Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १० का किसानलाई ४ हजार ८ सय किलो लसुनको बीउ वितरण

बुधबार, कात्तिक १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० का किसानहरुलाई लसुनको बीउ वितरण गरिएको हो । १० नम्वर वडा कार्यालयको समन्वयमा कृषि विकास कार्यालय रुकुम पश्चिमले किसानलाई लसुनको बीउ उपलब्ध गराएको हो । 

कार्यालयको ‘मसला विकास ब्लक कार्यक्रम’ अन्तर्गत वडाका २४७ घरधुरी किसानलाई बीउ वितरण गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो । यस वडामा चार हजार आठ सय किलोग्राम लसुनको बीउ वितरण गरिएको हो ।

उक्त बीउ किसानलाई अनुदानमा उपलब्ध गराईएको हो । यस कार्यले चक्लाबन्दी खेती प्रणाली मार्फत लसुन बालीको क्षेत्र बिस्तार गरेर किसानहरुलाई व्यवसायिक बनाउने उद्धेश्य राखिएको निमित्त प्रमुख केसीेले उल्लेख गर्नुभयो ।

कृषि कार्यालयको दश लाख र किसानहरुको दश लाख गरेर जम्मा २० लाख रुपियाँको बजेटबाट यस वडामा मसला विकास ब्लक कार्यक्रम सञ्चालन भएको छ । 

मुसिकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’का अनुसार कृषिलाई व्यवसायिक बनाउने प्रयास अन्तर्गत वडामा लसुनको बीउको व्यवस्था गरिएको हो । यस कार्यले वडाका २४७ घरधुरी किसान व्यवसायिक लसुन खेतीमा जोडिने वडा अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

बस्तीस्तरको आर्थिक विकासका लागि कृषि विकासलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिईएको वडा कार्यालयले जनाएको छ । किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका कृषि उपजहरु बजारीकरणको लागि वडाले विभिन्न निकायहरुसँग निरन्तर समन्वय गर्दै आईरहेको छ ।

वडा कार्यालयको सहजिकरणमा गत वर्ष मात्रै यस वडाबाट ३५० क्विन्टल लसुन जिल्ला बाहिर निर्यात भएको थियो । यसबाट यहाँका किसानहरुले ३५ लाख रुपियाँ आम्दानी गरेका थिए । 

कृषि उत्पादनबाट वडाका किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिने भएकोले व्यवसायिक कृषि र पशुपालनमा जोड दिईएको वडा अध्यक्ष खड्काले जनाउनुभयो । वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला लगायतका टोलमा लसुनको उत्पादन राम्रो हुने गरेको छ । 

मुसिकोट नगरपालिकाले यस वडालाई यसै आर्थिक वर्ष देखि ‘लसुन ब्लक क्षेत्र’ समेत घोषणा गरेको छ । वडाले गाउँको पहिचानका लागि गत वर्ष लसुन खेती बढीमात्रामा हुने टोलको बिचमा लसुनको स्तम्भ सहितको पार्क समेत निर्माण गरेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्