सहिद स्मृति मेला उद्घाटनका भोली प्रधानमन्त्री रुकुम पश्चिममा आउँनुहुँदै

पार्टीको वडा समितिको बैठकमा सहभागी हुनुहुुने, सहिद परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूसँग भेटघाट गर्नुहुने
बुधबार, कात्तिक ८, २०८०

रुकुम पश्चिम । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली बिहिबार रुकुम पश्चिम आउँनुहुने भएको छ । 

जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम आउनुहुने भएको हो । मेला आयोजक समितिका अध्यक्ष हरि बहादुर खत्रीका अनुसार सहिदहरुको सम्झनामा लाग्दै आईरहेको मेला उद्घाटनका लागि प्रधानमन्त्री आउने पक्का भएको हो । उक्त मेला २०५७ सालदेखि लाग्दै आएको छ । 

मेला बिहिबार दिउँसो १ बजे उद्घाटन हुने अध्यक्ष खत्रीले बताउनुभयो ।  मेलाको अवसरमा खुल्ला स्वच्छ वडा स्तरिय महिला र पुरुष भलिबल प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ ।

यसका साथै स्थानीय झाँकि, मयुर नाच, सिंगारु नाच प्रदर्शनीका साथै स्थानीय कलाकारहरुको समेत मेलामा प्रस्तुती रहने मेला आयोजक समितिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

पार्टीको रुपान्तरण अभियानमा सहभागी हुनुहुने

मेलाको उद्घाटनसँगै उहाँ नेकपा (माओवादी केन्द्र) को तीन महिने बिशेष रूपान्तरण अभियानको कार्यक्रमका लागि समेत रुकुमपश्चिम आउन लाग्नुभएको बताईएको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ का अनुसार रुपान्तरण अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको थियो । सोहि कार्यक्रम अन्तर्गत पार्टी अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा आउन लाग्नुभएको हो । 

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड बाँफिकोट गाउँपालिका वडा नम्वर ६ र ७ को संयुक्त वडा समिति बैठकमा सहभागी हुनुहुने संयोजक रोकाले जनाउनुभयो । बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको बताईएकाे छ ।

सोहि अवसरमा उहाँले सहिद परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूसँग भेटघाट गर्नुहुनेछ । बिहिबार बिहान हेलिकप्टर मार्फत प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम आईपुग्ने र भोलि नै फर्किने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्