दशै तिहारको बिचमा चौरजहारीमा पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना

सार्वजनिक ठाउँमा शौचालय र खानेपानीको व्यवस्था गर्ने महोत्सवको मुख्य उद्धेश्य
शुक्रबार, कात्तिक ३, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा “तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” हुने भएको छ । 

आगामी कात्तिक १३ गतेदेखि २५ गतेसम्म शहिद स्मृति कला, साँस्कृतिक संरक्षण केन्द्रले चौरजहारी नगरपालिका –२ मा महोत्सव गर्न लागेको हो । 
“पर्यटन, कृषि, व्यापारमा हाम्रो योगदान : कला र सँस्कृति चौरवहारीवासीको पहिचान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गर्न लागेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एलबी कटुवालले जानकारी दिनुभयो । 

महोत्सव बारेमा जानकारी दिन आज शुक्रबार चौरजहारीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक कटुवालले पर्यटन, व्यापार र सँस्कृति प्रर्वद्धनका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

महोत्सवबाट बचत भएको रकमले चौरजहारीको मुख्य बजारका सार्वजनिक स्थानमा शौचालय निर्माण र खानेपानीको व्यवस्था गरिने उद्धेश्य राखिएको उहाँले जानकारी दिनुभयो । नयाँ शहरका रुपमा विकसित भईरहेको चौरजहारी बजारमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्था नहुँदा आम सर्वसाधारणले मार खेप्नुपरेको उल्लेख गर्नुहुँदै संयोजक कटुवालले महोत्सव सफल बनाएर त्यो समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महोत्सवमा चौरजहारी नगरपालिकाका भित्रका १४ वटै वडाका धार्मिक तथा पर्यटकिय स्थानहरुको पहिचान र परिचयसहितको फोटो प्रदर्शनी गरिने बताईएको छ । यसका साथै प्रदर्शनीमा कृषि उत्पादन, साँस्कृतिक पहिचान, व्यापार लगायतका क्षेत्रका फोटोहरु राखिने आयोजकको भनाई छ । 

महोत्सवमा मनोरञ्जन तथा साँस्कृतिक प्रस्तुतीका लागि आमन्त्रण गरिएका कलाकार चर्चित र हालसम्म जिल्लामा नआएकाहरुलाई प्राथमिकता दिईएको संयोजक कटुवालले जनाउनुभयो । उहाँका अनुसार महोत्सवमा चर्चित गायक शिव परियार, अन्जु पन्त, प्रकाश सपुत, पशुपति शर्मा, खेम सेन्चुरी, सुप्रिम मल्ल, राजु परियार, बलाराम विश्वकर्मा, चन्द्र शर्मा, तिलक परियार, पिएन साईला, मोहित श्रेष्ठ लगायतका कलाकार आउने पक्का गरिएको छ । 

त्यसैगरी नायक प्रदिप खड्का, खलनायक सुनिल थापा, मोडेल तथा डान्सर अञ्जली अधिकारी, हास्यकलाकार सुबोध गौतम र खबपु चञ्चलको प्रस्तुती महोत्सवमा राखिने आयोजकको तयारी छ । यसका साथै गृह जिल्ला घरभई राष्ट्रियस्तरमा चर्चित अन्य कलाकारहरुको प्रस्तुती पनि महोत्सवमा राखिने जनाईएको छ भने महोत्सवमा ईन्द्रेणी समुहको प्रस्तुती समेत रहने छ । 

394021977_285171311084268_4149582152108892595_n1697797515.jpg

महोत्सवको प्रचार प्रसार र सफलताको लागि आयोजकले विभिन्न निकायहरुसँग सहकार्य गरिरहेको महोत्सव व्यवस्थापक रेशम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दशै तिहारको बेला र सल्यान, रुकुम पश्चिम र जाजरकोटको संगमस्थलमा महोत्सव आयोजना गरिएकोले दर्शकहरुको उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । महोत्सवको हरेक दिन स्थानीय झाँकिहरु, सिँगारु, पैसेरु, मयुर नाचको प्रस्तुतीहरु राखिनेछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्