढाएको जनशक्ति थप सुधार भएर आयो । २०३७ सालको एसएलसीमा रुकुमकै मदन मल्ल दशौ स्थानमा आउनुभयो ।
राजनीतिमा रुकुम
रुकुम राजनीतिक रुपले पनि पहिल्यै फड्को मारिसकेको जिल्ला हो । राणा र पञ्चायतमा यहाँका व्यक्तिहरुको संलग्नता उच्च स्तरमा रहेको थियो । अहिले पनि छ ।
बहुदल आईसकेपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हेलिकप्टर मार्फत रुकुम आउनुभएको थियो । शिक्षाप्रेमी पुनले २०४८ सालको घटना स्मरण गर्नुभयो, “त्यो बेलाको भाषणमा उहाँले भन्नुएको थियो कि, म त्यस्तो जिल्लामा आए, जहाँको व्यक्ति म भन्दा पहिला काँग्रेसको महामन्त्री भईसक्नुभएको छ ।
उहाँले यो कुरा महेन्द्र बिक्रम शाहलाई लक्षित गर्नुभएको थियो ।” यस कुराले पनि रुकुममा राजनीतिक बृतमा पहिले देखिनै अगाडि रहेको छ ।
हाईस्कुल बेच्ने कुरा
मूलपाटीसँगको संवादमा पुनले अहिले मुसिकोट नगरपालिका १ मा रहेको जिल्लामै पहिलो बिद्यालय बेच्न निर्णय भैसकेको कुरा सुनाउनुभयो । कस्ले गरेको थियो यस्तो निर्णय ? उहाँले भन्नुभयो, : ‘तत्कालिन जिल्ला विकास समितिले ।’ यसमा जिल्ला विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, तत्कालिन सात राजनीतिक दलहरु समावेश थिए ।
एक करोड ७४ लाखमा बिद्यालय रहेको स्थान बेच्ने निर्णय भैसकेको रहेछ । त्यो बेला म बिद्यालयकै काममा सुर्खेत गएको थिए । अहिलेको हाईस्कुलको सबै क्षेत्र जिल्ला विकासले किन्ने र उपयुक्त स्थानमा बिद्यालय सार्ने भनेर काम सुरु भईसकेको रहेछ । मैले मानिन ।
यो कुुुरा २०५९ तिरको हो । यस बेला मलाई तार्गेट गरिएको थियो । तर, बिद्यालय क्षेत्र बेच्ने कुरामा मैले कत्तिपनि समर्थन राखिन । पछि यो निर्णय त्यसै हरायो ।
हाईस्कुलको माया
पढाएकाहरु र पुराना इतिहासकारहरुसँग निकटम सम्बन्ध रहिरह्यो । “यो स्कुल राम्रो हो, हाईस्कुल हाम्रो हो” भन्ने भावना जागृत भयो । अझैसम्म छ । हाईस्कुलको जग शैक्षिक इतिहासमा बलियो, जनमानसमा भिजेको छ । राष्ट्रियस्तरमा छबि राखेको छ ।
हाइस्कुलले क्याम्पस जन्मायो, शिक्षा क्षेत्र झनझन् उर्वरा बन्दै गयो । जनमत संग्रहपछि सुधारिएको पञ्चायले स्थानीय स्तरमा क्याम्पस खुल्ने वातावरण बनायो ।
के पाँए, के गुमाएँ ?
मैले अगुवा तथा पुरानाबाट धेरै कुरा सिके । गुरुहरुले आदर्श सिकाउनुभयो । व्यक्तिगत रुपमा फाईदा भनेको चुरोट, बिडि, जाँडरक्सि खाईन । योग्यता हाँसिल गर्न पर्छ भन्ने आदर्शवान शिक्षक पाए । असल गुरुहरुको साथले यहाँसम्म आए । गुरुहरुकै बाटो अनुकरण गरे । २०४२ सालमै लिटरेचर इङ्गिलसमा ग्राजुयशन, मास्टर डिग्री गरे ।
मैले आफैले मात्र केहि गरिन । सबैलाई जिम्मेवारी दिए । योजना बनाए, टिममा काम गरे । यसरी काम गर्न सकिन्छ भनेर सुझाव दिए । सबैको विश्वास जिते ।
अहिलेपनि बिद्यालयको बारेमा सर यो के भएको हो भनेर सोध्छन् । एसएलसी पास भएपछि सर अब के पढ्ने ? के पढाउँने भनेर सल्लाह लिने अभिभावक र माया गर्ने बिद्यार्थीअरुको जमात छ । जे जति सके, शिक्षा क्षेत्रको लागि गरेको छु । सबैको जनमानसमा भिजेछु ।
मलाई अहिले उच्च स्थानमा पुगेका भाईबहिनीहरुले सरले मलाई यहाँनेर यस्तो सिकाउनु भयो, यस्तो पढाउनु भएको हो भने आदर गरेको देख्दा आफैप्रति गर्व लाग्छ । मेरो खुशिको एउटा आधार यहि हो ।
म शिक्षण सेवामा लागेर असन्तुष्टि भएन । बिद्यार्थी र अभिावकको प्रिय भए । विभिन्न क्षेत्रमा सम्मानित भए, बिभुषित भए । तत्कालित शिक्षा मन्त्रालयबाट २०५५ र २०६४ सालमा सेवा पदकबाट बिभुषित भएको हु ।
शिक्षा समितिहरुबाट विभिन्न प्रशंसापत्र पाएको छु । २०५५ सालमा उच्च माध्याकि शिक्षा परिषदको पाँच वर्षको लागि सभाषद भएर काम गरेको छु । त्यो बेला शिक्षा मन्त्रीको अध्यक्षमा हुने परिषदमा पाँच विकास क्षेत्रबाट एक एक जना प्रधाध्यापक सभाषद मनोनित हुन्थे ।
म मध्यपश्चिम विकास क्षेत्रबाट यसमा परेको हु । यो शिक्षाको निति बनाउने राष्ट्रिय बोर्ड हो । मैले सबैतिरबाट उच्च सम्मान पाए, कोहि कसैबाट गलत भईन । सबै पार्टीको सम्मान गरे । कोई पार्टीको सदस्याता बोकिन ।
म शिक्षक हुने भनेरै पढेको थिए, त्यसैले सफल भए भन्ने लाग्छ । कमजोर बिद्यार्थीहरु, जनशक्ति नभएको ठाउँ, आफ्नो जन्म ठाउँमा सबैको माझमा प्रिय भएर सेवा गर्न पाउँनु मेरो भाग्य हो जस्तो लाग्छ ।
मलाई समाजका अगुवाहरुले राम्रै लाईन लगाउनुभयो । म अहिलेसम्म पूर्ण रुपमा यो कामप्रति सन्तुष्ट छु । त्रिभुवन जनता माविमा २०५० सालदेखि २०७२ साल सम्म रहे । म प्रिन्सिपल हुँदासम्म बिद्यालयका अगुवा, संस्थापक, अभिभावक सबैलाई बिद्यालयका बिशेष कार्यक्रमहरुमा बोलाउंथे, सम्झिन्थे । २०७२ सालमा मावि प्रथम श्रेणीको शिक्षकबाट रिटायर्ड भए । अहिलेपनि शिक्षा क्षेत्रमै जोडिएको छु ।
बिद्यालय सेनालाई बुझाउने त्यो बेला ....
देशमा माओवादी द्वन्द्व चर्केको बेला हाम्रो बिद्यालयमा लामो समयसम्म सेनाका बंकर थिए । बिद्यालयको चारैतिर तारबार र बिद्यालय भित्र बंकर थिए । बिहान ६ बजेदेखि चार बजेसम्म हामीले प्रयोग गथ्र्यौ, त्यसपछि बिद्यालय सेनालाई बुझाउनुपथ्र्यो ।
बिद्यार्थीहरु बिद्यालय हाताभित्र आउने बेला सेर्नाका बंगर हुन्थे, तर स्कुल समयमा सेना कतैपनि देखिदैनथ्यो । गेटमा बिद्यार्थीको परिचयपत्र हेरेपछि भित्र पठाईन्थ्यो । भित्र सेना कतैपनि देखिदैनथे । ४ बजे हामी अफिसमा ताला लगाउँथ्यो । अरु सबै कोठा खुल्लै हुन्थे । आर्मीले आफ्नो प्रयोगमा लिन्थ्यो । बिहान आर्मीले खाली गरेको हुन्थ्यो ।
माओवादीले हामीलाई सुराकी नभनोस्, आर्मीले हामीलाई माओवादीसँग मिलेको आरोप नलगाओस् भनेर तटस्थ बस्यौ । तर मान्छेले अनेक कुरा लाएर तनाव नदिएको भने होईन ।
माओवादीले पत्र पठाएर बोलाउथे । तर म खलंगा बाहिर गइन । किनभने म गएको खबर आर्मीलाई पुग्थ्यो । त्यसले राम्रो हुँदैनथ्यो । बरु कुनै न कुनै रुपमा माओवादीलाई सहयोग गरेका हौं । त्यसबेला आर्मीको उच्च अनुशासन पनि नजिकबाट हेर्न पाएका थियौं ।
पछिल्लो शिक्षा प्रणाली
पछिल्लो समय शैक्षिक क्षेत्र केहि व्यक्तिले स्वार्थ सिद्धिको लागि प्रयोग गर्ने थलो बनाउन थाले । आस्था विचार त सबैका हुन्छन् । तर, आस्थाको खोल बनाएर बदमासी गर्ने विभिन्न तहका व्यक्तिहरुको शिक्षामा प्रवेश भयो । समिति, शिक्षक, बिद्यार्थी सबैमा त्यस्ताको प्रवेशले सबैले भनिमाग्ने अवस्था आयो ।
राजनीतिमा एकले अर्कालाई निशेध गर्न थाले । यस्तो कार्यका लागि बिद्यार्थी, शिक्षक, विव्यस, अभिभावक प्रयोग गर्न थाले, शैक्षिक वातावरणमा प्रभाव पर्याे र पहिलेको भन्दा अहिले गुणस्तरमा प्रश्न उब्जियो ।
हामीले शिक्षा क्षेत्र राम्रो बनाम भन्ने कुरा मनन गर्न जरुरी छ । शिक्षा परिश्रमको बलमा भन्दा पनि कृपाको बलमा पाउने भन्न थाले । यसैले वातावरण बिगारेको हो । पेशागत अधिकारले पढाई बिगारेको त हैन, तर शैक्षिक स्थायीत्वमा जगजगी ल्यायो । अस्थायी नियुक्तिले गर्दा पनि समस्या निम्त्याएकाे मेरा बुझाई छ ।
परिक्षा प्रणाली फितलो भयो । राम्रोका लागि दुख गर्ने कमै भए । यस्तो अवस्थामा जनशक्ति सक्षम र दक्ष भएन । सर्टिफिकेट भने हात हातमा हुने भए । बिद्यार्थीको दोष त छैन, तर सरोकारवालाहरु डेडिकेटेड हुनुपर्छ । व्यक्तिलाई भन्दा ठाउँ राम्रो बनाउनेलाई पुरस्कृत गर्ने नीति ल्याउन पर्छ ।
यहाँत महंगो र सस्तो शिक्षाले फरक देखायो । धनाढ्य वर्गले पढ्ने शिक्षालयमा शान्ती छ, तल्लो वर्गले पढ्नेमा अशान्ति भयो । यसैले अस्थिता ल्याएको हो । शिक्षामा व्यवहारिक र नैतिक कुरा कम भएका छन् । प्राविधिक शिक्षालाई मावि स्तरमा राख्नपर्छ । बेश तलैबाट बन्दै आउँछ र उच्च तहमा दक्ष जनशक्ति बनाउँछ ।
असल शिक्षक, व्यवस्थापक
हरेक व्यक्तिमा सकारात्मक सोच जरुरी छ । आफूलाई प्रोफेसनल बनाउनै पर्छ । समयको सहि प्रयोग, नियमितता, सामाजिक सेवा भाव, समाजको आदरसम्मान सबले गर्न जरुरी छ । उच्च अनुशासन, कानूनको सम्मान हरकोहिले गर्नैपर्छ ।
कहिल्यै पनि आफ्नो निर्णय लाद्नु हुदैन । नेटवर्क बनाएरमा काम गर्ने वातावरण बनाउनुपर्छ । यहाँ हर व्यक्तिको आत्मसम्मानको ख्याल गरिनुपर्छ ।
– (मिन बहादुर पुनसँगकाे कुराकानीमा आधारित)