Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

श्रम र उत्पादनमा जोडिएर आत्मनिर्भर बन्नुपर्छ : मन्त्री शर्मा

आज भयो रुकुम–काठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलन
२०७८ असोज १३, बुधबार
tribeni2

काठमाडौ । अर्थ मन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताउनुभएको छ ।

आज बुधवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौँ युवाहरूलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

श्रम शक्तिलाई तालिम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिनुहुँदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘यो कार्यक्रम लागू गर्नका लागि युवाहरूले टोल टोलमा नेतृत्व गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘समाजवाद निर्माणको नेतृत्व तपाईँहरूले गर्ने हो, हामीले त्यसमा सहयोग गर्ने हो ।’ सरकारले पहिलो पटक गरिबलाई सम्झेर पाँच लाख विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिने, दीर्घ रोगीहरूलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्त्वका कार्यक्रमहरू ल्याएको उहाँले जानकारी दिनुभयो ।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर काम नगर्ने प्रतिबद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गर्दै मन्त्री शर्माले कहीँ कतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी, पूर्व प्रदेश मन्त्री विमला केसी, माओवादी नेता डिलाराम आचार्यलगायतले वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ल्याएको कार्यक्रमहरूले नागरिकमा नयाँ आशा जगाएको, शहीद परिवार, दीर्घरोगी तथा विपन्नहरूले देशमा सरकार छ भन्ने कुराको महसुस गर्न पाएको बताए । साथै उनीहरूले प्रगतिशील कर प्रणालीमार्फत हुनेखानेहरूबाट अलिकति लिएर हुँदा खानेहरूलाई दिने नीति ल्याउन सुझाव दिए ।

आज सम्पन्न रुकुम–काठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलनले तिलक परियार संयोजक र यकराज केसी सह संयोजक रहेको १७ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्