तीनै तहका सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा

बिहीबार, कात्तिक ९, २०८०

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ ।

उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति गर्न पाउँने उल्लेख गर्नुभयो । बिहिबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ६ को मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका बिशेष अतिथी समेत रहनुभएका शर्माले समृद्ध कर्णाली र समृद्ध देशका लागि ऐक्यबद्धता भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले बार्षिक दश हजार बेराजगारलाई रोजगारी दिने योजना बनाएको र यसको कार्यान्वयनका लागि कार्यबिधि तयार गर्दै गरेको जानकारी दिनुभयो । कर्णालीको गरिवि हटाउन संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

स्थानीय सरकारले पनि रोजगारका विभिन्न कार्यक्रम ल्याउन आग्रह गर्नुहुँदै उहाँले कर्णाली सरकारको योजनामा हातेमालो गर्न आग्रह गर्नुभयो । 

कर्णाली प्रदेशमा सस्कारयुक्त शिक्षाको आवश्यकता रहेको औल्याउनुहुँदै मुख्यमन्त्री शर्माले यहाँका प्रत्येक गाउँ शिक्षण सिकाई केन्द्र रुपमा स्थापनाको योजना रहेको सुनाउनुभयो । प्रदेशका सवै जिल्लाबाट विद्यालयहरु छनौट गरेर शिक्षण सिकाई केन्द्र स्थापना गर्ने  र त्यसका लागि सुर्खेतबाट शिक्षण सिकाई केन्द्र स्थापनाको काम भएको उहाँले बताउनुभयो ।

उहाँले कर्णालीमा भौगोलिक कलष्टर विभाजन गरेर व्यवसायिक कृषि कर्म सञ्चालन गरेर जनताको आर्थिक अवस्था उकास्न सकिने जनाउनुभयो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्