नुवाकोट डाँडामा दोस्रो द राइजिङ कप हुँदै

आइतबार, कात्तिक ५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोट डाँडामा पाँचपूर्णिमाको अवसर पारेर दोस्रो द राइजिङ कप, २०८० सञ्चालन हुने भएको  छ ।
त्रिवेणी गाउँपालिका ९ स्थित द राइजिङ युवा क्लव त्रिवेणीको व्यवस्थापनमा कप सञ्चालन हुन लागेको हो । यस वर्ष पुरुष भलिबल, एकल नृत्य र लोकदोहोरी कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दिपक कुमार रावलले जानकारी दिनुभएको छ ।

कार्तिक ८ गते देखि ११ गतेसम्म पाँच पूर्णिमा मेलाको अवसरमा बृहत् खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । 

अध्यक्ष रावलका अनुसार पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक हजार पाँच रुपियाँ राखिएको छ भने द्वितीय पुरस्कार ५१ हजार पाँच र तृतीय स्थानको लागि ३१ हजार पाँच रुपियाँ नगद पुरस्कार राखिएको छ ।

पुरुष भलिबल खेलको लागि दर्ता शुल्क नौ हजार ९९९ राखिएको छ । बिजेता खेलाडीहरुलाई कप मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जनाइएको छ ।

त्यसैगरी एकल नृत्य प्रतियोगिताको प्रथम पुरस्कार चार हजार पाँच रुपियाँ, द्वितीय पुरस्कार दुई हजार ५०५ र तृतीय पुरस्कार एक हजार ५०५ पुरस्कार राखिएको आयोजकको भनाई छ। एकल नृत्य प्रतियोगिताको दर्ता शुल्क भने चार सय राखिएको छ । 

आयोजकका अनुसार लोकदोहोरीमा पाँच हजार पाँच रुपियाँ प्रथम, तीन हजार पाँच रुपियाँ द्वितीय र दुई हजार पाँच रुपियाँ तृतीय पुरस्कार राखिएको छ । लोकदोहोरी प्रतियोगितामा सहभागिताको लागि पाँच सय रुपियाँ दर्ता शुल्क राखिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्